top of page

न्यू योर्कको पहिलो पटक बुद्धका पवित्र अस्तु धातुको शेर्पा किदुग गुम्बामा ऐतिहासिक प्रतिष्ठापन सम्पन्न

by Lhakpa Gelu Sherpa in New York

Special: न्यू योर्क, जनवरी ४, २०२५: विश्वकै राजधनी मानिने न्यू योर्क सहरको क्विन्समा रहेको शेर्पा किदुग अमेरिकाको गुम्बामा महामानव बुद्धको ऐतिहासिक पवित्र अस्तु धातु आधिकारिक रूपमा प्रतिस्थापित गरिएको छ। न्यू योर्क सहरमा पहिलो पटक प्रतिस्थापित बुद्धको अस्तु धातुले विश्वभरका मानिस ओईरिने सहरमा आध्यात्मिक शान्तिको नयाँ किरण प्रदान गर्ने अपेक्षा गरिएको छ। बुद्धका अस्तुलाई विशेष गरी बुद्धका वाक (वाणी), चित्त (मन), र काय (शरीर) को प्रतीकको रूपमा मानिन्छ। यसले बुद्धको शिक्षा, उनको सोच, र जीवन पद्धतिको महत्वलाई झल्काउँछ। बुद्धका अस्तु धातुको दर्शनले बुद्ध, धर्म, र संघ (त्रिरत्न) मार्गमार्फ़त व्यक्तिको चित्त, वाणी, र कार्यलाई शुद्ध पार्दै शील, समाधि, र प्रज्ञाको प्रयोग गरेर आध्यात्मिकतामा अभिवृद्धि गराउँछ।

उत्तर अमेरिकी हिउँदको कठ्यांग्रिने चिसोबीच पनि प्रतिस्थापन समारोहमा भक्तजनहरू ध्यानमा दत्तचित्त देखिन्थे। बिहानै बौद्ध लामा गुरुहरूबाट बुद्ध, बोधिसत्व र धर्मरक्षाकाहरूको सम्मानमा विशेष पूजाअर्चना तथा मन्त्रपाठ गरिएको थियो। बिहान ११:०० बजे देखि दिउँसो ३:०० बजेसम्म दर्शनार्थीहरूलाई बुद्धका पवित्र अस्तु धातुको दर्शन गराइएको थियो।   


शेर्पा किदुग अमेरिकाका संरक्षक समितिका अध्यक्ष ल्हाक्पा रिन्जी शेर्पाले बुद्धको पवित्र अस्तु धातु किदुगको गुम्बासम्म ल्याउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे। उनले किदुगलाई प्राप्त उक्त अस्तु धातुलाई कुनै विशेष दिनमा वर्षमा एक पटक मात्र दर्शनका लागि उपलब्ध गराइने कुरा पनि उल्लेख गरे। शेर्पा किदुग अमेरिकाका अध्यक्ष इन्जिनियर तेम्बा शेर्पाले बुद्धको अस्तु धातुको महत्त्वलाई स्पष्ट पर्दै शेर्पा किदुगको गुम्बामा प्रतिष्ठापन गर्नु धेरै गर्वको कुरा भएको बताए। उनले थपे, "यस पवित्र अस्तु धातुको स्थापनाले किदुग गुम्बा र सम्पूर्ण अमेरिकामा बौद्ध धर्मको अमूल्य शिक्षाको प्रचार र प्रसारमा योगदान पुर्याउनेछ।"


