top of page

मैले विताएका विपश्यना ध्यान शिविरमा ती दश दिनः आन्तरिक शान्तिको यात्रा र आत्म रूपान्तरणको अनुभव

Writer's picture: Nepalism.comNepalism.com

Updated: Dec 22, 2024

by Lhakpa Gelu Sherpa

Exclusive: मैले गत वर्ष काठमाडौं पुगेर लिएको  विपश्यना ध्यानको स्वर्गिक अनुभव उतिखेरै लेख्न सक्थें तर मैले समयको परिपक्वतासँगै ढिलाइ गर्ने निर्णय गरें। एक वर्षसम्म त्यो ध्यान साधनालाई निरन्तरता दिएपछि म भित्रको भित्री संसारमा के कस्ता परिवर्तनहरू अंकुरित हुन्छन् भन्ने बुझ्न मलाई खुव मन थियो। यो वर्षभरि बिहानको शान्ति र साँझको निस्तब्धताभित्र म प्रत्येक दिन एक घण्टा विपश्यनाको ध्यानमा डुबें। आज अन्तरास्ट्रिय ध्यान दिवसका दिन म त्यो स्मरणीय क्षणमा फर्किएको छु, जतिखेर मैले १० दिन लामो विपश्यना कोर्स पूरा गरेको थिएँ—एक यस्तो यात्रा, जसले मेरो जीवनलाई नयाँ र गहिरो अर्थ प्रदान गर्‍यो।


विपश्यना (Vipassana) को अर्थ हो—भित्रको कुरा गहिरो रूपमा हेर्नु, अथवा कुनै पनि वस्तुलाई जस्ताको तस्तै हेर्नु। यसले आफ्नो जीवनको वास्तविक स्वरूप बुझ्न र मनलाई शुद्धीकरण गर्न मद्दत गर्दछ। विपश्यना अभ्यासले मनको पीडाबाट मुक्त गराएर सन्तुलित र शान्त जीवन जिउन सिकाउँछ। करिब २५६८ वर्ष पहिले, भगवान बुद्धले प्रचलित विभिन्न ध्यान विधिहरूको अभ्यास गरे, तर सन्तोष प्राप्त भएन। अन्ततः आफैंले खोजेको र अभ्यास गरेको विधि, जसले निर्वाणमा पुर्‍यायो, त्यहीं विपश्यना थियो।


विपश्यनाका बारेमा मैले तीन दशकअघि नै सुनेको थिएँ। यस बीचमा विभिन्न ध्यान विधिहरू अभ्यास गरें। यी सबै विधिहरूका आफ्नै विशेषता र फाइदा हुँदा हुँदै पनि मैले खोजेको गहिरो आत्म-अनुभूति भने प्राप्त गर्न सकेको थिइनँ। त्यसैले, निरन्तर खोजी जारी राखें। दलाई लामा, मिङ्युर रिन्पोछे, सदगुरु, डा. जो डिस्पेन्सा, र डा. दीपक चोप्राका ध्यान सम्बन्धी थुप्रै पुस्तकहरू अध्ययन गरें। सन् २०२३ मा साथीहरूसँग नेपाल भ्रमण गर्ने योजना बनाउँदै गर्दा बुढानिलकण्ठस्थित धर्मश्रृङ्ग विपश्यना ध्यान केन्द्रमा १० दिने ध्यान शिविरको लागि आवेदन भरेँ। यसअघि २०२२ मा पनि प्रयास गरेँ, तर स्थान उपलब्ध नभएकाले सम्भव भएन। यो पटक भने नेपालको विभिन्न ठाउँको यात्रा सकेपछि, अन्ततः १० दिनको विपश्यना अभ्यासको अवसर प्राप्त गरें।


धर्मश्रृङ्ग विपश्यना ध्यान केन्द्रमा जाने दिन मेरो मन उत्साहले भरिएको थियो। बिहान मैले ध्यानका लागि चाहिने आवश्यक कपडा र सामग्री पोको पारें। करिब दिउँसो एक बजे घरबाट धर्मश्रृङ्गतर्फ लागें। दिउँसो २ बजे ध्यान केन्द्रमा पुग्दा, गेटभित्र छिर्नासाथ एक प्रकारको शान्ति र आनन्दको अनुभूति भयो।


ध्यान केन्द्रको गेटभित्र साधकहरूको लामो लाइन थियो। म पनि लाइनमा बसेँ। स्वयंसेवकहरूले छ-सातवटा टेबलमा साधकहरूको सेवा गरिरहेका थिए। मेरो पालो आएपछि, नाम, फोटो, र परिचयपत्र जाँच गरे। प्रत्येक दिनको कार्यतालिका, कोठा नम्बर, र मेरो सिट नम्बर प्रदान गरे। त्यसपछि मलाई माथिल्लो तलामा गुरुजी (आचार्य) लाई भेट्न पठाइयो। आचार्यज्यूले ध्यानका नियम र शिविरमा हुनसक्ने कठिनाइहरूबारे जानकारी दिनुभयो। वहाँले प्रश्नहरू सोध्नु भयो र मैले सबैको उत्तर दिएँ। वहाँले भन्नु भयो, "यो विधि कठोर छ। यदि नसकिने जस्तो लाग्छ भने अहिले नै छोड्नु राम्रो हुनेछ।"


मैले लामो समयदेखि यो ध्यान गर्न चाहेको थिएँ। आफ्नो दृढ प्रतिबद्धता जनाउँदै भनेँ, "जस्तोसुकै परिस्थितिमा पनि म यो कोर्स पूरा गर्छु।" त्यसपछि गुरुजीले दिउँसो ३ बजेबाट आर्य मौनको अभ्यास गर्न र पाँचशीलको पूर्ण पालना गर्न सल्लाह दिनु भयो।


आर्य मौन भनेको केवल मौन बस्नु मात्र होइन। यसमा बोल्न, आँखाले संकेत गर्न, वा हातले इशारा गर्नसमेत अनुमति छैन। केवल अत्यावश्यक अवस्थामा स्वयंसेवक वा गुरुहरूसँग सम्पर्क गर्न सकिन्छ।


पाँचशीलमा भनेका छन्:


१. कुनै पनि प्राणीलाई हिंसा नगर्नु।

२. मादक पदार्थ, सुर्तिजन्य वस्तु, वा लागूपदार्थ सेवन नगर्ने।

३. कुनै प्रकारको यौन गतिविधिमा संलग्न नहुने।

४. चोरी नगर्ने।

५. झुटो नबोल्ने।


त्यसपछि आफ्नो सामान लिएर कोठातर्फ लागें। कोठामा जानुअघि मैले मेरो इलेक्ट्रोनिक सामग्री, घडी, वालेट, किताब, र अन्य सबै वस्तुहरू डिपोजिट गरेर सुरक्षित राखें। मेरो कोठा तीन तलामा रहेको थियो र अट्याच बाथरूमसहितको साधारण सिंगल कोठा थियो। कोठामा एउटा सामान्य बेड, दसनाका लागि पातलो सिरक, सिरानी, र च्यादर राखिएको थियो। केही समय आराम गरेपछि मैले बाथरूम सफा गर्नु पर्ने देखेँ, त्यसैले त्यसलाई सफा गरें। यसपछि म बगैंचामा निस्कें, जहाँको वातावरण एकदम शान्त र रमाइलो थियो। मलाई अर्कै दुनियाँमा पुगेको जस्तो लाग्यो।


केही साधकहरू खुसुक्क कुरा गर्दै थिए भने केही टोलाएर बसेका थिए। म पनि बगैंचाका फूल र बिरुवाहरू हेर्दै आनन्द लिइरहेको थिएँ। त्यतिन्जेल एक जना भाइ आएर मसँग सोधे, “दाइ, बेलुकीको ओरिएन्टेसन क्लास कुन हलमा हुन्छ?” म चुप लागेर बसें, किनभने म गुरुको निर्देशनअनुसार आर्य मौनमा बस्न थालेको थिएँ। मनमनै चिसो लागेको थियो, "त्यो भाइले मलाई के सम्झ्यो होला?" भनेर सोच्न थालेँ। तर मैले आफैँसँग भनेँ, “ठीकै छ, शिविर सकेपछि म माफी माग्छु।”


साँझको ओरिएन्टेसन क्लासपछि म भोलि बिहानको तयारीमा जुटें। शिविरको नियमअनुसार ९:३० बजे कोठाको बत्ती निभाउनु पर्ने थियो, त्यसैले म ९:०० बजे नै बेडमा पसें र निदाउने प्रयास गरें। निदाउनका लागि केही समय लाग्यो। नयाँ ठाउँ, त्यसमा पनि पातलो दसनामा पल्टिँदा शरीर असहज महसुस भयो। तर, मैले आफूलाई शान्त बनाउँदै निदाउन कोशिश गरि रहेँ।


