top of page

अमेरिकामा अनडकुमेन्टेड आप्रवासी र विदेशी विद्यार्थीहरु बढी प्रभावित हुँदै, कसरी सहयोग गर्न सकिन्छ?

Writer's picture: Nepalism.comNepalism.com


-Rajan Gauli, New York

Exclusive: न्यू योर्क: कोरोनाभाईरस (COVID-19) महामारीको प्रकोपले अहिले विश्व स्तब्ध छ भने हामी नेपालीहरूको बाक्लो बस्ती रहेको अमेरिकाको न्यू योर्क राज्य अन्य राज्यहरूको तुलनामा अत्यन्तै प्रभावित बनेकोछ। फेडेरल र राज्य सरकारको ईमर्जेन्सी आदेशबाटै अत्यावस्यक सेवादेखि बाहेक सबै काम, अफिसहरु बन्द गरिएकोछ भने जनतालाई घरमा नै बस्न भनिएको छ। यसबिच, कानूनीरूपमा स्थायी बसोवास गरेकाहरूकोभन्दा अनडकुमेन्टेड आप्रवासीहरु र अमेरिकामा अध्ययनरत विदेशीविद्यार्थीहरूको अवस्था अत्यन्त फरक छ र उनीहरूको जीवन अझ बढी कष्टकर बन्दैछ। हामी र हाम्रो सामाजिक संघसंस्थाहरूले के कसरी सहयोग गर्न सकिन्छ? यो कुरा झट्ट सोंच्नु पर्ने र सहयोगमा जुटी हाल्नु पर्ने अवस्था तडकारो छ।


हुन त, अमेरिकाको व्यस्त जीवन, हरेकले काम नगरी जिउन नसकिने जीवनपद्दती र संघै कामको चटारो हुने अमेरिकामा रहेका हामी नेपाली अमेरिकनलाई पनि यो अबस्थाले घरमा बसेर परिवारसंग समय बिताउने, आराम गर्ने र मीठोमसिनो पकाई खाने समय मिलेको छ। चिन्ता लिएर बस्नेभन्दा यसरी समय बिताउनु आवस्यक छ। यस समयलाई उपयोग गरेर अझ सर्जकहरुले घेरै सृजनाहरू गरुन्। लेखकहरूले कलम चलाई रहून्। विद्यार्थीहरुले अध्ययन नछाडून्। कसैले करेसाबारीमा काम गरेकाछन् भने त झन कसरत र उत्पादन दुबै हुने भयो। तर यो समय म पुन: दोहर्याउन चाहन्छु कि- हामीले अर्काको कुरा काट्ने, नकारात्मक टिप्पणी र बिरोधकै लागि बिरोध गर्ने र समाज भाँड्ने काम बन्द गरौं। नकारात्मक बानी छाडेर सकारात्मक चिन्तन र मानविय भावनाले अगाडी बढौं। किनकि रोगले को धनी, को गरीव, को ठूलो या को सानो, यो जातको, त्यो जातको, यो वर्ग या लिंगको भन्नेवाला छैन।

यो अवस्थामा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी, परिवार नभनी युद्द क्षेत्रमा जस्तै खटिएर अरुको ज्यान बचाउन तल्स्वालिन स्वास्थ्यकर्मी, प्रहरी, फार्मेसिस्ट, फाएर फाईटर, डेलिभरी गर्नेहरू, स्टोर तथा ग्रोसरी सपका कामदारहरुलाई नमन गर्नै पर्दछ। यस मध्ये म आफै पनि यस कार्यमा frontline मा रहेर काम गर्दैछु र गर्व गर्दछु।


केही दिनदेखि मलाई एउटा कुरा सार्है मनमा आईरह्यो- अमेरिकामा कानूनीरूपमा बस्ने अनुमति नभएका अनडकुमेन्टेड आप्रवासी र विद्यार्थी भिषामा रहेका नेपालीहरुको अहिलेको अवस्था कस्तो होला भन्ने। अमेरिकामा कानूनीरूपमा ग्रिनकार्ड भएका, सिटिजनशीप लिईसकेका र ट्याक्स तिर्दै आएकाहरूले पक्कै फेडरल र राज्य सरकारबाट केही राहत सहयोग पाउने पक्का छ। केहीको आफू काम गर्ने कम्पनीले पनि सहयोग गर्नेछन्। अर्को कुरा, धेरै वर्षदेखि यहीं बसोवास गरेको हुनाले धेर जसोको २,४ महिना खान बस्न पुग्ने केहि बैंक ब्यालेन्स, क्रेडिट कार्ड पनि होला भन्ने अनुमान गर्न सकिन्छ। तर अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थी र अनडकुमेन्टेड आप्रवासीहरुको अवस्था अत्यन्तै फरक र नाजुक छ।