शेर्पा किदुगले प्राप्त गरेको यो पवित्र अस्तु धातु सन् २०१८ मा नेपाल बौद्ध महासंघलाई थाइल्याण्डको धर्मकाय फाउन्डेसनले उपहारस्वरूप प्रदान गरेको थियो। त्यसपछि, नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे नुर्बु टुण्डु शेर्पा र आचार्य सर्की शेर्पाले शेर्पा किदुगका धर्म सांस्कृतिक विभागका संयोजक जिम्बा शेर्पालाई काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी २०८१ कार्तिक २६ गते बुद्धको अस्तु धातु (रिड्सेल) सिसाको चैत्यसहित किदुग गुम्बाका लागि हस्तान्तरण गरेका थिए। नेपाल बौद्ध महासंघबाट शेर्पा किदुग अमेरिकालाई बुद्धको अस्तु धातु हस्तान्तरण गर्ने क्रममा थेग्छेन पेमाचोलिङ गुम्बा, सल्लेरी, सोलुखुम्बुका अध्यक्ष इन्जिनियर तेन्जिङ शेर्पा, महासचिव निमा तुन्डु शेर्पा र शेर्पा किदुगका संरक्षक समितिका अध्यक्ष ल्हाक्पा रिन्जी शेर्पाले विशेष पहल गरेका थिए।


नेपाल, भारत, थाइल्याण्ड, श्रीलंका, बर्मा, चीन, जापान लगायतका देशहरूसँगै युरोप र अमेरिकामा पनि बुद्धका पवित्र अस्तु धातुहरु संरक्षित गरिएको छ। न्यू योर्कको शेर्पा किदुग गुम्बासमेत अब यस सूचिमा थपिएको छ, जसले बौद्ध धर्मको प्रसारमा महत्वपूर्ण भूमिका खेल्नेछ। यस ऐतिहासिक कार्यले नेपाल र सम्पूर्ण नेपाली समुदायलाई नयाँ आध्यात्मिक उचाइ प्रदान गर्नुका साथै विश्व शान्तिका लागि बुद्धका शिक्षाहरूलाई पुनर्जीवित गर्ने अवसर प्रदान गर्नेछ।


यस पवित्र कार्यले न्यू योर्कको शेर्पा गुम्बालाई धार्मिक स्थलको रूपमा मात्र परिचित गराएको छैन, बरु यसले बौद्ध धर्मको गहिरो अर्थ र परम्परालाई सबैको हृदयमा अनन्तकालसम्म बाँचिराख्ने गरि सन्देश फैलाएको छ। सम्पूर्ण नेपाली समुदाय र बौद्ध धर्मावलम्बीहरूको लागि यो एक ऐतिहासिक कदम भएको छ जसले धार्मिक एकता र सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।


बुद्धका अस्तुलाई विशेष गरी बुद्धका वाक (वाणी), चित्त (मन), र काय (शरीर) को प्रतीकको रूपमा मानिन्छ। यसले बुद्धको शिक्षा, उनको सोच, र जीवन पद्धतिको महत्वलाई झल्काउँछ। बुद्धका अस्तु धातुको दर्शनले बुद्ध, धर्म, र संघ (त्रिरत्न) मार्गमार्फ़त व्यक्तिको चित्त, वाणी, र कार्यलाई शुद्ध पार्दै शील, समाधि, र प्रज्ञाको प्रयोग गरेर आध्यात्मिकतामा अभिवृद्धि गराउँछ।


उक्त ऐतिहासिक समारोहमा उपस्थित निवर्तमान संरक्षक समितिका सदस्य पेम्बा गेल्जेन शेर्पाले भने "न्यू योर्कको शेर्पा गुम्बामा पवित्र बुद्धको अस्तु धातु स्थापना गर्नु हाम्रो लागि ठूलो सुअवसर र सैभाग्यको कुरा हो। यसलाई सही ढंगले संरक्षण गर्दै, बुद्धका महत्वपूर्ण तिथिहरूमा दर्शनार्थीहरूलाई दर्शन दिन उपयुक्त हुनेछ।"


भूतपूर्व महासचिव आङ छिरिङ शेर्पाले भने, "न्यू योर्कको शेर्पा किदुग गुम्बामा बुद्धको अस्तु धातु प्रतिस्थापन गर्नु एक ऐतिहासिक कदम हो। यसले बुद्धका अमूल्य शिक्षाहरूलाई हाम्रो समाज र सम्पूर्ण अमेरिकामा फैलाउनको लागि महत्वपूर्ण कडीको काम गर्नेछ।"