पहिलो दिन


बिहान ठ्याक्कै ४ बजे मधुर र शान्त धुनको घन्टी बज्यो। बेडबाट उठेर फ्रेश भएर धम्म हलतिर लागें। सबै साधकहरू चुपचाप धम्म हलमा प्रवेश गर्दै थिए। म पनि आफ्नो सिट खोजेर बसेँ। हल खचाखच भरिएको थियो र त्यहाँ एक किसिमको आनन्द र उल्लासको अनुभूति भइरहेको थियो। यति धेरै साधकहरूको बीचमा ध्यान गर्ने मेरो पहिलो अनुभव थियो।


केही समयपछि आचार्यज्यूहरू आएर शान्तिपूर्वक आफ्नो सिटमा बसे। ४:३० बजे आचार्य सत्य नारायण गोएन्का ज्यूको स्वरमा भजनबाट अनापना ध्यान सुरु भयो। आचार्यले नाकका दुबै प्वालको बीचमा केन्द्र बनाएर श्वासलाई स्वाभाविक रूपमा हेर्न निर्देशन दिनु भयो। श्वासको आगमन र निर्गमनमा ध्यान दिन, नाकको टुप्पामा तातो, चिसो, चिलाउने वा अन्य अनुभूतिहरू कस्तो छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने निर्देशनले मलाई एकाग्र बनायो।त्यो दिन नयाँ परिवेश, नयाँ अनुशासन, र मौनताको कठोर आडम्बर। जीवनभरि दौडिरहने मनलाई आज पहिलो पटक एक स्थानमा बाँध्नुपर्ने दिन थियो। निदान, बिना शर्त।


धम्म हलको शान्त वातावरणमा जब मैले ध्यानस्थ हुन आँखा चिम्लिएँ, तब बाहिरी संसारको हलचल मभित्रको एउटा विशाल समुद्रलाई बिथोलिरहेको थियो। श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने गुरुको निर्देशन थियो, तर मेरो मन? त्यो त अनियन्त्रित थियो—पुराना स्मृतिहरू, भविष्यका चिन्ताहरू, न्यू योर्कको परिवार र काम र अकस्मात् प्रकट हुने भावनाहरूको अव्यवस्थित झंझावात।


"म किन यहाँ छु? के यो ध्यानले वास्तवमै जीवन बदल्न सक्छ?" यस्ता प्रश्नहरूको अनन्त शृंखला। धेरै बेरसम्म मेरो चेतना दुई धारमा फाटेको जस्तो लाग्यो: एक धार—(आचार्य ) गुरुका शब्दलाई अनुसरण गर्ने प्रयास। दोस्रो धार—मनका अनियन्त्रित विचारहरूको बाढी। समय बित्दै जाँदा, म स्वाशको ध्वनिलाई सुनि रहें। सुरुमा त्यो केवल स्वाशको आगमन र प्रस्थान थियो। तर, के केहि अनौठो थियो? त्यस स्वाशसँगै मेरो मनका केही गहिरा तहहरू विस्तारै उजागर हुँदै थिए। केही समयमै मेरो खुट्टा असहज भयो। मेरुदण्डको पीडा मलाई चिच्याउन उक्साउँदै थियो। ध्यानका बीचमा केही साधकहरू खोकिरहेका थिए, केही चिउँडो ठटाउँदै थिए, र नजिकैका एक साधकको पेट कराएको आवाज स्पष्ट सुनेँ। फेरी आँखा बन्द गरें। स्वासलाई भित्र तानें। तर त्यो स्वाश शरीरभन्दा गहिरो प्रविष्ट गर्न सकेन। मन झन् चञ्चल भयो।तर गुरुले भनेझैं— "यो पीडा स्थायी होइन। यसलाई केवल हेर। त्यसलाई भाग्न नदेऊ, न त उसलाई रोक्न खोज।" मैले त्यो पीडालाई हेरि रहें। जस्तो कि म बाहिर बसेर कुनै चलचित्र हेरिरहेको थिएँ, र, त्यो चमत्कार भयो। पीडा विस्तारै हराउँदै गयो।  मेरो ध्यान पहिलेभन्दा गहिरो हुँदै गयो।


६:३० बजे  ध्यान समाप्त भयो र सबैजना बाहिर निस्केर ब्रेकफास्टको लागि लाइनमा उभिए। ध्यानबाट बाहिर निस्कँदा, मैले जीवनमा पहिलो पटक साँच्चिकै आफ्नो श्वास महसुस गरें। सासको प्रत्येक आगमनले मेरो अस्तित्वलाई नयाँ जीवन दिएको जस्तो लाग्यो। प्रत्येक प्रस्थानले मेरो भित्रका बोझलाई हटाएर अनन्तमा विलीन गरिरहेको अनुभव भयो। बाहिर चिसो हावा र हरियाली जंगलका बीचमा सूर्यको किरणले वातावरण रमाइलो बनाएको थियो। ब्रेकफास्ट हलमा पुगेपछि धेरै प्रकारका परिकार देखिए। चिया, दूध, ग्रीन टी सबै उपलब्ध थिए र सबै परिकार शाकाहारी थिए। मलाई शाकाहारी परिकारले विशेष शान्ति दियो।

ब्रेकफास्टपछि मैले केही समय बगैंचामा हिँडेर बिताएँ र कोठा सफा गरें। त्यतिबेला घन्टी बज्यो र सबै साधकहरू फेरि धम्म हलमा जान थाले। बिहानको ध्यान फेरि नाकको श्वासप्रश्वासमा केन्द्रित थियो। यो समयमा मेरो ध्यानमा केही असहजता देखिए पनि मैले ध्यानलाई श्वासमै फर्काएँ। ध्यानको अवधिमा साधकहरूले ठूलो स्वरमा डकार दिए, केही ग्यास पनि फाले, तर मैले यी सबैलाई बेवास्ता गर्दै ध्यानमा एकाग्रता बनाइराखेँ।


९:०० बजेदेखि १०:०० बजेसम्म साधकहरूले हलमा वा आफ्नो कोठामा ध्यान गर्ने अनुमति पाए। मैले हलमै बसेर ध्यान जारी राखें र नाकको टुप्पामा केन्द्रित हुँदै गहिरो एकाग्रता अनुभव गरें। ११:०० बजेको घन्टीले लन्चको समय भएको सूचना दियो। लन्चमा स्वादिष्ट शाकाहारी परिकारहरूका कारण मलाई न्यू योर्कका पार्टीहरूको झल्को आयो। लन्चपछि एक घण्टाको ब्रेक थियो, जसमा साधकहरूले गुरुहरूसँग आफ्ना प्रश्न सोध्न सक्थे। मैले भने बगैंचामा घुम्दै फूल र बिरुवाहरूको आनन्द लिँदै आफ्नो अनुभवको प्रशंसा गरें।


बगैचामा खेलिरहेका मौरी, पुतली, र अन्य कीरा फट्याङ्ग्राहरूलाई हेर्न रमाइलो लाग्थ्यो। उनीहरू जस्तो साना संसारमा रमाउँदै, जीवनका खुशीका पाठ सिक्ने एउटा शान्त अनुभव थियो। मलाई लाग्थ्यो, कस्तो राम्रो हुन्थ्यो होला तिनीहरूको संसारमा हराएर रमाउन। बगैंचाका फूल र बिरुवाहरूलाई हेर्दै त्यसको सौन्दर्यमा रमाइरहेको थिएँ। यो समय निकै शान्त र सन्तोषजनक थियो।


त्यही समयमा, १:०० देखि २:३० बजेसम्म सुरु हुने ध्यानका लागि घन्टी बज्न थाल्यो। सबै साधकहरू धम्म हलमा जम्मा भए, र ध्यान सुरु गरियो।


यस समयमा मेरो ध्यान पहिलेका सत्रहरूको तुलनामा केही फरक महसुस भइरहेको थियो। श्वासप्रश्वासमा एकाग्रता बढेको थियो, र श्वासको आगमन र निर्गमनको अनुभूति स्पष्ट र बलियो भइरहेको थियो। नाकको टुप्पामा हुने संवेदनालाई पनि म सजिलै महसुस गर्न सक्थें। तर, बेला-बेला मेरो मन अन्य विचारहरूमा रमाउने गर्थ्यो, र कतिपय पलहरूमा निन्द्राले पनि सताउँथ्यो। केही साधकहरू हलमा गुन्गुनाउँदै र अन्य क्रियाकलाप गर्दै थिए।


