top of page

कोरोना डायरी: यसरी बित्यो भयावह एक हप्ता

Writer's picture: Nepalism.comNepalism.com


-लक्ष्मी श्रेष्ठ, न्यू योर्क ओहो आज काममा नगई घर बसेको पनि हेर्दाहेर्दै हप्ता दिन बिति सकेछ। यि दिनहरूको अन्तरालमा खुट्टा ढोकाबाट बाहिर ननिकालेको पनि ठ्याक्कै ७ दिननै भयो। यसरी यति लामो समयसम्म आफूलाई घरभित्र लकडाउन गरेको मेरो जीवनको पहिलो अनुभव हो। हुन त, सन् २०१२ सालमा स्याण्डी आएर अफिस बन्द भएको बेला पनि ४/५ दिन बाहिर ननिस्क भनेर सरकारबाट उर्दी जाहेर भएकोले घर भित्रनै कोचिएका थियौं। तर आज परिस्थिति नितान्त भिन्दै छ। बाहिर निस्क्योकि कोरोना भाईरसको शिकार बन्नु पर्ला भन्ने ठूलो संत्रासले मनमा जरा गाडेको छ।


म काम गर्ने कार्यालय खुल्नै पर्ने भनेर सरकारले अत्याबश्यक क्षेत्रमा पारेपछि मार्च २४ तारिखसम्म कार्यालय गईरहेकी थिएँ । त्यत्ति डर पनि लागेको थिएन। मेरो श्रीमान् चाहीं साह्रै डराई रहनु भएको थियो। मैले गर्दा उहाँको आधा ज्यान भएको मैले महशुस गरिरहेकी थिएँ।


यस्तै मेरी साथी नदिया लिबाँग मलाई फ़ोन गरेर “आज पनि तिमी काममा गयौ? म त घरमा छौ होलाभन्ठानेको। तिमी काममा गएपछि सबै परिवार घरमा बसेको के काम लाग्यो त?” भन्दै मसंग कराउँथी। मैले बुझेकी थिएँ- उनको म प्रतिको माया। तर आफ्नो काम र कर्तब्यबाट सजिलै पन्छिन पनि त सजिलो थिएन। त्यसैले हरेक दिन काममा जानु पहिला र आएपछि नुहाई धुवाई गरेर कसैलाई पनि नछोईकनै बस्थें। श्रीमान्, छोरा-छोरीलाई पनि अंकमाल गर्न छाडेकी थिएँ। उनीहरुलाई पनि आफ्नो अघिल्तिर नबस्न आग्रह गर्थें। उनीहरु मलाई आश्चर्य मानेर हेर्थे। तर छोरी भने बिर्सेर लुपुक्क परेर बस्न आईहाल्थी। मनैमन भगवानसंग प्रार्थना गर्थें। सायद बिहान-बेलुका नै नुहाउने गरेकोले ४० काटेको शरिर चिसो लागेकोले होला २५ तारीखमा अचानक नै बिहान देखि नै घाँटी खस्खस गर्ने, दु:ख्ने, चिलाउने अनि खोकी पनि लागेकोले अफिसमा खबर गर्दा टेलिडाक्टरलाई फ़ोन गर्ने र ह्युमन रिसोर्सलाई खबर गर्ने सुझाब पाएपछि त्यहाँ सम्पर्क गर्दा मैले डायबिटीजको औषधि र हाईब्लोडप्रेसरको औषधि खाईरहेकोले मलाई हाई रिस्कको कर्मचारीको समूहमा दर्ता गराईदिएकाले घरमै बस्ने अनुमति पाएर परिवारसंगै घरमै बसी रहेछु मार्च २५ तारीख २०२० देखि।


लिभिंग रुममा अफिस जमाएर श्रीमान् घरबाटै काम गरिरहनु भएको २ हप्ता पूरा भएर ३ हप्तालागि सकेको छ। छोरी र छोरा आ-आफ्नै कोठामा अनलाईनमा पढाई गर्दैछन्। बिहानको नित्य कर्म र प्रार्थना सकेर ब्रेकफास्ट र लन्चको सबै काम सकेर सफा सुग्गर पछि म आफ्नै कोठामा घरी फेसबुक पल्टाउँछु, घरी मेसेन्जरमा आएका साथी-भाईका म्यासेज रिप्लाई गर्छु, घरी सुत्छु, घरी कोठाका सामान मिलाए जस्तो गर्छु, घरी डाईनिंगमा गएर बस्छु, घरी सोफामा सुत्छु। घरी मनमा उथल-पुथल भएका केही कुरा लेखी टोपल्छु।घाँटी दु:खेकोले कमै मात्रामा फोनमा कुरा गर्छु। टीभि खोलौं भने सबैलाई डिस्टर्ब हुन्छ। त्यो पनि विचार गर्नै पर्यो। आफूलाई पनि घरी घाँटी चिलाए जस्तो हुन्छ, घरी दुखे जस्तो महशुस हुन्छ भने घरी नाक सकसक्काएर हाछ्युँ आउला जस्तो लाग्छ। सायद यो कोरोनाकै नराम्रो मानसिक प्रभाब परेकोले होला।