अनडकुमेन्टेड आप्रवासीहरुको अवस्था


अधिकाँस ति व्यक्तिहरु रेस्टुरेन्ट र स्टोरहरुमा काम गर्दै आएका थिए। हाल सबै रेष्टुरेन्ट र धेरै स्टोरहरु बन्द भईसकेको अवस्था छ। अब नियमितरूपमा काम गरेबापत हप्तामा तलब आउने अवस्था छैन। छिट्टै काम शुचारु हुने अवस्था पनि छैन। कमाएको धैरै रकम दलाललाई तिर्ने र वकिलहरुको खर्च र नेपालको परिवारलाई हेरबिचार गर्नु पर्ने हुनाले बचत पनि सायद कमै हुन्छ।अर्को कुरा, यहाँको स्थाई बसोबासको सम्भावना पक्का नहुने हुनाले कमाएको सबै रकम नेपाल पठाउने गरिन्छ।


विदेशी विद्यार्थीहरुको अवस्था


त्यस्तै, विदेशी विद्यार्थीहरुको अवस्था र समस्या पनि उस्तै छ। कलेज बन्द भएको छ। डोर्मर / होस्टोल छाडेर बाहिर बस्नु पर्ने अवस्था छ। सेमेस्टर लम्बिने वा मिस समेत नहोला भन्न सकिदैन। पढाईसंगै केहि समय बचाएर २,४ पैसा कमाउने अवस्था पनि अब रहेन। खान, बस्न र कलेजको ट्युसन फिसलाई लाग्ने खर्च जोहो गर्न पक्कै मुस्किन पर्नेछ।


कसरी सहयोग गर्न सकिन्छ?


यस्तो अवस्था लम्बिदै गएमा अब तत्काल हुने आर्थिक समस्या एकातिर छ भने यसले मानसिकरुपमा पनि कमजोर बनाउने पक्का छ। काम नहुँदा आउने सोचाईहरु, आर्थिक असुरक्षा, दिनदिनै रोग लाग्ने डरको मानसिक चिन्ता, परिवारबाट छुट्दाको एक्लोपनले सताउने पक्का छ। कतिले त एक्लोपन र निरशालाई बिर्सन धेरै मदिरापान गरी कुलत र स्वास्थ्य बिगार्न सक्छन्। कति खासै सामाजिक कार्यमा र भेटघाटमा सहभागी हुने मौका कम पाएका, मन भएर पनि अन्य कारणले बाहिर कम देखिन चाहने हुनाले यो समयमा दु:ख सेयर गर्ने, सघाउने परिवार, साथीभाई, दिदीबहिनी र आफन्त कम हुन सक्छन्।उनीहरुलाई सान्तवना, साथ र सहयोगको यतिखेर खाँचो तडकारो छ।मानसिक रुपमा आत्मबल बढाउनु पर्ने खाँचो हुन्छ। हामी नेपालीहरूको यति धेरै सामाजिक संधसंस्थाहरु छन्। सबै संस्थाले यो सबालमा तत्काल लाग्नु र नेतृत्व लिन सक्नु पर्छ र नेतृत्व लिन ढिला गर्नु हुँदैन।


अब स्थानीयरुपमा सहयोग गर्न हामीहरू तयार हुनु पर्ने छ। अहिलेको अवस्था अझै जटिल हुने संभावना छ। समस्यामा परेकाहरुले कृपया मन मिल्ने साथीभाईसंग सेयर गर्नुहोस्। रोग सर्नबाट बँच्न अधिकतम प्रयास गर्नुस्, सोसल डिस्ट्न्स कायम गरौं। रोग लागि हाल्यो भने पनि परिवार साथीभाईलाई सर्नबाट जोगाउन सम्बन्धित सम्पर्कमा आएकालाई तत्काल जानकारी गरौं। नियमितरुपमा भरपर्दो श्रोतहरु जस्तै: CDC र स्थानिय सरकारले दिने जानकारी अध्ययन गरौं र सजगता अपनाउने उपायबारे जानौं र प्रयोग गरौं।


अब समाजसेवाको नाममा आफ्नो नाम चर्चित बनाउन मात्र या देखावटी सहयोगको अभिनय मात्र हैन, साँच्चै मनदेखि, हृदयदेखि भावनात्मक रुपले सहयोगको लागि तयार होऔं। आर्थिक सहयोगको साथसाथै सान्त्वना र अन्य सहयोगको पनि खाँचो रहन्छ भन्ने बुझौं। रोग सरी हाल्यो भने पनि रोग लागेकालाई सान्त्वना दिने र आत्मबल बढाउनेभन्दा अरु कुनै उपाय छैन। कुनै जिज्ञासा र अन्य कुनै सहयोग चाहिने कोही हुनुहुन्छ भने अफ्ट्यारो नमान्नुस्, मैले पनि सकेको सहयोग गर्नेछु।हाम्रो समाजमा यतिका संघसंस्थाहरु छन् र पक्कै पनि सबैले आपदमा सहयोग गर्नेछन्। समुदायमा धेरै सच्चा मनकारीहरु र सहयोगी पनि हुनुहुन्छ भन्ने नभुलौं। सजग र होसियार होऔं, सोसियल डिस्टेन्स मेन्टेन्स गरौं।🙏


नोट: लेखक राजन गौली Long Island Nepalese Society, New York का उपाध्यक्ष र न्यू योर्कमा सकृय सामाजिक अभियन्ता हुन्।

 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page