मैले चैं जस्तोसुकै कठिनाइ आए पनि ध्यानमा निरन्तर लागिरहेको थिएँ किनभने मेरो लक्ष्य ध्यानलाई सफलतापूर्वक पूरा गर्नु र आफैँलाई रूपान्तरण गर्नु थियो।स्पिकरबाट सत्य नारायण गोएन्का गुरुको आवाज सुन्ने समयको प्रतीक्षा रहन्थ्यो। गुरुका बचनहरू धेरै गहिरा र शिक्षाप्रद हुने गर्थे । ध्यानका बीचमा केही साधकहरू खोक्दा, हाच्छ्युँ गर्दा, वा ससाना आवाज गर्दा मेरो ध्यानमा अवरोध आउने डर हुन्थ्यो। तर, मैले फेरि मेरो ध्यान श्वासमै केन्द्रित गर्न सक्थें।


समयसँगै २:३० बजे घन्टी बज्यो, र सामूहिक ध्यान अभ्यास सुरु भयो। ३:३० देखि ५:०० बजेसम्म मैले आफ्नै कोठामा ध्यान गर्न थालेँ। तर धम्म हलमा जस्तो अनुभव भएन, किनकि कोठामा ध्यान गर्दा ढोकाको चुकुल लगाउन पाइँदैन थियो। स्वयम्सेवकहरूको चेकजाँचले मेरो एकाग्रता भङ्ग गर्न थाल्थ्यो। त्यसपछि, बाँकी दिनहरूमा मैले हलमै ध्यान गर्ने निर्णय गरें।


५:०० बजे चिया ब्रेक हुन्थ्यो। नयाँ साधकहरूको लागि चिया, दूध, फलफूल, बिस्कुट, र भुजिया राखिएको थियो। तर, पुराना साधकहरूको लागि कागती पानी मात्र थियो।


६:०० बजे सामूहिक ध्यान फेरि सुरु भयो। त्यसपछि, ७:०० बजे सत्य नारायण गोएन्का गुरुको प्रवचन सुरु हुन्थ्यो। म अङ्ग्रेजी समूहमा सहभागी भएकाले प्रवचन अङ्ग्रेजीमा सुन्ने अवसर पाउँथें। प्रवचनहरू अत्यन्त ज्ञानवर्धक र जीवन परिवर्तन गर्ने खालका हुन्थे।


त्यसपछि, ८:१५ देखि ९:०० बजेसम्म फेरि सामूहिक ध्यान हुन्थ्यो। अन्ततः ९:०० बजे त्यो दिनको ध्यान समाप्त हुन्थ्यो। म थकित तर शान्त मनले कोठामा फर्कन्थें।

कोठामा पुग्दा, शरीर थाकेको महसुस हुन्थ्यो, तर मन शान्त र शुद्ध भएको अनुभव हुन्थ्यो। ९:३० बजे बत्ती निभाएर ओछ्यानमा पल्टिँदा मनलाई विश्राम दिने क्रममा शान्तिको अनुभूति झन् बढ्थ्यो।  यो दिनले मलाई सिकायो कि शान्ति खोज्न पर छैन। शान्ति त यहीं छ—यस क्षणमा। केवल हाम्रो चञ्चल मनलाई स्थिर पार्नुपर्ने रहेछ। ध्यान भनेको केही फेला पार्नु होइन रहेछ।  ध्यान भनेको केवल आफूबाट भाग्न बन्द गर्नु पर्ने रहेछ। पहिलो दिनको अन्त्यमा म यो मौनतालाई अँगाल्न तयार भएँ र त्यतिकै निदाएको पत्तै भएन।


प्रत्येक दिन पहिलो दिनको झैं समयको कार्य तालिकामै चल्नु पर्थ्यो।


दोस्रो दिन


बिहान चार बजेको शीतल घन्टीको धुनले निद्राबाट बिउँझनु, आफ्नो खोलबाट बाहिर निस्किएझैं लाग्यो। निद्राको आलस्य हटाउँदै चिसो पानीले अनुहार पखाल्दा, भित्री उत्साहसँगै हल्का तनाव पनि महसुस भयो। धम्म हलमा सबै साधकहरूको सन्तुलित अनुहारमा शून्यता र एकाग्रता देखिन्थ्यो। म पनि आफ्नो सिटमा गएर बसें।


दोस्रो दिनको ध्यान अभ्यासको सुरुवात पनि पहिलो दिनको जस्तै अनापानाबाट नै भयो। “नाकको टुप्पोमा ध्यान दिनुहोस्,” गोएन्का गुरुको गहिरो आवाज आयो। श्वासप्रश्वासको स्वाभाविक आगमन-निर्गमनको स्पर्शमा ध्यान केन्द्रित गर्नु पर्ने निर्देश सुन्दै, म श्वासलाई नियाल्न थालें। तर मनको प्रकृति फरक थियो। विचारहरू भीषण छालजस्तै एकपछि अर्को गर्दै उर्लिएर आउँथे। कहिले भविष्यका योजना, कहिले विगतका तीतामीठा स्मृतिहरू। कहिले परिवार र सम्बन्धको गहिरो सम्झना, कहिले साधारण कुरा—के खाइने होला, किन ध्यानमा बसिएको होला भन्ने जस्ता। म अलमलिन्थें, तर फेरि आफूलाई सम्झाउँदै श्वासतर्फ ध्यान पुर्‍याउँथें।


ध्यानका बीचमा शरीरले आफ्नै कथा सुनाउन थाल्यो। घुँडाका दुखाइ, ढाडका असहजता, र खुट्टाको चिलाउने अनुभव। यी सबैले मलाई अड्काउँदै, ध्यानमा अवरोध गर्न खोजे। तर गुरुका शब्दहरू फेरि गुञ्जिए—“कुनै पनि अनुभूतिलाई केवल अवलोकन गर्नुहोस्, प्रतिक्रिया नगर्नुहोस्।” मैले ती दुखाइ र असहजतालाई चुपचाप नियाल्न थालेँ। विस्तारै ती अनुभवहरू परिवर्तन हुँदै गए। मन कहिले अन्योलमा, कहिले शून्यतामा। कहिले श्वासमा पूर्ण एकाग्रता सम्भव हुन्थ्यो, र कहिले विचारहरूले टुक्राटुक्रा बनाउँथे। तर ती प्रत्येक क्षण आफैँसँगको संवादजस्तै लाग्यो। मनलाई सम्झाउने, श्वासमा फर्काउने, र क्षणिक शान्तिको आनन्द लिने प्रक्रिया चलिरह्यो। बिहानको ब्रेकपछि, हलको बाहिर हरियालीले छोपेको बगैंचामा हिँड्दा, श्वासको हलचल अझै पनि भित्रभित्रै चलिरहेको अनुभव हुन्थ्यो। बगैंचाका फूल, मौरी र पुतलीहरूले त्यो पलको सौन्दर्यतर्फ ध्यान तान्न खोजे पनि मन आफैँलाई सम्झाउन थाल्थ्यो—“म यहाँ आफूलाई भित्रबाट जान्न आएको हूँ, बाहिर होइन"।


दोस्रो दिनको सबभन्दा महत्वपूर्ण पाठ थियो—“धैर्यता।” कसरी विचारहरूले मनलाई चलायमान बनाउँछन् र कसरी ध्यानले मनलाई शान्त तुल्याउन सक्छ भन्ने बुझ्न थालेको दिन थियो। यो केवल ध्यानको प्रक्रिया थिएन; यो मन र शरीरबीचको गहिरो संवादको सुरुवात थियो।


श्वासको गति र शरीरका संवेदनाहरूमा एकाग्रता गर्न सक्ने पलहरू, र त्यो यात्रामा आइपर्ने कठिनाइहरू। दोस्रो दिनमा मैले सिकें। यो यात्रा सहनशीलताको थियो—आफ्नो मनलाई छाडा घोडाझैं दौडिन नदिने अठोटको।


बेलुकीको ध्यान र प्रवचन सत्र सकिएपछि, कोठामा फर्किंदा शान्तिको सानो तर महत्त्वपूर्ण अनुभूति थियो। “आज मैले केही सानोतिनो विजय प्राप्त गरेँ,” भनी मनमनै मुस्कुराएँ। दोस्रो दिनले मलाई एउटा नयाँ समझ दियो—मनको प्रकृतिलाई नजिकबाट बुझ्ने र त्यसलाई स्वीकार्ने क्षमताको।“यही सिकाइले भोलिका दिनहरूमा अझै गहिराइमा डुब्न मद्दत गर्ला,” भन्ने विश्वास लिएर निद्रामा डुब्न पुगेँ।


तेस्रो दिन


आफैँसँगको यो मौन यात्राको तेस्रो पाइलो। बिहानको ४:०० बजेको शान्त घन्टीले भित्रको अँध्यारोलाई उज्यालो बनाउँदै मलाई फेरि उठायो। मनमा सानो डर थियो—आफ्नै छायासँग अझै गहिराइमा जानु पर्ने। “के म भित्रको कोलाहललाई सामना गर्न सक्छु?” यस प्रश्नले मलाई हलसम्म पुर्‍यायो।


