top of page

फेसबुक लगायत सोसल मिडिया चलाउने २२ काईदा के के हुन्? 22 Golden Rules of Social Media Post

Writer's picture: Nepalism.comNepalism.com


22 Golden Rules of Social Media Post

-प्रदीप परियार थापा मगर

फेसबुक लगायत सामाजिक सन्जाल (सोसल मिडिया) मा आफ्नो या अरुको फोटो, बिचार, रचना, समाचार प्रकाशन, शेयर र ट्याग गर्दा साथै अपरिचित व्यक्तिसंग मित्रता कायम गर्दा पुर्याउनु पर्ने सावधानीबारे ‘गोल्डन रुल अफ सोसल मेडिया पोष्ट’ को २२ काईदा (टिप्स) हरू यहाँ प्रस्तुत गरिएकोछ।

१. स्टाटस/प्रोफाईल


तपाईको स्टाटस पोस्ट तपाईको असली व्यक्तित्व र सिद्दान्त झल्किने साधन बनाउनुहोस् । फेसबुकलगायत समाजिक सन्जाल वेब्साईटहरुमा खोलिएको तपाईको प्रोफाईल एकाउण्ट तपाईको डिजिटल भर्चुवल घर हो जहाँ तपाईले आफ्नो अनलाईन प्रोफाईल घर र व्यक्तित्व निर्माण गर्नु हुन्छ ।तपाईको दिन चर्या बिहानदेखि बेलुकीसम्म र मध्यरात पछि निद्रा नलागेर छटपटी हुँदासम्मको दिनको १०/२० वटा स्टाटस पोस्ट नगर्नुहोस् । तपाईका यि स्टाटस पोस्ट बाहेक पनि एक निजि जिन्दगी नि छनि हौ ।


२. फरक एकाउण्ट


श्रीमान-श्रीमती दम्पतिले फेसबुक र अन्य सोसल मिडिया एकाउण्ट, ईमेल, बैंक एकाउण्ट, फोन नम्बर अलग-अलग बनाउनुहोस्। किन कि तपाईको आआफ्नो व्यक्तित्व हुनुकासाथै आआफ्नै नातागोता, साथीसंगी हुन्छन् र तपाईसंग अलग्गै सम्पर्क गर्न चाहन्छन्। कानूनी र अन्य वैधानिक प्रयोजनमा पनि ईमेल, फोन र बैंक खाताहरू अलग अलग हुनु जरूरी हुन्छ। एउटै एकाउण्ट भए मात्र जोई-पोईको विश्वास र मया भएको कसैले कुतर्क गर्छ भने त्यो बद्ख्वाई र झन अविश्वासी मनुवा नियत हो।

३. प्लेजराईज (रचना चोरी)


अर्काको घतलाग्दा भनाई, उक्ति, लेखरचना, समाचार, फोटो, गीतसंगीत, भिडियो पोस्ट गर्नु हुन्छ भने मुख्यत: ‘शेयर’ गर्नुहोस् या कपी गरेर आफ्नो पेज या वालमा पोष्ट गर्दा कपिईड भन्नुहुन्छ भने जसको पोष्टबाट लिईएको हो उक्त व्यक्ति/संस्थाको नाम, श्रोत प्रष्ट उल्लेख गरेर या पूर्व स्वीकृति लिएर मात्र पोस्ट गर्नुहोस् नत्र प्लेजराईज (रचना चोरी) को मुद्दा खेप्नु पर्ला या सन्जालमै चोरीको बेईजेत होला । सोच्नुस्, तपाईले खिचेको सुन्दर फूलको तस्वीर अर्कोले आफूले खिचेको भनेर पोस्ट गर्यो भने या तपाईले रचना गरेको मर्मस्पर्सी मुक्तक कसैले तपाइको नामै उल्लेख नगरी उसको वालमा पोस्ट गरेको पाउनु भयो भने तपाइले कस्तो महशुस गर्नुहुन्छ ?

