“यो मेरो लडाई एक पुस्ताको लडाई हैन… यो एउटा रिले दौड जस्तो हो, यो शताब्दीमा हामी जन्मियौं, जति गर्न सक्छौं, त्यस्तै अर्को पुस्ताले गर्ने हो”- डा. ह्यारी भण्डारी
Exclusive: अमेरिकाको राज्य सभामा निर्वाचित पहिलो नेपाली-अमेरिकन नेता बनेका डा. ह्यारी भण्डारी अमेरिकी संघीय तल्लो सदनमा पहिलो नेपाली-अमेरिकन कंग्रेसम्यान बन्ने लक्ष्य राखेर आफ्नो उम्मेदवारी घोषणा गरी चुनावी महाअभियानमा होमिएकाछन्। डा. भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक-२ बाट कंग्रेसनल चुनाव लड्दैछन् भने हाल मेरील्याण्ड राज्य एसेम्बलीमा डेलिगेट साँसद र उक्त एसेम्बलीमा एसियन अमेरिकन प्यासेफिक आईल्याण्डर ककसको अध्यक्ष छन्। डा. भण्डारीको चुनावी अभियानलाई सहयोग गर्न न्यू जर्सी राज्यको जर्सी सिटी सहरमा उनको भव्य स्वागत गरिएकोछ। यसैविच, नेपालिजमले डा. भण्डारीको उम्मेदवारीलाई अफिसियली ईन्डोर्स गरेकोछ।
न्यू जर्सीमा डा. भण्डारीको स्वागत
न्यू जर्सी राज्यको जर्सी सिटी सहरमा सम्पूर्ण नेपाली समुदायकोतर्फबाट डा. भण्डारीको सम्मानमा आयोजित Meet & Greet समारोहमा उनको भव्य स्वागत गरिएकोछ भने उनको चुनावी अभियानको लागि साढे छ हजार डलर संकलन भएकोछ। अमेरिकन नागरिक र ग्रिनकार्डवालाले उनको चुनावलाई प्रति व्यक्ति अधिकतम छ हजार छ सय डलरसम्म अनुदान दिन सकिन्छ। उनको निर्वाचन क्षेत्रका झण्डै सात लाख मतदातासम्म आफ्नो परिचय र कार्य लक्षहरू पुर्याउन डा. भण्डारीलाई झण्डै एक मिलियन डलर फण्डरेजिंगको जरूरी हुनेछ।
जर्सी सिटी सहरमा आयोजित Meet & Greet समारोहलाई सम्बोधन गर्दै डा. ह्यारी भण्डारीले यो चुनाव आफ्नो मात्र लडाई नभएको र एक पुस्ताको लडाई मात्र नभएको उल्लेख गरे। उनले अगाडि भने, “यो एउटा रिले दौड जस्तो हो, यो शताब्दीमा हामी जन्मियौं, जति गर्न सक्छौं, त्यस्तै अर्को पुस्ताले गर्ने हो।”
सो समारोहमा उदीयमान व्यावसायी एवं नेतृ रेणु शर्माले डा. ह्यारी भण्डारीको परिचय प्रस्तुत गर्दै उपस्थित पाहुनाहरूलाई स्वागत गरिन् भने जर्सी सिटी सहरका मेयर स्टिभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियार र ग्रेटर जर्सी नेपाली समाजका अध्यक्ष महेश मल्लले डा. भण्डारीलाई उनको विजयकोलागि सुनिश्चित गर्न सबै नेपाली अमेरिकनहरूले सहयोग गर्न अपील गरे। ग्रेटर जर्सी नेपाली समाजका महासचिव कृष्ण अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने नेपालिजम डट कमका सम्पादक प्रदीप परियार थापाले कार्यक्रमको सन्चालन गरेका थिए।
नेपालिजमद्वारा डा. ह्यारी भण्डारीको उम्मेदवारीलाई समर्थन (endorsement) !
यसैविच, नेपालिजम डट कमले डा. ह्यारी भण्डारीको अमेरिकी संघीय तल्लो सदनमा पहिलो नेपाली-अमेरिकन कंग्रेसम्यान बन्ने लक्ष्य र उनको उम्मेदवारीलाई अफिसियली ईन्डोर्स गरेकोछ। हामी उनले विगत दुई दशकदेखि नेपाली अमेरिकन समुदायलाई गरेको सहयोग र अमेरिकी संसदमा पुग्ने पहिलो नेपाली अमेरिकी बन्ने लक्षप्रति गौरवान्वित छौं।
यसै अवसरमा डा. ह्यारी भण्डारीसंग नेपालिजमले गरेको विशेष कुराकानी पढ्नुहोस्ः
नेपालिजमः तपाईले कुन पदमा उमेदवारी दिन लाग्नु भएको हो?