ध्यानको सुरुवात सधैंझैं अनापानाबाट भयो। नाकको टुप्पोमा ध्यान केन्द्रित गर्दै, श्वासको आउने-जाने प्रक्रियालाई सूक्ष्म रूपमा नियाल्न थालेँ। तर, तेस्रो दिनको अनुभूति फरक थियो। जसरी नदिका सतहमा तरङ्गहरू विस्तारै शान्त हुँदै तलको तलछट देख्न थालिन्छ, त्यसैगरी मनको हलचल शान्त हुँदै जाँदा, म शरीरका संवेदनाहरूलाई महसुस गर्न थालेँ।


पहिलो पटक मैले थाहा पाएँ—शरीरका हरेक अंशमा संवेदनाहरू कति सूक्ष्म छन्। कहिलेकाहीँ नाकको टुप्पोमा हल्का चिलाउने अनुभूति, कहिलेकाहीँ माथिल्लो ओठमा चिसो हावाको स्पर्श। श्वास तान्दा केही शितल र फाल्दा केही न्यानो अनुभव,  यी संवेदनाहरू जति गहिरो गरी महसुस गर्न थालें, मन पनि उत्तिकै स्थिर हुँदै गयो। तर, सजिलो भने थिएन। मन अझै पनि आफ्नो पुरानो बानी अनुसार छरपष्ट हुन्थ्यो। कुनै क्षणमा पुराना यादहरू, कुनै क्षणमा बिनाकारण डर, त कुनै बेला असहजताको चाङ। गुरुका शब्दहरूले मेरो यात्रालाई दिशा दिइ रहे—“केवल अवलोकन गर्नुहोस्, कुनै प्रतिक्रिया जनाउनु पर्दैन। संवेदनाहरू आउँछन् र जान्छन्। ती स्थायी होइनन्।”


यही निर्देशनले मलाई मार्ग देखायो। शरीरका असहजता—घुँडाका दुखाइ, ढाडको तन्काइ, र खुट्टाको झमझम। यी सबैलाई म बिस्तारै ‘मेरो’ नभएर, केवल शरीरको अनुभवजस्तै नियाल्न थालेँ। दुखाइले मलाई कहिलेकाहीँ चिच्याउन बाध्य बनाउन खोज्यो, तर म चुपचाप बसेर त्यो अनुभवलाई भोगि रहेँ।


दिनभरि ध्यानको अन्तरालमा एउटा गहिरो कुरा बोध भएजस्तो लाग्यो। शरीर र मनका हरेक अनुभव क्षणिक छन्। दुःख पनि स्थायी होइन, सुख पनि होइन। यी सबै केवल उत्रँदै-झर्र्दै गरेका बादलजस्तै लाग्न थाले। अचानक, मनमा एउटा गहिरो शान्तिको अनुभूति भयो। त्यो शान्ति कुनै बाहिरी संसारको चीज थिएन—यो त मेरो भित्रैको स्थायित्व थियो, जसलाई मनको हलचलले मात्र लुकाएको थियो।


बेलुकीपख ध्यान समाप्त भएपछि आकाशको तारा हेर्दै बगैंचामा केही बेर टहलें। म भित्र एउटा विचार खेल्न थाल्यो—“जिन्दगी पनि त यस्तै हो। सुख-दुःखका संवेदनाहरू आउँछन्, जान्छन्। हामी केवल तिनलाई अवलोकन गर्न सिक्नु पर्छ, प्रतिक्रिया जनाउन होइन।”


तेस्रो दिनले मलाई यो पाठ दियो—मन र शरीरका संवेदनाहरू क्षणिक हुन्। दुखाइ र असहजता होस्, वा शान्ति र आनन्द—सबै परिवर्तनशील छन्। यिनीहरूलाई ‘मेरो’ भन्ने धारणा हटाउन सके, साँचो शान्तिको अनुभव सम्भव छ। राति बिस्तारामा पल्टिँदा, मन हलुको महसुस भयो।


“मैले केहि बुझ्दै छु,” मैले मनमनै भनेँ। अनि, एउटा गहिरो निद्रामा हराएँ।


चौथो दिन


समयले अब कुनै अर्थ राख्न छाडेको थियो। बिहानको चार बजेको घन्टीले आँखालाई त खोल्यो, तर मनमा समयको बोध छैन—के यो बिहान हो, या रातको लम्बाइ? मलाई थाहा थियो, यो यात्रामा भोलि भन्ने कुनै अस्तित्व छैन।


आज विशेष दिन थियो। गुरुका निर्देशनमा नयाँ अभ्यास सुरु गर्नु पर्ने। अनापानाको गहिराइबाट अगाडि बढेर अब शरीरभरिका संवेदनालाई अनुभव गर्ने, अवलोकन गर्ने—यसरी नै शुद्ध आत्मतर्फको यात्रा गर्नु पर्ने। ध्यानस्थ भई बसेँ। आँखा बन्द गरेर श्वासको स्पर्शलाई मात्र अनुभव गर्न थालेँ।

“शरीरको टाउकोदेखि पैतालासम्म यात्रा गर,” गुरुका निर्देशनले मनको बाटो खुलायो। शुरुमा शरीरका यी शुक्ष्म संबेदनाहरुलाई पत्ता लगाउन गाह्रो भयो। बिस्तारै ध्यानको दृष्टि टाउकोको माथिल्लो सानो भागमा केन्द्रित भयो। त्यहाँ कुनै चिलाउने, तातो, चिसो, वा दबाबको महसुस भयो। त्यसपछि म त्यो संवेदनालाई छोडेर अर्को भागतिर अघि बढें।


तर, यो सजिलो थिएन। कतिपय भागमा संवेदनाहरू तीव्र थिए, कतिपय भागमा पत्ता लगाउनै सकिन —जसले मलाई असहज बनायो। घुँडामा दुखाइ, ढाडमा टेको लगाउन खोज्ने स्वभाव, र खुट्टाको झमझमाहट। तर, कतिपय भाग एकदम सुन्निएका लागे, संवेदनाविहीन। त्यो शून्यता नै ठूलो चुनौती थियो। मनले ती खाली भागमा भर्न खोज्थ्यो—स्मृतिहरू, इच्छाहरू, र कल्पनाहरू।


गुरुका शब्दहरू फेरी मेरो कानमा गुञ्जिए—“मात्र अवलोकन गर्नुहोस्। कुनै आसक्ति नगर, कुनै घृणा नगर। यो सबै क्षणिक छ।”

मैले ती सबैलाई तटस्थ भावनाले हेर्न थालेँ। दुखाइ त थिए, तर ती केवल शरीरका तरङ्ग हुन्। शून्यता थियो, तर त्यो पनि अस्थायी।


धेरै बेरको अभ्यासपछि, केही अद्भुत महसुस भयो। मेरो शरीर केवल हाड-मासुको संरचना होइन; यो त संवेदनाहरूको महासागर रहेछ। टाउकोदेखि पैतालासम्म, हरेक भागमा कुनै न कुनै प्रकारको तरङ्ग चलिरहेको रहेछ। केही क्षणको लागि, म शरीरबाट अलग भएर ती तरङ्गहरूलाई ‘बाहिर’ बाट नियाल्दै थिएँ। यो अनुभव मात्र भौतिक थिएन। मनका गहिराइमा दबिएका भावना, पुराना दुःख, र अज्ञात डरहरू, ती सबै शरीरका संवेदनामा प्रतिबिम्बित भइरहेका रहेछन्। जति-जति म ती संवेदनाहरूमा केन्द्रित हुँदै गएँ, त्यति-त्यति ती भावनाहरू पनि उजागर हुँदै गए।


बेलुकातिर जब ध्यानबाट बाहिर निस्कें, मनमा एउटा अचम्मको सहजता थियो। जीवनका समस्याहरू अब पहाडझैं भारी लाग्न छाडे। मैले बुझेँ—यो दुःख, पीडा, र असहजता स्थायी होइनन्। यसरी नै सुख पनि स्थायी हुँदैन। सबै कुरा तरङ्गझैं छ—आउँछ, जान्छ।


यो चौंथो दिनले मलाई एउटा गहिरो बोध दियो—जिन्दगीका हरेक तरङ्गलाई तटस्थ भएर हेर्न सके त्यो क्षण नै मुक्ति हो। मैले आफ्नो भोगाइलाई आफ्नै मनको तरङ्गझैं देख्न थालें। राति आकाशतिर हेर्दा ताराहरू फेरि मुस्कुराएजस्तै लाग्यो। “तिमीले बुझ्दै छौ,” जस्तो कुनै अदृश्य आवाजले भनेझैं अनुभूति भयो। त्यो रात, मेरो निद्रा गहिरो थियो—शून्यता र तरङ्गको विचित्र संगम।