त्यस्तैगरी, सहभागी छिरिङ ल्हामुले खुशी हुँदै भने, "बुद्धको अस्तु धातुको दर्शन गर्नु पाउँदा प्रत्यक्ष सम्यक सम बुद्धको दर्शन प्राप्त गरेको अनुभूति भयो। यसको लागि शेर्पा किदुगलाई हार्दिक धन्यवाद दिन चाहन्छु।"

Buddha image by ChatGPT


बुद्धका अस्तु धातुको महत्व


धार्मिक महत्त्व:


बुद्धका अस्तु धातु बौद्ध धर्मावलम्बीहरूको लागि पवित्रताको स्रोत हुन्। यी अस्तु धातुहरुको दर्शन र पूजाले अपार पुण्य प्राप्त हुने विश्वास गरिन्छ। बौद्ध धर्मका अनुयायीहरू यी अस्तुधातुलाई महामानव बुद्धको प्रत्यक्ष उपस्थिति र शिक्षाको प्रतीक मान्छन्। यसले धार्मिक आस्था सुदृढ गर्दै मानिसलाई आध्यात्मिक मार्गतर्फ प्रेरित गर्दछ।


ऐतिहासिक महत्त्व:


बुद्धका अस्तु धातु गौतम बुद्धको जीवन र शिक्षासँग सम्बन्धित प्राचीन इतिहासको प्रमाण हुन्। यी अस्तु धातु विभिन्न देशका स्तूपा र विहारमा संरक्षित छन्, जसले बौद्ध धर्मको विकासक्रम र त्यसको सांस्कृतिक प्रसारको चित्रण गर्छ। सम्राट अशोकको समयमा यी अस्तु धातुहरू विश्वभर फैलाइएको तथ्यले यसको ऐतिहासिक मूल्य झन् बढाएको देखिन्छ।


साँस्कृतिक महत्त्व:


बुद्धका अस्तु धातु विभिन्न देशका गुम्बा, विहार, र स्तूपहरूमा संरक्षित छन्। यी स्थलहरू धार्मिक मात्र नभई सांस्कृतिक र पर्यटनका केन्द्रका रूपमा पनि विकसित भएका छन्। अस्तु धातुहरुले विभिन्न संस्कृति र परम्परालाई जोड्ने सेतुको रुपमा भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाएका छन्।


आध्यात्मिक महत्त्व:


बुद्धका अस्तु धातुहरुलाई शान्ति, करुणा, र ज्ञानको प्रतीक मानिन्छ। अस्तु धातुहरुको दर्शन र पूजाले मानिसलाई मानसिक शान्ति, आध्यात्मिक विकास, र ज्ञाको मार्गतर्फ प्रेरित गर्दछ। ध्यान, प्रार्थना, र पूजा गर्दा उत्पन्न हुने सकारात्मक ऊर्जाले मानिसको जीवनलाई सन्तुलित र सुखमय बनाउने विश्वास छ।


शैक्षिक महत्त्व:


बुद्धका अस्तु धातुहरूले बौद्ध धर्म, इतिहास, र सभ्यताको अध्ययनका लागि महत्वपूर्ण सामग्री उपलब्ध गराउँछन्। विद्यार्थी, अनुसन्धानकर्ता, र बौद्ध शिक्षाका अध्येता यी अस्तु धातुको अध्ययनबाट ज्ञान र प्रेरणा प्राप्त गर्छन्।


विश्वशान्ति र एकताको प्रतीक:


बुद्धका अस्तु धातुहारूलाई विश्वशान्ति, सद्भाव, र सह-अस्तित्वका प्रतीक मानिन्छ। ती धातुले विभिन्न जाति, धर्म, र संस्कृतिका मानिसहरूलाई एकतामा बाँध्ने कार्य गरेका छन्। धर्म, राष्ट्रियता, र सीमाभन्दा माथि उठेर यी अस्तु धातुले सबैप्रति समानता र करुणाको भावना जगाउँछन्।