झ्यालबाट बाहिर हेर्छु जताततै चकमन्न सुनसान छ। आकाश मौन छ। धर्ति सन्तानहरुको असह्य पीडाले छट्पटिएको भान हुन्छ। कहिल्यै ननिदाउने न्यू योर्क शहर आज दिउँसै निदाएको छ। कहिले निन्द्राबाट ब्युझिन्छ यो समयको गर्भमै लुकेको छ ।

बाहिर सडकमा एक दुई जना मान्छेहरु मास्क र हातमा पन्जा लगाएर कुकुरहरु डोर्याईरहेको देख्छु। गाडीहरु टन्न पार्किंग गरिएको छ। घाँटी तानेर परसम्म हेर्न मन लाग्छ तर सक्दिन किनकी झ्यालमा सेफ़ गार्ड लगाईएको छ। मेरो अपार्टमेंटको नजिकैबाट चल्ने सेभेन ट्रेन पनि अब त थाके-थाके झैं लाग्छ।सडकहरु रित्तो-रित्तो छ। रुखहरु पनि खंग्रंग परेर उदास देखिन्छन्। सुन्यतालाई चिर्दै बेला बेलामा कुदेको एम्बुलेन्सले मनमा एक प्रकारको भय र नजानिंदो त्रास पैदा गरिदिन्छ।न्यू योर्कको कुईन्सस्थित एल्महर्स्ट हस्पिटल हाम्रो अपार्टमेंटबाट नजिकैको हस्पिटल हो। अहिले न्यू योर्क शहर कोरोना संक्रमित अमेरिकामा एपिसेन्टरकै रूपमा घोषित गरिएको छ। तर हस्पिटल र त्यहाँ कार्यरत स्वास्थकर्मीहरुलाई सुरक्षित बनाउने र उपचार गर्न आवश्यक पर्ने साधनहरुको कमीले हस्पिटलको स्थिती भने दिन प्रतिदिन एकदम नाजुक र भयावह बन्दै गईरहेको खबरले झन् दिनप्रतिदिन मन बिचलित बन्दै गईरहेको छ। नेपालमा २०१५ मा भुँईचालो जाँदा जसरी मन हतास बनेर आफूलाई हेल्पलेस महसुस भएको थियो आज मेरो मानसिक अवस्था ठीक त्यहीं अवस्थाबाट गुज्रिरहेछ।


हस्पिटल र स्वास्थकर्मीहरुको यस्तो नाजुक अवस्थामा कोही अरु नै रोगले च्यापेर आकस्मिक जाँच गराउनु पर्यो भने या सुत्केरी ब्यथा लागेर कोही बच्चा जन्माउन हस्पिटल जानु पर्र्यो भने के गर्ने होला? कस्ता बिरामीलाई डाक्टर र नर्सहरुले प्रार्थमिकता दिने? यस्तो बिषम् परिस्थितिमा कसरी बिरामीको हेरबिचार गर्ने? कसरी नाबालक सिशु र आमाको हेरबिचार गर्ने? यी मेरा प्रश्नहरुको उत्तर म कतै पनि भेट्दिन।


संसारको शक्तिशाली देशमा गनिएको अमेरिकाका जनता र युरोपेली मुलकका जनता आज यस्तो दु:खद र दर्दनाक स्थितिबाट गुज्रिनु परेको छ भने बिचरा मेरो देश नेपाल र मेरा नेपाली दाजु-भाई र दिदी-बहिनीहरुले यस्तो परिस्थितिको सामना नै गर्नु नपरोस् साथै संसारभरलेनै कोरोनाको आतंकबाट मुक्ति पावस् र संसारमा फेरी सुख शान्ति छावस् भनेर भगवानलाई बत्ति बालेर प्रार्थना गरिरहेछु।