पाँचौं दिन


सधैंको झै बिहानको चार बाजेको घन्टिको धुनसँगै आँखा खुले, तर मन अब समयका घडीहरू गन्नबाट बिस्रिएको थियो। न घन्टीको आवाजले डराउँथ्यो, न खालि पेटले कराउँथ्यो। जीवनको एउटा अंशजस्तो लाग्दै थियो यो नियम, यो नीरवता। तर, आजको दिन केही अनौंठो लाग्यो—भित्र कतै एउटा गहिरो हलचल थियो, तर त्यो हलचल शब्दमा उतार्न नसकिने थियो।


ध्यान कक्षमा प्रवेश गरें। सबैले आफ्नो स्थान लिए। गुरुका आवाजले त्यो मौनता तोड्यो—“आज, आफ्नो संवेदनालाई अझ गहिरो रूपमा बुझ्न प्रयास गर्नुहोस्। कुनै भाग छुटाउनु हुँदैन। कुनै संवेदनालाई नजरअन्दाज गर्नु हुँदैन।” मैले आँखा बन्द गरें। श्वासको गति सामान्य थियो।


हिजोको दिनमा शरीरभरि यात्रा गरिसकेको थिएँ—टाउकोदेखि खुट्टासम्म। तर, आजको अभ्यास अझ गहिरो थियो। अब, म प्रत्येक संवेदनालाई बुझ्दै, ती सबैलाई तटस्थ भएर अवलोकन गर्नु पर्ने थियो।


सुरुमा सबै सहजै चलिरहेको थियो। तर केही बेरमै, मेरो घुँडाको दुखाइले आफूलाई बलियो रूपमा प्रस्तुत गर्न थाल्यो। ढाडको तलतिर एउटा कडा दबाब थियो। मनले बारम्बार यसलाई टाल्न खोज्यो—“सामान्य स्थिति बनाउन कुर्सीमा बसौं, या पखेटा फिजाएर सुतेर आराम गरौं।” तर, गुरुका शब्दले मलाई सम्झायो—“दुखाइ होस् या सुख, यो सबै क्षणिक छ। टेकिन मात्र गर।”


मैले आँखा खोल्न चाहँदा पनि खोलिनँ। म दु:खसँग बसेँ। धेरै बेर दु:खको साथ बिताएपछि, अचम्मको अनुभूति भयो—घुँडाको दुखाइ विस्तारै हरायो। त्यो हराएको क्षणमा मैले महसुस गरें कि पीडा केवल संवेदनाको एउटा रुप रहेछ, जसलाई मनले बलजफ्ती थामेर बसेको थियो। जब मैले तटस्थ भएर त्यो दुखाइलाई छोडें, त्यो आफैं अन्तर्ध्यान भयो।


अब म शरीरका अरू भागमा यात्रा गर्न थालेँ। एक-एक भागको संवेदनामा डुब्न थालेँ। पेटको गहिराइमा एक अनौंठो चक्कर थियो—साइकलजस्तो घुमिरहेको। छातीमा एउटा हल्का तातोपन, अनि हातका औँलाहरूमा सानातिना झिमिकाहरू। ती सबै संवेदनाहरू शरीरभित्रै पुराना कुरा, दबिएका भावनाहरूको रूप लिएर आउँदै थिए। मन कहिले डरायो, कहिले उत्सुक भयो। एकपल्ट त कुनै पुरानो चोटपटकको पीडा जाग्यो, अनि कहिल्यै नबोलेका दुःखका कथा फुक्न थाले। म ती सबैलाई हेरि रहें—न रोएँ, न हाँसेँ। केवल एकजना दर्शकझैं।


बेलुकीसम्म आइपुग्दा मनमा गहिरो शान्ति फैलियो। यो कुनै क्षणिक आनन्द थिएन, न कुनै उत्साहले भरिएको खुशी। यो त त्यस्तो शान्ति थियो, जुन मनका हलचलहरू थामिएपछि मात्र आउँछ। म बुझ्दै थिएँ—पीडा र सुख, हरेक संवेदना जीवनका तरङ्गहरू मात्र हुन्। ती सबैलाई जस्तै छ, त्यस्तै स्वीकार गर्नुपर्छ। पाँचौं दिन मेरो लागि माटोमुनिको सुन फेला पार्ने दिनजस्तो थियो। सुरुमा माटो खोतल्दा मात्र माटो भेटियो—दुखाइ, थकान, असन्तोष। तर, जति-जति म निरन्तर खोतल्न थालेँ, भित्री तहबाट उज्यालो सुन झल्किन थाल्यो। यो उज्यालो मेरो आफ्नै चेतना थियो। राति, निद्राको अगाडि मैले आत्मालाई सोधें—“के म तिमीलाई अब चिन्न थालेको छु?” त्यसको उत्तर सायद मेरो मौन मुस्कानमै थियो।


छैटौं दिन


भोरको पहिलो किरणले मेरो अनुहार छुनुअघि नै म ध्यानस्थ भइसकेको थिएँ। समयको सन्दर्भ हराउँदै गएको थियो। दिन कति बाँकी छ, रात कति लामो छ भन्ने कुराले कुनै अर्थ राख्न छोडेको थियो। शरीर थाकेको भए पनि मन गहिरो रसातलमा छिरिरहेको अनुभव हुँदै थियो। ध्यान कक्षमा पुग्दा आजको दिन फरक अनुभव हुने संकेत थियो। गुरुका आवाजको गाम्भीर्यमा एउटा थप गहिराई महसुस भयो—“आज, आफ्नो संवेदनालाई केवल शरीरसम्म सीमित नराख्नुहोस्। चेतनाको स्थिरतालाई जीवनका हरेक तहमा विस्तार गर्न प्रयास गर्नुहोस्।”


मैले आँखा बन्द गरें। साँस लिँदै गर्दा भित्र एउटा अनौठो तरङ्ग महसुस भयो। आजको अभ्यासले मलाई एउटा गहिरो महासागरजस्तो लाग्यो, जहाँ सतहमा हलचल थियो, तर तलतिर शान्ति र स्थिरता थियो। शुरूमा, मनले आफ्ना पुराना बानीहरू देखायो। त्यो बारम्बार सतहमा तैरिएर आउन खोज्थ्यो—केही पुराना स्मृतिहरू, केही अपूरा चाहनाहरू। कहिलेकाहीँ ध्यान खिच्ने कुराले आक्रमण गर्थ्यो, अनि म पुनः श्वासमा फर्किन्थेँ। यो निरन्तर संघर्षजस्तो थियो, जसमा जित्ने कुरा थिएन—केवल “त्यो समयसम्म टिकी रहने” कुरा थियो।


केही बेरपछि संवेदनाहरू स्पष्ट रूपमा देखिन थाले। मेरो निधारको छेउबाट एउटा चिसो सिरेटो बहिरहेकोजस्तो लाग्यो। छातीमा हल्का भारीपन थियो, जुन विस्तारै तातो झोक्काजस्तो बन्यो। पेटमा एक प्रकारको गहिरो खिचातानी महसुस भयो र त्यो खिचातानी कुनै पीडाभन्दा परको सत्यको संकेतजस्तो लाग्यो।


अचानक मेरो मनले एउटा गहिरो सत्यलाई महसुस गर्‍यो— जीवनमा जसलाई “मेरो” भन्थें, त्यो सबै केवल क्षणिक संवेदनाहरूको खेल रहेछ। दुख, सुख, पीडा, र आनन्द सबै एक क्षण आउँछन् र अर्को क्षण हराउँछन्। यसबारे पहिले पनि सुनेको थिएँ, तर आज त्यो अनुभूतिमा बदलियो। यो कुनै शब्दको पाठ थिएन—यो चेतनाको उज्यालो थियो।


धेरै बेरसम्म म महसुस गर्दै थिएँ कि म केवल एक दर्शक हूँ। मेरो शरीर त सतहमा थियो, तर मेरो चेतना भने कुनै गहिरो महासागरमा डुबिरहेको थियो। त्यो महासागरको तल्लो तहमा न कुनै हलचल थियो, न कुनै बेचैनी। त्यहाँ केवल एक शान्ति थियो—त्यस्तो शान्ति, जसले समय र स्थानको सीमालाई भत्काइदिन्छ।