४. चोरको दशैं


कुनै रोमान्चक यात्रा या समारोहमा घरबाट निस्कन लाग्नु भएको छ भने "अब घुमघाममा सपरिवार निस्कनु आँटको भन्दै" आफ्नो स्टाटसमा लेख्नु अघि ख्याल गर्नुहोस्। विशेष गरी, चोरीचकारी हुने ठाउँमा बस्नु हुन्छ र अझ घरमा ताल्चै मारेर २/४ दिन या २/४ हप्ताको लागि सपरिवार यात्रामा निस्कनु लाग्नु भएको छ भने स्टाटस पोस्ट नगरेकै बेश । चोरको दशैं हुन नदिनुहोस्। तपाईको प्रोफाईल पब्लिक हो भने जो कोहीले पनि हेर्न सक्छ । कि प्रोफाईल आफ्नो साथीहरुले मात्र सर्च र हेर्न मिल्ने बनाउनुहोस् । कि घरमा लाईभ सर्फिलेन्स क्यामेरा राख्नुहोस्, परिवारका कोही सदस्य या नातेदारलाई घर रेखदेख गर्ने व्यवस्था गर्नुहोस्।

५. ह्यापी बर्थ डे


फेसबुकमा बनेका सबै साथीहरु जीवनमा पहिले देखिनै चिनेका मित्र, आफन्तजन मात्र हुन्छन् भन्ने छैन, आफूले मन पर्ने लेखक, कलाकार, नेता, पत्रकार, व्यावसायी या साथीका पनि साथी पनि फेसबुके मित्र हुन सक्छन् । सकेसम्म ति सबैलाई बर्ड डे (जन्म दिन) को शुभकामना उनीहरुको स्टटस पोस्टमा व्यक्त गर्न कन्जुस्याई नगर्नुहोस् । कि साथीनै नबन्नुहोस् बरु । नजिकबाट चिने जानेको मित्रलाई भेटेर, संगै जन्म दिवस भोज खाएर, फोन या मेसेजमा शुभकामना दिए पनि उसको वालमा पनि बर्थ डे विस गरेर हार्दिकता देखाउनुहोस् । 'ह्यापी बर्थ डे' लाई लेख्दा संक्षेपिकरण गरी एचबिडी (HBD) प्रयोग गर्नु भनेको झारा टार्नु हो, सौहार्दता हैन।

६. गुड ओल्ड फ्यासन रुल


आफ्नो परिवार या आफन्तमा सुखद या अत्यन्त दु:खद घटना घटेको छ भने पहिले परिवार र आफन्तजनलाई गुड ओल्ड फ्यासन (पुरानै आत्मीय माध्यम) बाट पहिले सम्पर्क गरेर भावना आदान-प्रदान र खबर गर्नुहोस् न कि फेसबुक या सोसल मिडिया पोस्टबाट तपाईको प्रियजनको सुखद या दु:खद खबर आफ्नै आमाबाबा, दाजूभाई, दिदिबहिनी या ईस्टमित्रले थाहा पाउनु परोस् ।

७. रिप या लाईक


कसैको निधन भएको छ या कुनै दु:खद घटना घटेको छ भने भुलेर पनि लाईक (Like) नठोक्नुस्।केयर (🥰) या दु:खी (😭) भएको चिन्ह प्रयोग गर्नुहोस्। कसैको मृत्यूको खबरको फोटो सहितको पोस्टमा समेत मजाले लाईक हान्ने हामी मध्ये धेरैनै छौं । 'लाईक'' को मतलब त मन पराएको हो नि ।हैट, मरेर ठीक गरेउ, स्यावास भन्नु त भएनी लौ । शोक व्यक्त गर्दा 'रेस्ट ईन पिस' लाई संक्षेपिकरण गरेर "रिप" (RIP) भरसक नभन्नुहोस्। यो पनि झारा टराईनै हो असली समवेदना र सान्त्वना हैन।त्यसैलाई पुरा शब्दमा या सान्त्वनाका आफ्ना निजी भावनाहरु व्यक्त गर्नुहोस् ताकी जसलाई त्यो बिपद परेको छ उसले तपाईका औपचारिकता र झारा टार्ने लोकेचारका "रिप" (RIP) शब्दभन्दा प्रेरणा र सान्त्वनाका दुई शब्दहरु पढेर सान्त्वना, कम्फर्ट फिल गर्नु सकोस् ।

