top of page

अमेरिकामा नेपाली युवा अभियन्ता अमर तामाङको ३८ वर्षको उमेरमा क्यान्सर रोगबाट निधन

Writer's picture: Nepalism.comNepalism.com

-Pradeep Pariyar Thapa

न्यू योर्क- गत मार्च महिनाको पहिलो हप्तासम्म हट्टाकट्टा रहेका ३८ वर्षीय युवा नेपाली अभियन्ता अमर माम्बा तामाङको क्यान्सर रोगबाट अगष्ट १९ तारिख सखारै न्यू योर्क शहरको विश्वप्रसिद्ध क्यान्सर अस्पताल माउण्ट सिनाईमा निधन भएकोछ। नेपाली जनसम्पर्क समिति अमेरिका न्यू योर्क च्याप्टरको बहालवाला उपाध्क्ष र कास्की समाज अमेरिका बहालवाला महासचिव रहेका अमर यस अघि तामाङ सोसाईटी अफ अमेरिकाको पूर्व महासचिव रहेर समाजसेवामा निरन्तर सकृय थिए। उनी क्यान्सर रोग लागेको ५ महिला बित्दानबित्दै एघारौं पटक किमोथेरापी पछि आफ्ना सयौं अधुरा सपनाहरू पुरा गर्न नपाई सदाको लागि यो संसारबाट बिदा हुन बाध्य भए। उनको सामिप्यता र संलग्नतासंग नजिक रहेर समय बिताएका उनका साथी र सहकर्मीहरू अमरको स्वच्छ, निःस्वार्थ र खरो स्वभावको सम्झना गर्दै समाजले एउटा असल व्यक्ति गुमाउन परेकोमा गहिरो दु:खव्यक्त गरेकाछन्। अमर को हुन्? सविस्तार तलको समाचार लिंकमा पढ्नुहोस्।


अमर को हुन्?


बिसं २०३८ साल असार २८ गते कास्की जिल्लाको पोखरा, बगरमा जन्मिएका ३८ वर्षीय अमर सन् २००६ मा अमेरिका आएका थिए। यसबिच, उनी सन् २०१६/१७ मा मातृभूमि नेपाल गएर पुन: अमेरिकी ड्रिमको सपना साकार पार्न आफ्नो कर्मथलो न्यू योर्क शहरमा आफ्नो जिवनकृया सुचारू गरेका थिए। यसबिच, उनी कास्की समाज अमेरिकाको महासचिव बने र अमेरिकामा रहेका जिल्लावासीको सहयोग र एकतातिर लागे। “हामी जिल्लाबासी र कास्कीको समग्र विकासकोनिम्ति लागि परेका थियौं, अमर एक असल र केही गरौं भन्ने सृजनशील व्यक्ति थिए’ -कास्की समाज अमेरिकाको अध्यक्ष एवं एनआरएन अमेरिकाको पूर्व उपाध्यक्ष श्री पराजुलीले नेपालिजम डटकमसंग अमरबारे सम्झिदै उल्लेख गरे।


नेपालबाट फर्केपछि अमरको जीवनमा एकपछि अर्को बज्रपात भयो। सन् २०१० मा आफ्नो बुबा गुमाएका अमरको एक दाजू सन् २०१८ मा बिते। यो दु:खद घडीबाट तंग्रिन नपाउँदै उनले एक वर्षभित्र (सन् २०१९) मा आफ्नो प्राणप्यारी आमालाई गुमाउनु पर्यो। उनको जिवनमा आईपरेको यस्तो बज्रपातलाई झेल्दै उनी सामाजिक कार्यमा भने निरन्तर लागि परे। कास्की समाज अमेरिकाको महासचिव उनको नयाँ जिम्मेवारी त छँदैथियो, अमर नेपाली जनसम्पर्क समिति अमेरिका (नेजसअ) न्यू योर्क च्याप्टरको केही वर्ष यता उपाध्क्ष रहेर न्यू योर्क नेपाली समाजमा मात्र हैन अमेरिकाभरनै राजनितिकरूपमा एक सचेत र सुझबुझ युवा नेताकोरूपमा परिचित बने।


यता तामाङ सोसाईटी अफ अमेरिकाको पूर्व अध्यक्ष भरत मोक्तान तामाङले अमरबारे सम्झिदै भन्छन्- ‘अमर जस्तो सहयोगी मान्छे मैले अर्को भेटेकोछैन। उनी स्पष्ट र स्वच्छ छवी भएका खरो स्वभावका युवा थिए। हाम्रो सिंगो अमेरिकी नेपाली समाजलाई अमरले ठूलो गुन लाएर गएकाछन्।’