बेलुकी गुरुले भने—“आज तपाईँहरूले आत्माको गहिराइमा प्रवेश गर्नुभयो। यो केवल यात्रा हो, गन्तव्य होइन। स्मरण रहोस्, हरेक अनुभव क्षणिक हो। तपाईँले त्यो अनुभवलाई थामेर राख्नु हुँदैन।” राति, शयनकक्षमा फर्किएपछि आँखा बन्द गरेर बसेँ। मनले अब कमै भटभटाइ गरिरहेको थियो। एउटा अनौंठो हलचल मनको छेउबाट उठ्थ्यो, तर त्यो महासागरको गहिराइमा पुगेर हराउँथ्यो।


आज मैले महसुस गरें कि मौनता केवल बाहिरी कुरा होइन। यो त चेतनाको गहिरो भाग हो, जहाँ जीवनका सबै हलचलहरू शून्यमा परिणत हुन्छन्। यो दिन मैले पहिलोपटक महसुस गरें कि म चेतना हूँ—शरीर र मनभन्दा परको एउटा अमर उपस्थितिको साक्षी। छैटौं दिनको अन्त्यसम्म म आफूभित्रको अदृश्य महासागरमा पूर्ण रूपमा डुबेको थिएँ। त्यो अनुभव शब्दभन्दा परको थियो—तर, त्यो मौनता नै मेरो जीवनको सबैभन्दा गहिरो सत्यजस्तो लाग्यो।


सातौं दिन


समयको बन्धन क्रमशः खस्किँदै गएको छ। यो सात दिनमा मैले दिन र रातको भेदलाई हराउँदै जान दिएको छु। जीवनलाई नाप्ने, तोल्ने, र नियन्त्रित गर्ने मेरो पुरानो बानी धुमिल हुँदै गएको छ।  बिहान जब चार बजेको घन्टीसँगै आँखा खोलें, मौसम पनि शान्तजस्तै लाग्यो। बाहिरको बालिरहेको बत्तीको किरण सूर्यको किरणझैं झ्यालबाट छिरेको थियो, तर त्यो कुनै बाहिरी उज्यालो नभएर मेरो भित्री चेतनाको प्रतिबिम्बजस्तो लाग्यो। सात दिनको मौनताले शब्दहरूलाई अर्थहीन बनाएको छ। अब केवल अनुभूतिहरू बाँकी छन्—जसले कुनै वर्णन चाहँदैनन्।


ध्यान कक्षमा पुगेपछि, गुरुका स्वरले आत्मामा गहिरो स्पर्श गर्‍यो। “आज, आफ्नो चेतनालाई विस्तार गर्दै, शरीरका हरेक कोषलाई अनुभव गर्न प्रयास गर्नुहोस्। अब तपाईँले केवल संवेदनालाई महसुस गर्नु मात्र होइन, उनीहरूलाई समताका साथ स्वीकार्न पनि सिक्नुपर्छ।” मैले आँखा बन्द गरें।


पहिला, ध्यान सतही लाग्यो। श्वास आउने-जाने क्रममा मन अघिका दिनजस्तै विचलित भयो। तर आजको विचलनले मलाई खासै तान्न सकेन। म त्यहाँ बसेर केवल हेरि रहेँ—आफ्नो मनका खेलहरू, संवेदनाका उठानहरू।


केही बेरमै, मेरो शरीर हलुका हुन थाल्यो। भारीपन हरायो। प्रत्येक श्वाससँगै म एक प्रकारको अदृश्य उज्यालोले भरिँदै गएको अनुभव गर्न थालेँ। मेरो ध्यान बिस्तारै माथिल्लो स्तरमा पुगेको महसुस भयो। यो कुनै पराविद्याजस्तो थियो, तर म आँखा बन्द गरेर बस्दाबस्दै मैले सारा शरीरलाई प्रकाशले ढाकेको महसुस गरें। अचानक, एउटा गहिरो सत्य स्पष्ट भयो— मेरो शरीर, भावना, र संवेदना मात्र होइन, म ती सबैभन्दा परको चेतना हुँ। मेरो सारा पीडा, मेरो सारा सुख, र मेरो सारा संघर्ष क्षणिक थिए। तर, म जति गहिरो पुग्दै जान्थें, त्यति ती सबै कुराहरू अलि अस्पष्ट र अर्थहीन देखिन थाले। यो अनुभव मात्र थिएन, यो बोध थियो—एक मौन, तर पूर्ण।


ध्यानको बीचमा, मेरो मनले अघिल्लो जीवनका केही स्मृतिहरू उठायो। पुराना पीडाहरू, बिर्सिएका सम्बन्धहरू, र अधूरा सपना क्षणभरका लागि चेतनामा आए। तर ती कुनै बाधा भएनन्। मैले तिनलाई तटस्थ रूपमा हेरेँ। उनीहरू आए, र मेरो स्वीकृतिको स्पर्श पाएर बिस्तारै बिलाए। दिनभरि मैले संवेदनाको भिन्न स्तरहरू अनुभव गरें। कहिलेकाहीँ तातो लहरजस्तो, कहिलेकाहीँ शीतल सिरेटो। कहिलेकाहीँ कुनै कम्पनले शरीरलाई छोयो, र कहिलेकाहीँ एउटा गहिरो शून्यता मात्र बाँकी रह्यो। ती सबै अनुभवहरूमा एउटा समान कुरा थियो—समता। आज पहिलोपटक मैले महसुस गरें, “समता” कुनै शब्द होइन, यो एउटा अमूल्य बानी हो।


बेलुकी, ध्यान समाप्त भएपछि, गुरुले भने— “जसरी अग्निले सुनलाई शुद्ध पार्छ, तपाईँको संवेदनाको समता अभ्यासले मनलाई निर्मल बनाउँछ। यो शुद्धता नै मुक्तिको बाटो हो।” राति, आफ्नो कक्षमा फर्किएर, मैले लामो श्वास फेरें। म आफ्नो शरीरलाई जति सुन्छु, उति त्यो मेरा लागि “म” होइनजस्तो लाग्न थाल्यो। मनका तरङ्गहरू शान्त थिए। बाहिर मौनता थियो, भित्र अनन्त शान्ति।


आज मैले महसुस गरें कि ध्यान केवल एक अभ्यास मात्र होइन—यो आत्माको गहिरो अध्ययन हो। सातौं दिनले मलाई आफ्नो सीमित अस्तित्वलाई पार गरेर असीम चेतनाको झलक देखायो। यो यात्रा शब्दले बयान गर्न नसकिने, तर हृदयले अनुभव गर्न सकिने थियो। यो दिन मैले थाहा पाएँ—म कुनै रूप होइन, कुनै नाम होइन। म केवल चेतना हुँ—शुद्ध, शान्त, असीम।


आठौं दिन


यो यात्रा अब केवल शारीरिक मौनतामा सीमित रहेन, मभित्र गहिरो आत्मीय परिवर्तनको आँधी चलेको अनुभव भइरहेको छ। समयको कुनै सीमा छैन, तर प्रत्येक पल अमूल्य भएको छ। बाहिरी संसारको जञ्जाल छुट्दै गएको छ, र मभित्र एउटा नयाँ संसारको उदय भइरहेको छ।


बिहानको चार बजेको सुमुधुर घन्टिको धुन र झिसमिसे उज्यालोसँगै, आजको दिनले मलाई निम्तो दिएजस्तो लाग्यो—आत्माको अझ गहिरो तहमा पुग्न। ध्यान कक्षमा गुरुका निर्देशित शब्दहरू एउटा मन्त्रझैँ सुनिए, जसले मलाई मार्गदर्शन गर्दै थियो।

“अब तपाईँले केवल संवेदनालाई अनुभव गर्ने होइन, ती संवेदनामा जरा गाडिएको मोह र घृणाको जडलाई देख्नु पर्ने छ।”


आँखा बन्द गरेर म आफ्नो श्वाससँग एकाकार भएँ। ध्यानको आरम्भमा आजको अनुभव बाँकी दिनहरूजस्तै सामान्य थियो। म श्वासको लयमा एकचित्त हुन खोज्दै थिएँ। तर केही बेरमै, मेरो मनको गहिराइबाट कुनै पुरानो सम्झनाको छायाँ ममाथि उभिन आयो। ती स्मृतिहरू स्पष्ट थिएनन्, तर ती स्मृतिहरूले कुनै न कुनै रूपमा मेरो चेतनालाई बाँधेको थियो। त्यो क्षण मैले थाहा पाएँ कि मेरो भोगाइका सबै बन्धनहरूको जड मेरो भित्री प्रतिक्रियामा छ। प्रत्येक संवेदनाले ममा कुनै न कुनै प्रतिक्रियाको बीजारोपण गरिरहेको थियो। सुखले मोहलाई जन्माउँथ्यो, दुःखले घृणालाई। तर, यो प्रतिक्रियात्मक चक्रको जरा कहाँ थियो?