८. राम्रो फोटो (मर्नु अघिको)


आफन्त, साथीभाईको निधन भयो भने उनीहरूको बेष्ट टाईमको राम्रो फोटो खोजेर पोष्ट गर्नुहोस् नकि रोगी, दुब्लाएर झण्डै भूत बनेर मर्न लाग्दाको हृदयविदारक तस्विर। सम्सानघाटमा मृतकलाई जलाउँदै गरेको फोटो सकभर नछापौं। मृत्यूसैयाको फोटो सोही मृतकले पनि हेर्ने सामर्थ्य राख्दैन।बरू मृत्यू पछि उसको सुन्दर फोटोहरू खोजी खोजी, उसको गुणकारी व्यक्तित्वको चर्चा सम्झी सम्झी गरौं, उसको सुन्दर अनुहार, व्यक्तित्व सम्झेर दंग र वाह परौं अनि गर्व गर्न सकौं र हामी पनि प्रेरणा लिउँ।

९. गाली बेईजति र चरित्रहत्या


तपाईको स्टाटसमा कसैलाई बिनाप्रमाण गाली बेईजति र चरित्रहत्या नगर्नुहोस् । आफ्नो फगत रिस र डाह आफ्नो स्टाटसमा नपोख्नुहोस् । तपाई अब मिजासिलोबाट सन्क्याहामा गनिन सेक्ण्ड लाग्दैन। कसैको अनैतिकतापूर्ण व्यावहार र कालाकर्तुतको प्रमाणहरू छन् भने सप्रमाण उल्लेख गर्नुहोस्, कानूनी उपचार खोज्नुहोस्। यस्तो अवस्थामा डटेर गाली बेईजतिको मुद्दा खेप्न तयार हुनुहोस् । हैन भने आफ्नो डिजिटल फुटप्रिन्ट (अनलाईन प्रमाण) अर्काको मानमर्दनमा फगत खर्च गरेर निर्दोषको हुर्मत नलिनुहोस् र आफू कानूनी झमेलामा नफँस्नुहोस् ।

१०. बालबच्चाको तस्वीर


अरुको बालबच्चाको तस्वीरहरु पोस्ट गर्दा सकभर आमाबाबुबाट अनुमती लिनुहोस् । आफ्ना साना छोराछोरीहरुको तस्वीरहरु पनि जस्तोसुकै, जातिबिधी पोस्ट नगर्नुहोस् । पेडोफाईल (बाल यौनपिपासु) या चाईल्ड पोर्नोग्राफी हेर्ने व्यक्तिले दुरुपयोग गर्न सक्छ । यस्ता फोटो, भिडियोहरु पोस्ट गर्दा साथीहरुले मात्र हेर्न मिल्ने बनाउन सक्नुहुन्छ ।

११. स्वविज्ञापन


अमेरिकामा नयाँ गाड़ी किन्नु भो भने सोसल मिडियामा विज्ञापन नगर्नुहोस्। नेपालाँ भए पजेरो किन्न करोडौं नै आफ्नो कमाई या घुस) को नगदनै तिर्नु पर्छ र पो शो-अफ गर्दा भो, ह्याँ, आ-मरिखामा त मिनिमम या जिरो डाउन पेमेन्टमा लिजमा लिएको कारलाई बढाईचढाई गरी आफ्नो यतिका वर्षसम्म जतन गरी कमा'को गर्विलो व्यक्तित्वसंगै पोष्ट नगर्नुहोस्। नेपालाँ भा'का जोरीपारीलाई सेखी झार्न गर्नु भा'को हो भने चैं एक पटकलाई आफैले आफैलाई माफी दिनुस्।🙈🙊😜


केही ढोंगीहरूले एकाबिहानै गुगल सर्च गरी खाउँ खाउँ लाग्ने फोटो पोष्ट गरेर ब्रेकफास्ट खाएको पोष्ट गर्ने गरेको पनि देखियो। बरू भोकै मर्नुस् तर यस्तो झुट्टा जिन्नकी नजिउनुस्।