तामाङ सोसाईटी अफ अमेरिकाको पूर्व सचिव र महासचिव रहेर समाजसेवा गरेका अमर हुन पनि स्पष्ट र निडर स्वभावका थिए। उनको फेसबुकको प्रोफाईल परिचय, स्टाटसमा यस्तो लेखेकाछन्- ‘जिन्दगीको खेलमा कहिले हार ! कहिले जित ! तर घटियाहरूसंग कहिले हात मिलाईन्न’। हो, अमरको जीवनमा यो कुरा दुरूस्त लागु भो, उनले कहिल्यै कसैको चाकडी गरेनन् र जीवन यात्राको मोडहरूमा जीत र हारसंग लुकामारी र संघर्ष गर्दै जति जीवन जिए सगर्वकासाथ जिए।


परिवार


अमरका एक दाजू ब्रिटिश गोर्खाली सेवानिवृत्त भई युकेमा बसोबास गर्दछन् भने उनको एक दिदी र एक भाई नेपालमा छन्। अमर न्यू योर्क शहरमा एक्लै बस्दै आएका थिए।


जीवनका अन्तिम क्षण


अमरले केही समयदेखि ब्लडप्रेसर औसधी खाँदै आएका थिए तर औसत नेपाली युवाहरूभन्दा उनी हट्टाकट्टा र स्वस्थ देखिन्थे। उनको प्राईमरी डाक्टरले जन्डिस भन्ठानेर उचार गरे पनि गत मार्च महिनाको पहिलो हप्ता अमर न्यू योर्क शहरको ज्याक्सन हाईट्सस्थित एल्महर्स्ट अस्पतालमा चेकअपको लागि भर्ना भए। सोही अस्पतालको जाँचपछि उनको शरीरमा क्यान्सर भएको रिजल्ट आयो। त्यसको लगत्तै उनलाई न्यू योर्कको म्यानहटनस्थित माउण्ट सिनाई हस्पिटलमा उपचार शुरू गरियो। उनले मृत्यू पर्यन्त ११ पटक किमो थेरापी गरे। तर रोग सन्चो हुने छाँट देखिएन। गत हप्ता माउण्ट सिनाईका उनको उपचारमा संलग्न डाक्टरहरूले उनलाई ‘अब तिमी एक हप्ता मात्र बाँच्छौ’ भनेर मृ्त्यूको डेटलाईन दिए। डाक्टरहरूको मृ्त्यूको डेटलाईनलाई उनले झुठो सावित गर्दै २-४ दिन बढ्ता बाँच्न सके। यसबिच, उनले आफ्ना नजिकका साथीभाई र परिवारलाई सम्पर्क गरी आफ्नो हालत र ईच्छाबारे बताए तर हतोत्साहित देखिएनन्, मानौं कि उनले मृत्यूलाई सजिलै स्वीकारेकाछन्। दुई दिन अघिसम्म अमरले फोन सम्पर्क गरेर बोल्ने अवसर पाएका मध्येका अमरका एक मित्र हुन्- महेश मल्ल। अमरका अनन्य मित्र एवं नेपाली जनसम्पर्क समिति अमेरिका (नेजसअ) न्यू योर्क च्याप्टर महासचिव महेश मल्ल भन्छन्- ‘अमरजीलाई मैले सन् २००९ देखि चिनेको हूँ तर उनी हाम्रो परिवारको अभिन्न सदस्य जस्तै भए।अमर मेरो जीवनमा एक असल मित्र र परिवारको सदस्यकोरूपमा आए। उनी चाँडैनै रिसाउँथे तर साथीको लागि ज्यान दिन तयार हुन्थे। म अमरको मृत्यूको खबरले स्तब्ध भएकोछु। मेरै जस्तो उमेरको, समकालिन, घनिष्ठ मित्र गुमाउन पर्दा म अत्यन्त मर्माहत भएकोछु।’


अमरको ईच्छा उनको पार्थिव शरीर नेपाल लगेर सतगद गरियोस् भन्ने उनको पारिवारिक सुत्रले जानकारी गराएकाछन्। कोरोना महामारी रोगको कारण परिवार र साथीभाईहरू भेलाभएर शोक मनाउन सक्ने अवस्था पनि रहेकोछैन।


जन्मेपछि मर्नु जीवनको अवश्यमभावी कर्म र नियती हो। जो, जति समय यो धरतीमा जिउँछ त्यो पुरा जीवन हो, चाहे त्यो अल्पायू या बयोबृद्ध। सार्थक जीवन जिउन सक्नु जीवनको कला हो। अमरले आफ्नो मर्जीले जिवन जिए। खोंट बिनाको जीवन कसैको हुँदैन। उनी पनि खोंट रहित थिएनन् नै। असल जिउने कला मान्छेले सिक्दै जाने हो जीवनपर्यन्त। जीवन प्रयोगशाला हो। अमरले मृत्यूवरण गरे अल्पायूमै तर जीवन अनित्य छ र समाजमा धेरथोर केही योगदान गरेर जान समय र उमेरको पावन्दीले छेक्दैन भन्ने कुरा उनको जीवनबाट हामीले सिक्न सक्नु पर्छ। अमरले यो कुरा सिकाएर अमर बने। उनको आत्माले चीर शान्ति पावोस्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page