बुद्धका अस्तु धातुको वर्गीकरण:


शारीरिक धातु:


यी बुद्धको शरीरका अवशेष हुन्, जसलाई विशेष सम्मानका साथ पूजा गरिन्छ।


उपकरणात्मक धातु:


यी वस्तुहरू हुन् जुन बुद्धले आफ्नो जीवनकालमा प्रयोग गरेका थिए। जस्तै उनका भिक्षु गेडी, कटोरी, र अन्य धार्मिक उपकरणहरू। यी धातुहरू पनि धार्मिक महत्त्व राख्छन् र पूजामा प्रयोग गरिन्छ।


धर्म धातुः


यी बुद्धका शिक्षाहरूको प्रतीक हुन्, जसको मुख्य उद्देश्य शान्ति, करुणा र ज्ञानको प्रचार गर्नु हो। धर्म धातुहरूलाई बुद्धको धर्म वचन र शिक्षाको प्रतीकको रूपमा पूजा गरिन्छ।


बुद्धका आस्तु धातुको इतिहास:


बौद्धग्रन्थअनुसार शाक्य वंशका युवराज सिद्धार्थ गौतमको मनमा बैराग्य उन्पन्न भयो । उनी राजदरबार छाडेर निस्के । भारत वर्षको गयामा बुद्धत्व प्राप्त गरेपछि उनी धेरै स्थानमा ज्ञानको ज्योति फैलाउँदै हिँडे । अन्तिममा उनको कुशीनगरमा देहान्त भयो । त्यसताका कुशिनगरमा मल्लहरुले राज्य गर्थे । मल्लहरुले बुद्धको अस्तुलाई संकलन गरी उनीहरुको सभा हलमा राखेका थिए । बुद्धको देवासन भएको कुरा विभिन्न गणराज्यमा फैलियो र सात वटा राज्यका राजकुमारहरु र उनका आफन्तहरू देवासनपछि अस्तु लिन कुशिनगर पुगेका थिए । सुरुमा मल्लहरुले बुद्धका अस्तु दिन मानेका थिएनन् तर एउटा द्रोण भन्ने ब्राह्मणको सुझावमा उक्त अस्तुलाई आठ भागमा बिभाजन गरी त्यहाँ उपस्थित आठवटा राज्यहरुलाई बितरण गरियो । ती आठवटा राज्यहरुः कुशीनगर (मल्ल), कपिलवस्तु (शाक्य), रामग्राम (कोलिय), वैशाली (लिच्छवी), पावा (मल्ल), वेठद्वीप (बुली), आलकप्पा (ब्राह्मण) र राजगृह (मगध राज्य) थिए। यी प्रत्येक राज्यमा बुद्धको अस्तुधातु राखी स्तूपाहरु बनाए।