१२. भाईरस/स्पाम


होशियार हुनुहोस्, भाईरस संक्रमित स्पाम गरिएको भिडियो र लिङ्कहरु नखोल्नुहोस् । फेसबुकको मेसेजमा बेलाबेलामा एक साथीले अर्को साथीलाई त्यो साथीको प्रोफाईल फोटो भएको यूट्यूब भिडियो भन्दै लाखौं लाईक आएको, अर्धनग्न या यौनकृडा गरेको जस्तो देखाईएको लिङ्क आउने गरेको छ । यस्ता झुठा स्पाम लिङ्कमा क्लिक गर्दै जाँदा स्पामरले तपाईको स्मार्टफोन या कम्प्यूटरको सेन्सिटिभ सुचनाहरु ह्याक गरेर चोरी गर्न सक्छ ।

१३. ट्रोलिङ


यदी कसैले कुनै मन्दिर, देवी माईको फोटो राखेर या कुनै मन्त्र लेखेरे लाईक गर्नुहोस् या अरु १०/२० जनालाई शेयर गर्नुहोस् नगरे पाप लाग्नेछ या शेयर गरेमा केहि घण्टा भित्र तपाईको फलिफाप हुनेछ या खुशीको खबर सुन्नुहुनेछ या उसलाई पनि रिप्लाई गर्नुहोस् भनेर चेन मेसेज ट्रोलिङ पठाउने या पोस्ट गरेर ट्याग गरेको छ भने बाल मतलब नराख्नुहोस् । त्यो कुनै भगवान या देवीले सन्देश पठा’को हैन। त्यो व्यक्तिले तपाईको धार्मिक आस्थामा खेलवाड गरेको हो । तपाईलाई पटमूर्ख बनाएको हो। तपाई त्यस्ता धार्मिक अन्धता अतिवादी मानसिक असन्तुलन भएका (लुनाटिक रिलिजियस फण्डामेण्टलिस्ट) को ईन्द्राजालमा नफँस्नुहोस् ।

१४. नक्कली फ्रेण्ड रिक्वेस्ट र साईबर सेक्स


अपरिचित, विशेष गरी सुन्दर अर्ध नग्न केटी या केटाबाट फ्रेण्ड रिक्वेस्ट आएको छ भने साथी नबन्नुहोस्। यो तपाईलाई साथीको नाउँमा भिडियोमा साईबर सेक्स गर्न भड्काउने स्क्याम योजना हो। आफू कम्प्यूटरको वेब क्याम या फोनको सेल्फी क्यामेरामा नाँगिएर भिडियो च्याट गरेको केहि मिनेटमै त्यो भिडियो तपाईका साथीहरुलाई पठाईनेछ र र यूट्यूबमा राख्ने धम्की दिएर सेक्सटोर्सन गरी पैसा असुल गर्ने प्रयास गरिने छ । अमेरिकामा रहेका ४/५ जना नेपाली महापुरुषहरु साईबर सेक्समा संलग्न भएको र त्यस्तो हर्कत गर्दै गरेको भिडियोबाट उनीहरू ब्ल्याक्मेल भएको घटना छ । यस्तो घटना उनीहरूको यौनपिपासु लालसा, मानसिकता र नैतिक स्खलनको कारणले घट्दछ । पढ्नुहोस् यस सम्बन्धी नेपालिजमको समाचार: नक्कली नेपाली सुन्दरीसंग साबधान: साईबरसेक्स, सेक्सटिंग र भिडियो च्याटमा नांगिदा फँस्नु होला है !

१५. असली साथी

सोसल मिडियाको आजकलको जमानामा आईआरएल यानेकि ईन लियल लाईफको साथीको प्रोफाईल फोटोमा लाईक मात्र होईन भ्याएसम्म कमेण्ट पनि गर्नुहोस् ताकी उसलाई थाहा होस् कि तपाईले ख्याल राख्नुहुन्छ । साथीको साथीबाट बनेको फेसबुके साथी हो र कहिल्यै प्रत्यक्ष नभेटेको व्यक्ति हो भने चैं लाईक मै सिमित रहँदा भै गो ।