डा. भण्डारीः म विगत दुई वटा निर्वाचन मार्फत मेरिल्याण्ड राज्यको डेलिगेट (साँसद) को रुपमा काम गर्दै आएको छु । अव मैले मेरिल्याण्ड राज्यको डिष्ट्रिक २ वाट प्रतिनिधित्व गर्ने गरी कंग्रेसमेन अर्थात क्यापिटल हिल वाशिङ्गटन डिसीका लागि संघीय संसदमा उम्मेदवारी दिएको हुँ ।
मेरो उमेदवारीले नेपाली अमेरिकनको मुख्य रुपमा अमेरिकाको केन्द्रीय राजनीतिमा उपस्थित हुनेछ भन्ने मैले विश्वास लिएको छु । हजुरहरुको जानकारीको लागि अमेरिका भरिवाट कंग्रेस अर्थात अमेरिकाको तल्लो सदनमा ४३५ जनाले प्रतिनिधीत्व गर्दछन् ।
नेपालिजमः तपाईले यो सिट (मेरिल्याण्ड राज्यको डिष्ट्रिक २) मै किन उमेदवारी दिन लाग्नु भएको हो?
डा. भण्डारीः अमेरिकाको तल्लो सदनको रुपमा चिनिने कंग्रेसमा मेरिल्याण्डको डिष्ट्रिक २ वाट प्रतिनिधीको रुपमा विगत ११ वटा निर्वाचनमा विजयी हुनुभएका वरिष्ठ कंग्रेसमेन ७७ वर्षका डच रुपेशवर्गरले निर्वाचन नलडने घोषणा गर्नु भएको छ । सोही आधारमा उक्त सीट खुला सिटको रुपमा आएको छ । यस प्रकारको खुल्ला सिट संभवत मेरो जीवनकालमा फेरि आउने छैन। सोही अवसरलाई नगुमाउन एक राजनीतिज्ञको रुपमा मैले उमेदवारी दिन लागेको हुँ । अर्को महत्वपूर्ण पक्ष, मैले उक्त क्षेत्रवाट डेलिगेटको रुपमा दुई पटक निर्वाचित भईसकेको क्षेत्र पनि हो, निकै ठूलो आकारको क्षेत्र (कंग्रेशनल डिष्ट्रिक २) को क्षेत्रमा पनि हो।
नेपालिजमः तपाईले उमेदवारी दिनु भएको क्षेत्र मेरिल्याण्ड भित्रका कुन कुन क्षेत्र पर्छ ?
डा. भण्डारीः मैले उमेदवारी दिन लागेको स्थान अर्थात डिष्ट्रिक २ क्षेत्रमा क्यारोल काउन्टी, वाल्टिमोर काउन्टी र वाल्टिमोर सिटीको केही भाग पर्दछ । उक्त क्षेत्र मेरो वसोवासको क्षेत्र पेरिहल सहित मुख्य मुख्य स्थानहरुमा मिडिल रिभर, पार्कभिल, टाउसन, टिमोनियम, एलिकट सिटी, लक रेभन, ओङ्गिसमिल, रेजिष्टरटाउन, वेष्ट मिनिष्टर, हयामस्टीड, म्यानचेष्टर, टेनीटाउन गरी कूल ९३० वर्ग किलोमिटरको क्षेत्र पर्दछ ।
सन् २०२२ को जनगणना अनुसार ७ लाख ७२ हजार १५३ जनसंख्याको वसोवास रहेको यो क्षेत्रलाई डवल डेमोक्रयाटको रुपमा पनि लिईन्छ । तसर्थ प्राईमेरी निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्वर ५ मा हुने निर्वाचनमा स्वत विजयी हुने संभावना प्रवल रहेको छ ।
नेपालिजमः तपाईको उम्मेदवारीको लागि कति रकम आवश्यक पर्छ ?
डा. भण्डारीः सामान्यतयाः कंग्रेशनल रेसको चुनावी अभियान सञ्चालन गर्नका विगतका उमेदवारहरुले गर्नु भएको खर्चको आधारमा स्वतन्त्र अध्ययनकर्ताहरुले तयार पारेको रिपोर्टको आधारमा १५ लाख डलर देखि २५ लाख डलरसम्मको आवश्यकता पर्ने हुन्छ । यसरी संकलन गरिने रकम चुनावी अभियानको लागि खटिने कर्मचारीहरु, मिडियाको विज्ञापन, प्लायर, मेलर (घर घरमा पटक पटक चिठी मार्फत पठाईने चुनावी एजेण्डा सहितको विवरण), यार्ड साईन तथा ठाउँ ठाउँमा राख्नु पर्ने वोर्डहरुको लागि खर्च गर्नु पर्ने हुन्छ ।
नेपालिजमः हामीले तपाईलाई कसरी सहयोग गर्न सक्छौं ?
डा. भण्डारीः खासमा म अहिले मेरिल्याण्ड जनरल एसेम्वली पनि जारी रहेकोले साह्रै व्यस्त पनि छु । यसैले हजुरहरुले पाउनु भएको म्यासेज, ईमेल वा टेक्स्ट म्यासेजको आधारमा जे जति सक्नु हुन्छ सहयो गर्नुहुन अनुरोध गर्दछु । म विगतमा हजुरहरुले गर्नु भएको साथ र सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । म पूर्ण रुपमा हजुरहरुको उत्प्रेरणा, हौसला र आशीर्वादले नै आजको स्थानमा छु र भविष्यमा हजुरहरु कै साथमा रहने छु ।
हजुरहरुले जति सक्नुहुन्छ यो तलको लिंकमा गएर दिन सक्नु हुनेछः
धन्यवाद!
Comments