२६८ देखि २३२ इसापूर्वसम्म सम्राट अशोक भारत वर्षका चक्रवर्ती राजा थिए । त्यस समयमा अन्य राज्यका राजालाई परास्त गरी चक्रवर्ती बन्ने चलन थियो । अन्य राज्यका राजा र प्रजालाई आफ्नो अधिनमा लिन खोज्दा धेरै हिंसासमेत गरेका सम्राट अशोक पछि शान्तिका अग्रदूत गौतमबुद्धको दर्शनबाट प्रभावित भए । उनी एक असल बौद्धमार्गी भए । अन्तिममा बुद्धको दर्शन देश विदेशमा पुर्‍याउने उनले अठोट लिए। त्यसैका लागि बुद्धको अस्तु राखेका स्थानको पत्ता लगाउँदै उत्खनन् गराउँदै र विभिन्न स्थानमा वितरण गर्दै बौद्ध स्तूप बनाउने अभियानमा लागे । विभिन्न ७ स्थानका स्तूप उनले उत्खनन् गरी भारत वर्षका बिभिन्न स्थानहरुमा बितरण गरी ८४ हजार स्तूपहरु बनाए । सम्राट अशोक अन्तिममा रामग्राम स्तूपको उत्खनन गर्न पुगेका थिए । तर, रामग्राम स्तूपमा नियमित पूजा पाठ गर्दै आएका नागजातिले राजासँग स्तूप नभत्काउन अनुरोध गरे (कतै स्तुप बनाउन खोज्दा नाग र हात्तीहरुले संरक्षण गरी बत्काउन नदिएको ईतिहास पनि भेटिन्छ ) । नागजातिहरुले पहिला हामीलाई मारिदिनुस् अनि मात्र स्तूपा खन्नु भन्ने चुनौती सम्राट अशोकलाई दिए । बुद्ध मार्गमा हिंडिसकेका सम्राट अशोकले फेरि कसरी हिंसा गर्ने त्यसमा पनि आफुभन्दा बढी बुद्धप्रति आस्थावान नागजाति ठहरिएको महसुश गरे । उनीहरुले स्तूस्तूपाप खन्न नदिनका लागि आफ्नो ज्यानकै बाजी लगाए । यसबाट सम्राट अशोक प्रभावित भए । उनले रामग्राम स्तूपा वरिपरि इट्टाको पर्खाल लगाई र स्तुप नजिकै उनीहरूका लागि विहार बनाएर फर्केको थिए । आठवटा अस्तु धातुमध्येबाट बनाएको स्तूपाहरु मध्ये एउटा मात्र सिंगो भाग अहिले बाँकी छ । जुन रामग्राम स्तूप हो । सन् १८३२ मा पुरातत्वबिद्हरुले पहिलो पटक अफ्गानिस्तानको बिमरान भन्ने स्थानमा उत्खनन् गर्दा हाड्डीको टुक्रा र खरानी राखिएका एउटा सुनको बट्टा भेटाएका थिए । बट्टाको बाहिरी भागमा उक्त बट्टाभित्र बुद्धको अस्तुधातु राखिएको कुरा लेखेको थियो। जसबाट सम्राट अशोकले उक्त स्थानमा बुद्धको अस्तुधातु राखी स्तूपा निर्माण गरेको प्रमाणित हुन्छ । त्यसैगरी, पाकिस्तानको केही स्थानहरुमा र भारतको एउटा सानो राज्य आन्द्र प्रदेशबाट मात्र १७ स्थानमा बुद्धका अस्तु धातु भेटाएका थिए । पछि ब्रिटिशहरुले भारतको बिभिन्न स्थानहरुमा उत्खनन् गरी उक्त अस्तु धातुहरुलाई संसार भरी फैलाए । हाल बर्मामा रहेको बुद्धको अस्तु धातु पाकिस्तानबाट र श्रीलंकमा रहेको अस्तु धातु शाक्यहरुको राज्य कपिल्बस्तुबाट लागिएको ईतिहास भेटिन्छ ।


यसैगरी, अमेरिकाको वासिङ्टन राज्यको रेडमन्डमा रहेको शाक्यमुनी बुद्ध स्तूपा, क्यालिफोर्नियाको तथागत मेमोरियल बुद्ध स्तूपा र धम्मकाया इन्टरनेशनल मेडिटेशन सेन्टर, फ्लोरिडाको महाबोधि सोसाइटी, हवाईको ब्योडो-इन टेम्पल, म्यासाचुसेट्सको केम्ब्रिजमा रहेको केम्ब्रिज बुद्धिस्ट एसोसिएसन, कोलोराडोको शाम्भाला माउन्टेन सेन्टर, डलासको ताओ फाउन्डेसन, र पोर्टल्यान्डमा रहेको लामा रिन्पोछे स्तूपामा बुद्धका पवित्र अस्तुधातुहरू सुरक्षित राखिएका छन्।


ल्हाक्पा गेलु शेर्पा

न्यू योर्क


Read article written by Lhakpa Gelu Sherpa:


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page