१६. ट्यागिङ


आफ्नो या ग्रूप फोटो, लेख रचना, भिडियो पोस्ट अरुलाई ट्याग गर्दा ति कुराहरु ति साथीसंग सम्बन्धित छन् कि छैनन् या रुचिका विषय हुन् कि हैनन् सोचेर मात्र ट्याग गर्नुहोस् । कसैले आफूलाई अन्ट्याग गरेको छ भने बुझ्नुहोस् कि उसलाई त्यो ट्याग गरेको फोटो या पोस्ट मन परेनछ । फेरी उस्तै विषयका ट्याग नगर्नुहोस् । साथीहरुसंग फोटोहरु खिच्नु भएको छ भने फेसबुकले साथीहरुलाई अटो ट्याग गरिदिन्छ तर फोटोहरुमा आफू मात्र राम्रो पोज भएको छानेर साथीहरूको चैं मुख बाङ्ग्याएको, नाक कोट्याएको, गणेश भूँडी भ्याट्ट देखिएको (रामदेव गर्न नभ्याएको बेलाको🙈😜) या अरूको आँखा डेरो (टेढो) गरी चिम्म गरेको फोटो छ भने त्यो फोटो पोस्ट नगर्नुहोस् । साथै, क्यामेरामा भए भरको सबै फोटो पोस्ट नगर्नुहोस् । एउटा ईभेण्टको ४-५ वटा मात्र चुनिएका फोटो पोस्ट गर्नुहोस् किन कि ति सबै पोस्टमा एकै चोटी देखिन्छन् । धेरै फोटोहरू पोष्ट गर्नु छ भने फोटो, भिडियोसंग सम्बन्धित शिर्षकको एल्वम बनाएर पोष्ट गर्नुहोस्।

१७. ई-निम्तो


कार्यक्रमको निम्तो फेसबुक लगायत सोसल मिडियामा बनाईएको ईभेण्टमार्फत निम्तो आएको छ भने RSVP स्वरूप 'गोइङ' या 'नट गोइङ' जनाउ दिने बानी बसाल्नुहोस् । न्यू योर्कको कार्यक्रममा काठमाण्डौंको साथीले साथीलाई खुशी पार्नकै लागि मात्र 'गोइङ' बटन नठोक्नुहोस् । फेसबुकलगायत सोसल मिडिया ईभेण्ट बनाउनेले पनि न्यू योर्कको कार्यक्रम हो भने न्यू योर्क र वरीपरीका साथीहरुलाई मात्र निम्तो लिस्टमा सामेल गर्नुहोस् ताकी कार्यक्रममा साँच्चै उपस्थित हुनेहरूको लिस्ट बनोस् र ई-निम्तोको प्रभावकारिता बढ्दै जावोस् ।

१८. घर झगडा

आफ्नो पारिवारिक सम्बन्ध चाहे श्रीमान-श्रीमती या परिवारका अन्यसंग भएको घर कलह, झगडा फेसबुक स्टाटसमा छताछुल्ल पारी रमिता नदेखाउनुहोस् । घर कलह घर परिवारभित्रै सल्टाउनुहोस्।प्रेम वियोग भा’को छ भने पनि सोसल मिडियामै पोष्ट्याएर बैरागी, लैला-मजनु, रोमियो-जुलियट नबन्नुहोस्।


तर कहिले काँहीं सोसल मिडियाको पोष्ट त्यो व्यक्तिको मानसिक असन्तुलन या अन्य खतराको जनाउ ‘डिस्ट्रेस सिग्नल’ दिने खालका पनि हुन सक्छन्। त्यस्तो स्टाटस कसैले लेखेमा कमेण्ट गर्नुभन्दा फोन गरेरै या भेटेरै ति साथीलाई सोधखोज गर्नुहोस् या सान्त्वना दिनुहोस् र सम्झाउनुहोस् । आई परे आफन्त र सम्बन्धित निकायलाई तुरून्त खबर गरिदिनुहोस्।