मैले गुरुले सिकाउनु भएको "समता" लाई सम्झें। मैले ती स्मृतिहरूलाई छोड्न खोजिनँ, न त तिनलाई आफ्नो बनाउन खोजेँ। म केवल ती संवेदनाहरूलाई अवलोकन गर्दै गएँ। मेरा श्वासहरू गहिरो र सहज भइ रहे। त्यस क्षण मैले देखेँ—मेरो शरीरका विभिन्न भागहरूमा असंख्य संवेदनाहरू खेलिरहेका थिए।

कहिँकतै हल्का तातो, कहिँकतै चिलाउने अनुभूति, अनि कहिँकतै गहिरो सुनसानको भान। ती सबै मेरा अतीतका भोगाइका बाँकी अवशेषजस्तै थिए।


जति गहिरो पुग्दै गएँ, उति ती संवेदनाहरूको शक्ति हराउँदै गयो। मेरो मन बिस्तारै शान्त हुन थाल्यो। ती संवेदनाहरू अब कुनै बाधा जस्तो लागेनन्। ती केवल मेरो भोगाइका स्वाभाविक छायाँ मात्र थिए। दिनभरि, ध्यानले मलाई मेरो अन्तरको अर्को तहमा पुर्‍यायो। मैले महसुस गरें कि मैले जति समता अभ्यास गरेँ, त्यति मेरो मनको भार हलुका हुँदै गयो। मेरा अतीतका दुःख र पीडाहरू अब केवल छायाँझैँ लाग्न थाले। तिनले मलाई छुन सक्दैनथे, किनकि म तिनको धेरै पर पुगेको थिएँ।


बेलुकीको ध्यानको क्रममा एक अप्रत्याशित अनुभूति भयो। मेरो शरीर बिस्तारै हलुका हुँदै गएको जस्तो लाग्यो। श्वासको गहिराइसँगै म एक अदृश्य शान्तिको संसारमा प्रवेश गरिरहेको थिएँ। त्यहाँ कुनै बन्धन थिएन, कुनै समय थिएन। केवल शुद्ध चेतना थियो, जहाँ म आफ्नो “म” लाई बिर्सिएको थिएँ। गुरुले दिनको अन्त्यमा भनेका शब्दहरूले मेरो अनुभवलाई पुष्टि गर्‍यो— “जब तपाईँले मोह र घृणाको चक्रलाई तोड्न सक्नुहुन्छ, तब मात्र तपाईँ साँचो स्वतन्त्रताको स्वाद लिनुहुन्छ।”


आठौं दिनले मलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठ सिकायो। पीडा र सुख, दुवै क्षणिक हुन्। ती जीवनका छालहरूजस्तै हुन्, जो आउँछन् र जान्छन्। तर ती छालहरूसँग आफूलाई बाँध्ने कि तिनलाई तटस्थ भावले हेर्ने भन्ने हाम्रो चेतनाको रोजाइ हो। राति आफ्नै कोठामा म आँखा बन्द गरेर बसेँ।


मेरो भित्री संसारमा अब हलचल थिएन। म ती सबै अनुभवहरूको साक्षी थिएँ, तर तिनले मलाई छोएका थिएनन्। आठौं दिनको अन्त्यमा, मैले महसुस गरें— जीवन केवल अनुभव गर्ने मात्र होइन, ती अनुभवहरूबाट स्वतन्त्र हुने यात्रा पनि हो। यो यात्रा बाहिरी संसारको होइन, आत्माको अन्तहीन गहिराइको हो।


नवौं दिन


बिहान चार बजेको जुन र ताराहरुले दिएको उज्यालोले मात्र होइन, भित्रैबाट प्रकाशको अनुभूतिले पनि सुरू भयो। भित्री आँखा खुलेपछि बाहिरी दृश्यले केही फरक पार्दैन। नवौं दिनले यो सिकायो कि बोधको यात्रा अन्तिम सीमा नाघ्नै लागेको छ।


आँखा बन्द गर्दै ध्यानस्थ भएँ। गुरुले आजका लागि दिएको निर्देशन अलि फरक थियो—“अब तपाईँले आत्मीयताका साथ, आफ्नो अवलोकनलाई अझै समग्र बनाउनु पर्नेछ। शरीर र मनको प्रत्येक कोठामा पुगेका बाँकी बाँधहरूलाई छोड्नुहोस्।” मैले आफ्नै मनसँग संवाद गरें। “के बाँकी छ अब? के छ जुन मैले अझै महसुस गर्न बाँकी छ?” मैले आफैलाई एकीकृत गरेर श्वासमा फर्किएँ। हरेक श्वास जादूझैँ लाग्दै थियो, जुन मलाई अझै गहिरो चेतनाको तहमा पुर्‍याइरहेको थियो।


शरीरका कोषहरूमा पुरानो पीडाका बाँधहरू फुसफुसाउन थाले। कुनै समय मैले नकारेका क्षणहरूको छायाँ मभित्र जीवितै थियो। ती भुल्न खोजिएका अनुभूतिहरू, ती लुकेका पीडाहरू, तिनले आज आफ्नो अन्तिम उपस्थितिको उद्घोष गरिरहेका थिए। तर म कुनै प्रतिक्रिया दिन्नथेँ। ती केवल बादलजस्ता देखिन्थे, जो क्षणभरमा हराउँदै जान्थे।


दिनभर मेरा अनुभवहरूको स्वरूप परिवर्तन हुँदै गयो। मेरो शरीर अब संवेदनाको एउटा मञ्चजस्तो थियो, जहाँ हल्का, गहिरो, गर्मी, चिसो—सबै संवेदनाहरू नाँचिरहेका थिए। ती संवेदनाहरूका खेलहरू अब मभित्र पीडाको स्रोत थिएनन्। म ती सबैलाई समता र धैर्यतापूर्वक हेर्दै थिएँ। एक क्षण यस्तो आयो, जहाँ मैले देखेँ—म आफैं हुँदैन रहेछु। म केवल एउटा साक्षी हुँ, जो आफ्ना अनुभवहरूको प्रवाहलाई हेरिरहेछ। मेरो शरीर केवल एक माध्यम थियो। मेरो मन केवल एक चेतना थियो। र, म? म त साक्षी मात्र।


बेलुकीपख ध्यानको समय एउटा अद्वितीय अनुभूति भयो। मेरो मनबाट कुनै अनौंठो भार खसेजस्तो लाग्यो। यस्तो लाग्यो, मैले जीवनभर बोकेको एउटा अदृश्य भारी मबाट हटेको छ। म हलुका भएँ। एउटा शान्तिको लहर मेरो हरेक नसामा बगिरहेको थियो। गुरुले दिनको अन्त्यमा भनेका शब्दहरूले यो अनुभवलाई थप गहिरो बनायो— “तपाईँले अतीतको बन्धनलाई पूर्णतया स्वीकार गर्दा मात्र, ती बन्धन स्वतः टुट्न सक्छन्। अब तपाईँ नयाँ संसारका लागि तयार हुनुहुन्छ। स्वतन्त्रता तपाईँकै हो।”


त्यस रात म एक नयाँ अस्तित्वजस्तो अनुभव गरिरहेको थिएँ। जीवनको हरेक क्षणले नयाँ स्वाद पस्किरहेको थियो। शरीर, मन, र चेतनाको एकरूपताले मलाई एउटा अकल्पनीय आनन्दको अनुभव दिइरहेको थियो। नवौं दिनले मलाई एउटा अनमोल पाठ सिकायो।


हामी आफ्नै मनका कैदी हौं। तर, हाम्रो जीवनलाई नयाँ परिप्रेक्ष्यबाट हेर्न सक्ने क्षमता छ। जब हामी आफ्ना पीडा र सुखलाई तटस्थताका साथ हेर्न सक्छौं, तब मात्र हामी साँचो मुक्ति पाउन सक्छौं। नवौं दिन मेरो लागि एउटा उद्घोष थियो— “तिमी अब स्वतन्त्र छौ। जीवनलाई पुनः जन्मका रूपमा अनुभव गर। तिम्रा सबै बन्धनहरू केवल तिम्रा सोचाइका छायाँ हुन्। तिमी त्यस छायाँभन्दा धेरै पर छौ।”


दशौं दिन


शिविरको अन्तिम विहानी। आजको दिन बिहानको चार बाजेको शान्त बातावरणले मात्र होइन, भित्री शान्ती र पूर्णताको उज्यालोले पनि स्वागत गर्‍यो। मन हलुका थियो, सास विश्वाशले भरिएको थियो, र आत्मा अनन्त शान्तिको ध्वनिमा रमाइरहेको थियो। यो दिन खास थियो—गुरुले हामीलाई निर्देशित गरे, "अब तपाईँले 'मेट्टा भाबना' अर्थात् शुभेच्छा प्रकट गर्न सिक्नु पर्नेछ। तपाईँले अरूलाई माया, करुणा, र शान्तिको उर्जा दिनु पर्नेछ।"


