न्यू योर्क निवासी संचारकर्मी किशोर पन्थीद्वारा लिखित अमेरिकी सपना देख्नेहरूको लागि “जिरो माइल” प्रकाशित भएकोछ। अमेरिकी आप्रवासी (ईमिग्रेसन) क़ानूनी प्रावधानहरूबारे नेपाली भाषामा टिप्सकोरूपमा प्रस्तुत गरिएको कृतिका लेखक पन्थीको यस अघि नेपालमा गएको महाभूकम्प सम्बन्धि कृति “कम्पन” प्रकाशित भैसकेको छ भने उनी खसोखासका प्रधाम सम्पादक पनि हुन्। भर्खरै मानार्थ पिएचडीबाट समेत सम्मानित लेखक डा. पन्थी आप्रवासी रिपोर्टिंगका लागि खुव रूचाईएका नेपाली संचारकर्मी हुन्।
कृति लोकार्पणसंगै आषिस खनाल फाउण्डेसन स्थापना
यसै साता काठमाण्डूमा लोकार्पण गरिएको जिरो माईलसंगै अल्पायुमै निधन भएका २६ वर्षीय उनका भान्जा आषिस खनालको नाममा फाउण्डेसन स्थापनाको घोषणा गरिएको छ। जिरो माईलको काठमांडूमा टाईपसेटिंग र प्रकाशन तयारी हुँदा संचारकर्मी किशोर पन्थी न्यू योर्कमा थिए।पन्थीको अनुपस्थितिमा यिनै भान्जा आषिस खनालले आफ्ना मामाको हरकामको चाँजोपाँजो मिलाउने गरेका थिए। अर्थात, आषिस मामाको दाहिने हात थिए र नेपालमा देख्ने आँखाको नानी थिए। तर गत मार्च २ तारिख आषिसको असामयिक निधन भयो। भान्जा आकस्मिक आईसियूमा राखिएपछि लेखक पन्थी मार्च १ तारिख जिरो आवरको तयारीमा नेपाल फर्किएका थिए। जिरो माईलको प्रकाशन र लोकार्पणको तयारीमा लागेका आफ्नो प्रिय भान्जा आषिसको अवसानको यो बज्रपातपछि पन्थीले कृति लोकार्पण एक महिना पछि सारेर जिरो माईलको तेस्रो पृष्ठमा भान्जा आषिसको तस्विर प्रकाशित गरी कृति समर्पित गरे। र, अकल्पित दुखान्तपछि जिरो माइलसंगै भान्जा आषिस खनालको नाममा फाउण्डेसनको स्थापना गरेर सकल परिवारजनमा कहिल्यै नपुरिने दुखेको घाउमा मल्हमपट्टी लगाउने प्रयास गरे। वास्तवमा, आफ्ना भान्जाकै कल्कलाउँदो उमेरमा मातृभूमि छोड्न विवस लाखौं नेपाली युवाहरूको सपनाको देश र कर्मथलो बनेको अमेरिकाको अध्यागमन कानून सम्बन्धि किशोर पन्थीको यो कृति तिनै युवाहरूप्रतिको सच्चा समर्पण हो भन्दा अतिशयोक्ति हुनेछैन।
जिरो माइलः आप्रवासी यात्राको शुरूवात र गन्तव्यको कडी
जिरो माइलमा संचारकर्मी पन्थीले खसोखासमा रिपोर्टिंग गरेका दर्जनौं चर्चित रिपोर्टाजहरूको समावेश गरेकाछन्। यो कृतिमा नेपालबाट अमेरिका आउनु अघि र अमेरिका आईसकेपछि जान्नै पर्ने टिप्सहरू समेटिएकाछन्। पृष्ठ २८२ रहेको जिरो माइलमा १११ वटा अमेरिकी आप्रवासी कानूनी प्रावधानहरूबारे जानकारी दिईएकोछ। अमेरिकी कानूनबारे यति धेरै विषयवस्तु समेटेर निकालिएको यो पहिलो संग्रहणीय कृति हो।
Comments