१९. हायर कि फायर


अचेल नोकरी सम्बन्धी सोसल मिडिया लिन्क्ड इनमा भएको तपाईको प्रोफाईल मात्र होईन तपाईको फेसबुक प्रोफाईल हेरेर पनि हायर र फायर गरिन सक्छ । आफ्नो काम या मालिक, बोसको बारेमा रिस उठेको छ भने त स्टाटसमा लेख्दै नलेख्नुहोस् । आफ्नो बोससंग साथी नभए पनि तपाईको पोस्ट पब्लिक हो भने जो कोहीले हेर्नु सक्छ र भोली बिहानै नोकरीबाट बोसले फायर गर्‍यो भने पछुताउनु पर्ने हुन सक्छ । अचेल कम्पनीहरुले डेडिकेटेड सोसल मिडिया स्टाफै राख्छन्- कम्पनीको अनलाईन ईमेज सुधार्न र नकारात्मक रिभ्यूलाई हटाउन या कम गर्न ।


अमेरिकी सरकारले भिषा जारी गर्दा या नयाँ नागरिकता प्रदान गर्दा सम्बन्धित व्यक्तिको ५ वर्ष पुरानो सोसल मिडिया पोष्ट अनुसंधान गरी भिषा दिने नदिने या नागरिकता प्रदान गर्ने नगर्ने निर्णय लिने नियम बनाई सकेको छ।

२०. बन्देज र कानूनी फन्दा


सोसल मिडिया पोष्टबाट समाजमा भड्कावट, हिंशा, घृणा उत्पन्न गराउने, राष्ट्रद्रोही बिचार, बालबालिका, महिला, असहाय अपांग हिंशा गर्ने खाले पोष्ट गर्ने, सोही नियतको अन्य पोष्ट शेयर गर्ने नगर्नुहोस्। यसो गर्नु भयो भने तपाई सोसल मिडियाहरूबाट सदाको लागि बन्देज हुनुहुनेछ र कानूनी फन्दामा परी सजाय भोग्न बाध्य हुनुहुनेछ। यदि कसैको पोष्ट र बिचार माथि उल्लेख गरिएको खाले छ भने सम्बन्धित निकायलाई खबर गर्नुहोस् ताकी समाज यस्ता आपराधिक मानसिकता र गतिविधिबाट सुरक्षित हुन सक्नेछ।

२१. कमेण्ट गर्दा सालिनता


साथीको पोस्टमा कमेण्ट गर्दा या आफ्नो स्टाटस पोस्ट गर्दा आफू अरुप्रति मर्यादित भएर गरौं ।बिमती छ भने पनि तर्कसंगत र सालिनतापूर्वक बिरोध या असहमती जनाउँ । या नचिन्ने गाउँको बाटै नोसोधौं ।


तर महासयले हाँस्य रसवाला कमेन्ट गरेर साथीलाई जिम नगई सिक्स प्याक निकाल्ने क्षमता राख्नुहुन्छ भने त कुरै अर्को भो।🙈😜

२२. कति समय दिने ?


फेसबुक या अन्य सामाजिक सन्जाल (सोसल नेटवोर्किङ) साईटहरुमा दैनिक केहि मिनेट या एकआध घण्टा समय बिताउँदा हुन्छ तर दिनरात तेसैमै समय दिनु भएको छ भने चैं आफैले आफैलाई चिमोट्नुहोस् । सोसल मिडिया तपाईको जीवनको अर्को रूप हैन, जीवनका धेरै गुनिला पलहरू तपाईको फोटोमा कैद नभएका, भिडियोमा नखिचिएका र सोसल मिडियामा पोष्ट नभएका छन्। तपाई सोसल मिडिया बिना पनि अझ सुन्दर र शान्त जीवन जिउन सक्नुहुन्छ। लाईक र कमेन्ट गन्दै र पढ्दै मात्र समय बर्वाद नगर्नुहोस्। यो साधन मात्र हो तपाईले चाहेको पोष्ट्याउने, साध्य हैन जीवन जिउने।


जर्नल अफ सोसल एण्ड क्लिनिकल साईकोलोजीको सन् २०१८ को रिपोर्ट अनुसार दैनिक आधा घण्टा यानेकि ३० मिनेट या कम समय सोसल मिडियामा खर्चिनु स्वास्थ्यवर्धक हुन्छ। धेरै खायो भने चिनी पनि तीतो हुन्छ रे भन्थे, श्लोकै छ नि- "अति सर्वत्र वर्जयेत्" (धेरै कुरा जे पनि राम्रो हुँदैन)। चेतना भया।




Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page