हाल अमेरिकामा कोरोनाको स्थिति कस्तो रहेछ भनेर वेला-वेला आँखा हुत्याउँछु। यो महामारी रोगबाट संक्रमितहरूको संख्या दुई लाख कटिसकेको तथ्याँकले मन झनै भौंतारिन्छ।यो सामाजिक सन्जाल र बिभिन्न खबरहरुले गर्दा चाहिदा नचाहिंदा समाचारहरु डढेलो सल्के झैं गरेर प्रत्येक पलपलहरुमा मान्छेलाई त्रसित बनाईरहेछ। कोरोनाको सबभन्दा बढी संक्रमित बिरामी हामी बसेको कुईन्स क्षेत्रमा देखा परेकोले नेपाल, अमेरिकाका बिभिन्न स्टेटमा बसोबास गर्ने लगायत बिभिन्न देशमा बस्ने हाम्रा परिवार र प्रियजनहरु हामीप्रति चिन्तित भएर हाम्रो हालखबर बुझ्न फोन र म्यासेज २४ सै घण्टा आएको आयै छ। सकेसम्म प्रतिउत्तर दिने मेरो कोशिष जारी छ।


यत्तिखेर यस्तो लाग्छ, यस संसारमा हामीलाई माया गर्नुहुने र चिन्ता गर्नुहुने धेरै हुनुहुँदोरहेछ भनेर खुसी लाग्छ। जे होस्, जीवनमा अरु भौतिक बस्तुहरु कमाएर धनि बन्न नसकेपनि मान्छेको जीवनमा अपरिहार्य र अमूल्य माया, स्नेह, बिश्वास, आशीर्वाद र सुभेच्छा त कमाएका रहेछौं भनेर गर्व गर्छु आफैंप्रति। खुसीका आँशु तप्किन्छन् गालामा तपलक्क...।


हाम्रो एक जना ताप्लेजुंगबाट सुन्दर भविष्यको कल्पना गर्दै आफ्नो ३ जना छोरा-छोरी लगायत श्रीमती समेतको सुन्दर परिवारसंग हाँसी खुसी जीवन बाँचिरहेका पेशाले उबर चालक नेपाली दाई अनिल लिम्बु अस्ति भर्खरै मार्च २४ तारिख यहीं कोरोनाको प्रकोपमा परेर ४९ वर्षको छोटो उमेरमै यस संसारबाट बिदा हुनु पर्यो जुन घटनाले समस्त अमेरिकी नेपाली समाजलाई नै ठूलो मानसिक धक्क लागेकोछ। ति दाईको परिवार हाम्रै अपार्टमेंट नजिकै बस्नु हुँदोरहेछ तर खै, अन्तिम यात्रामा पनि सहभागी हुन् सकिएन। न त उहाँहरुको घरमा गएर सान्त्वनाका दुई शब्दले चहर्याई रहेको घाउमा मलम लगाउन नै सकियो। कस्तो बिडम्बना! उहाँको आफ्नै परिवारले समेत अन्तिम पटक भेटेर श्रद्धान्जली चढाउन पनि पाएनन्। मन फुकाएर रुन पनि पाएनन्। मलामी बिना नै उहाँको अन्तिम संस्कार सकियो।

सम्झँदा पनि कहाली लाग्छ। बाँच्दा जन्ती र मर्दा मलामीकै लागि मान्छेहरुले मान्छे कमाउँछन् अरु केही कमाउन नसके पनि। यस्तो पीड़ादायक खबरले हामीलाई त यस्तो दु:ख लागेको छ भने यो डरलाग्दो भाईरसको शिकार बन्नु पर्दा उहाँको परिवार माथि कत्ति ठूलो बज्रपात परेको होला ? कस्तो दर्दनाक पीडा महशुस भैरहेको होला? यो हाम्रो अनुमान र कल्पनाभन्दा पनि बाहिरको कुरा हो।यस्तो बिपत्ति संसारका कुनै पनि मान्छेलाई नपरोस् भगवान !


यत्तिखेर अनिल दाईको आत्मालाई चीर शान्ति मिलोस् साथै बैकुण्ठ बास् होस् तथा यस दु:खद घडीमा उहाँको सम्पूर्ण परिवारलाई भगवानले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि भगवानसंग प्रार्थना गर्नु बाहेक यस्तो विषम परिस्थितिको बेला हामीले के नै पो गर्न सक्छौं र?