आँखा बन्द गरें। ध्यानको सुरुवातसँगै मभित्र एउटा अनौंठो शान्ति फैलियो। शरीरमा संवेदनाहरू अब कुनै बाधा थिएनन्। ती केवल प्रवाह थिए—जस्तै नदीले आफ्नो बाटो बगिरहन्छ। मन पूर्ण रूपमा स्थिर थियो। कुनै उतार-चढाव थिएन। कुनै कामना थिएन। कुनै पश्चात्ताप थिएन। केवल वर्तमानको गहिराइमा डुब्न पाएको आनन्द थियो।


मेरो भित्रको चेतना आज म मात्रै थिएन। म आफैँबाट निस्केर यो संसारमा मिसिएको अनुभव गरिरहेको थिएँ। मभित्र एउटा विशालता फैलिएको थियो, जसले हरेक प्राणीलाई अँगाल्न चाहन्थ्यो। गुरुले भनेका शब्दहरू झल्झलाउँछन्- "अब तपाईँले यो शान्ति र समताका अनुभूतिलाई आफ्नोभित्र सीमित नराख्नुहोस्। यो सम्पूर्ण संसारसँग बाँड्नुहोस्। तपाईँबाट शान्ति सुरु होस् र चारैतिर फैलियोस्।"


श्वासप्रश्वासको धुनसँगै मेट्टा भावनाको अभ्यास गरें। मेरो मनबाट शब्दविनाको शुभेच्छा बहन थाल्यो— “सबै प्राणी सुखी होउन्। सबै प्राणीले पीडा छोडून्। सबै प्राणीले शान्तिको अनुभूति गरून्।” मेरो मन एक महासागरझैं थियो, जसले हरेक छाललाई अँगाल्न सक्छ।


मेरा विचार, मेरा अनुभव, मेरा संवेदनाहरू केवल मेरो थिएनन्। ती सारा सृष्टिका लागि अर्पण गरिरहेको अनुभव भयो।


दिनभर यो मनस्थिति टिकिरह्यो। अब मेरा आँखा खुलेका थिए, तर ती आँखा केवल बाहिरी दृश्यमा सीमित थिएनन्। हरेक व्यक्ति, हरेक प्राणीलाई हेर्दा उनीहरूमा आफैंलाई देखिरहेको थिएँ। हरेक सम्बन्ध अब द्वन्द्व होइन, समरसताको प्रतीक बनेको थियो।


बेलुकीको अन्तिम ध्यानमा गुरुले प्रश्न गरे- “के तपाईँलाई लाग्छ, तपाईँ यो ध्यान यतिमै समाप्त भयो?"


मेरो मनले उत्तर दियो—“हैन। विपश्यना अब जीवनको अंश बनिसकेको छ।”


दशौं दिनले मलाई एक अनुपम ज्ञान दियो। जीवनमा वास्तविक शान्ति पाउन, केवल भोग र त्यागको सन्तुलन आवश्यक छ। यो शान्ति अरूसँग बाँड्दा मात्र अझै गहिरो हुन्छ। हाम्रो अस्तित्व मात्र आफ्नो लागि होइन, यो सम्पूर्ण सृष्टिका लागि हो। त्यस रात म शिविरबाट फर्कने तयारीमा थिएँ। तर, म अब उही व्यक्ति थिइनँ। म अब हलुका थिएँ, स्पष्ट थिएँ, र स्वतन्त्र थिएँ। दशौं दिनले मलाई केवल ध्यानको एउटा यात्रा मात्र होइन, जीवनलाई पुनः महसुस गर्ने तरिका सिकायो। अब जीवन मलाई मात्र होइन, म जीवनलाई पनि थाहा पाएँ। अब म पूर्ण छु।


विपश्यनाको अन्तिम दिन आर्यमौनलाई भंग गर्दा एक अनौठो अनुभूति भयो। दश दिनसम्म कुनै शब्द उच्चारण नगरेपछि, एकै चोटि बोल्दा एक अनौठो अनुभभ भएको थियो। सबै साधकहरूसँग परिचय गरियो, र हामीले एकअर्कासँग आफ्ना अनुभवहरू साझा गर्यौं। पहिले बोल्न नसकेको भाईसँग पनि माफी मागे, र उनीहरूले पनि बुझेर मलाई उल्टै माफी मागेर सान्त्वना दिए। विभिन्न देशबाट आएका साधकहरूसँग कुराकानी गर्ने मौका मिल्यो, जसमध्ये एक जना डेनमार्कका बायोलोजीका प्रोफेसर थिए, जसको यो पाँचौं विपश्यना थियो। साथै, इरान, रूस, युक्रेन, फ्रान्स र अमेरिकाबाट आएका साधकहरूसँग पनि अनुभव साटासाट गरियो।


सिबिरको समाप्तीपछि मैले सकेको रकम विपश्यना केन्द्रलाई दानको रूपमा अर्पण गरें र केही पुस्तकहरू पनि खरिद गरें। जब म विपश्यना सकेर घर फर्किएँ, मैले आफूलाई पूर्ण रूपमा नयाँ महसुस गरें। वर्षौंको शारीरिक र मानसिक फोहोरलाई सफा गरेर म नयाँ जीवनमा प्रवेश गरेको जस्तो लाग्यो। बाटोमा हिँड्दा पनि म सबैलाई खुशी देख्न थाले। प्रकृतिको सौन्दर्य थप उजागर भएको जस्तो लाग्यो। मेरो अरूसँगको व्यवहारमा पनि ठूलो परिवर्तन आयो।


अहिले पनि म प्रत्येक दिन बिहान र बेलुका एक एक घण्टा विपश्यना ध्यान गर्छु। न्यू योर्क जस्तो स्थानमा बस्दा सधैं तनाव र चिन्ताले मनलाई घेरिरहेको थियो। विशेष गरी कोभिड महामारीको समयमा एन्जाइटी बढेर, घरबाट बाहिर निस्कन डर लाग्थ्यो। परिवारको सुरक्षा र आफूप्रति चिन्ता सधैं मनमा हुन्थ्यो। तर विपश्यना ध्यानले मलाई यी सबै चिन्ताहरूबाट मुक्त गरिदियो। अहिले म धेरै शान्ति महसुस गर्छु, रिस, राग, द्वेषबाट निकै टाढा भएको छु। कुनै पनि कठिन परिस्थितिमा पनि म सहर्ष स्वीकार गरेर जीवन जिउन थालेको छु।


अब म कुनै कुरामा प्रतिक्रिया दिने बेला, जसरी त्यस्तो अवस्था आउँछ, त्यसै अनुसार हेरचाह गर्न थालेको छु। करुणा र समझको भावना बढी विकसित भएको छ। मैले जीवनलाई एउटा नयाँ दृष्टिकोणबाट बुझ्न थालेको छु र त्यसलाई निरन्तरता दिने प्रयास गर्दै छु।


१० दिनको अन्त्यसम्म मैले आफैंलाई हल्का र शान्त महसुस गरें। मलाई एउटा नयाँ ज्ञान मिल्यो– सबै कुरा अस्थायी हुन्छ, सबै परिवर्तन हुन्छ। दैनिक जीवनमा फर्कन सजिलो भने थिएन। पुरानै भीडभाड र आवाजले कहिलेकाहीं मलाई गाह्रो बनायो। तर विपश्यनाले मलाई एक नयाँ तरिका सिकाएको थियो– मेरा विचार र भावनालाई शान्त भएर हेर्ने, बिना प्रतिक्रिया। यो ध्यानले म आफू को हो भन्ने कुरा स्पष्ट चिनायो। मेरो दिमागको तेजलाई दोब्बर बनायो। मेरो स्मरण शक्ति, लेखन कलालाई सशक्त बनायो। परिवारमा झनै स्नेह र खुशी जगायो। यो १० दिनको यात्रा मेरो लागि अनौंठो आत्म-खोज थियो। यसले मलाई बदल्यो, र नयाँ दृष्टिकोण दियो। मैले विपश्यनाबाट सिकेका पाठहरू आज पनि मलाई सन्तुलित र शान्त जीवन बाँच्न मद्दत गरिरहेछन्।


यदि तपाईं आफ्नो जीवनमा गहिरो परिवर्तन खोज्दै हुनुहुन्छ भने एकपटक विपश्यना शिविरमा सहभागी हुनुहोस्। यसले तपाईंलाई तपाईंभित्रैको शान्ति र स्पष्टता भेट्न सहयोग गर्न सक्छ। भवतु सर्व मंगलम!


-ल्हाक्पा गेलु शेर्पा

न्यू योर्क


Read article written by Lhakpa Gelu Sherpa:

0 comments

תגובות


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page