तर यसबिच, खुशीको ख़बर, हाम्रा प्रिय दाई, पेशाले पूर्ब बिट्रीस सैनिक र हाल न्यू योर्क कुईन्सको जानीमानी हस्ती, भिडियोग्राफर शम्भु मोक्तान भगवानको असिम कृपा साथै सबैको प्रार्थना र सुभेच्क्षाले कोरोनाको मुखबाट बँचेर घर फर्किनु भएकोछ। यसले नेपाली समाजमा आशाको दीयो बलेको छ। अर्का नेपाली दाई जीवन बमले पनि कोरोनालाई जित्नु भयो भन्ने खबरले हामीमा अझै आत्मबल थपिएको छ।


यसैगरी, अर्का एक जना नेपाली नर्स निमा शेर्पा जीको परिवारले पनि कोरोनासंगको लड़ाईंमा कोरोनालाई जित्न सफल भएको खबरले नेपाली समाजमा सकारात्मक विचार र आत्मबलमा टेवा पुगेको मैले महशुस गरेकी छु।


तर अझै कत्ति हाम्रा नेपाली परिवारहरु यस रोगसंग पौंठेजोरी खेलिरहेछन् भन्ने कुराको पुष्टी हुन नसक्दा भने हाम्रो मन आत्तिएको छ।कत्तिलाई त आफू संक्रमित छु भन्ने कुरा पनि पत्तो छैन।कत्तिलाई थाहा भएर पनि तिरस्कृत हुनु पर्ने डरले बाहिर आउन सकेका छैनन्। तर जतिले आफू संक्रमित भएको थाहा पाउनु भएको छ, कृपया बाहिर आएर परिस्थितीको जानकारी गराईदिनु भएको खण्डमा अरु वरपरका मान्छेहरु सतर्क हुने र यसबाट जोगिने महान अवसर पाउँथे। यो रोग कुनै श्राप हैन, कुनै नाजायज कामबाट संक्रमित हुने रोग पनि हैन। यो त केवल दुष्ट भाईरस हो। जो कोही पनि यसको शिकार बन्न सक्छ।त्यसैले मेरो बिन्ति छ- कृपया यदी कोही यो भाईरसको पन्जामा जकडिनु भएको छ भने सबैलाई जानकारी गरिदिनु भयो भने सबैजना आभारी बन्नेछन्।सचेत र सुरक्षित रहन सक्नेछन्। यसमा कसैको दुईमत नहोला।


कोरोना महामारीले एकातिर ठूलो धनजनको क्षति पुर्याउँदैछ भने अर्कोतिर अमेरिका लगायत संसारको अर्थतन्त्र धराशायी र डामाडोल नै बनाउँदै लगेको छ।पछिल्लो तथ्याँक अनुसार अमेरिकामा ६.२ मिलियनले बेरोज़गार भत्ताको लागि निवेदन हालेको समाचारछ। यो महामारीले गर्दा अझ बेरोजगारीको संख्या बढ़ने क्रममा छ। कति जनताले मोर्गेज तिर्ने समस्याले आफ्नो घर गुमाउनु पर्नेछ।सोच्दा पनि कहाली लाग्दो परिस्थितिको सृजना भएको छ। संसारकै लागि आज यो जटिल बिषय बन्न पुगेको छ। यो महामारीलाई छिट्टै नियन्त्रणमा लिन नसकिएको खण्डमा अमेरिका लगायत विश्वका सबै राष्ट्रहरुले जनधनको ठूलो क्षति त बेहोर्नु पर्छ नै यसको साथसाथै अर्थतन्त्रमा पनि ठूलो भुईंचालो ल्याउने र दूरगामी असर पर्ने पक्का छ।


तर समय संधै यस्तै रही रहँदैन। आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने भावना राखौं।सोसल डिस्टेन्स कायम गरौं। यतिखेर मानवीय सेवाभाव व्यावहारमा उतार्ने बेला हो। हामी सबै मिलेमा यो संगिन बिपत्तीको सामना गरेरै छाड्नेछौं। यो महारोगबाट एक दिन हामीले बिजय अवश्य प्राप्त गर्नेछौं।


नोट: डायरी संस्मरण लेखिका लक्ष्मी श्रेष्ठ पेशाले न्यू योर्कस्थित बैंक अफ अमेरिकामा कार्यरत ब्यांकर हुन् भने साहित्यकार र समाजसेवी पनि हुन्। उनको ‘ढुकढुकीमा सुन्दरीजल’ कविता संग्रह (२०१७) प्रकाशित छ। उनी नेवा: गुठी न्यू योर्कको आजीवन सदस्य र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आजीवन सदस्य हुन्। उनले यसअघि जेपि मोर्गन चेज़ बैंक (न्यू योर्क) एचएसबिसी बैंक (न्यू योर्क), बैंक अफ न्यू योर्क र नेपाल बांग्लादेश बैंक (काठमाडौं) मा काम गरिसकेको लामो अनुभव छ। उनको नेपाल जन्मस्थल सुन्दरीजल, काठमाण्डौं हो। उनी न्यू योर्कमा श्रीमान्, एक छोरी र एक छोराकासाथ वसोवास गर्दछिन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page