top of page

नेपाली जाति, नेपालीत्व र नेपालीपन: किन र कहिलेसम्म रहला?

Writer's picture: Nepalism.comNepalism.com

Updated: Dec 29, 2019

संधैभरी नेपाली पहिचान रहँदैन । किन ? प्रवासमा कहिले समाप्त हुन्छ नेपाली पहिचान ? नेपालीमा (जो सुकै नेपाली मातृभाषामा पनि) सपना देख्न छोडेपछि नेपाली रहिंदैन तर कसरी ? यि सबै जिज्ञासाहरुको सरल र सटिक उत्तर नेपाली भाषासाहित्यका सुपरिचित प्राज्ञ, नेपाली भाषाविद, समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले यो विशेष आलेखमा दिनु भएको छ । हाम्रो एनआरएन पुस्ताले पढ्नै पर्ने र घोत्लिनै पर्ने यो सरगर्भित लेख पढेपछि बिचार मन्थनमा सहभागी बन्नुहोस।

-प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर


"विभिन्न मुलुकबाट गएका नेपालीहरू नेपाली भाषामा (जो सुकै नेपाली मातृभाषामा पनि) सपना देखुन्जेल तिनको पहिचान नेपाली भन्ने हुन्छ भने जब तिनीहरू नेपाली भाषामा सपना देख्न छाडी त्यही देशको भाषामा सपना देख्न थाल्छन् तिनीहरूको पहिचान पनि त्यही देशकै नाममा गाँसिन्छ ।"


सामान्यतया विभिन्न अङ्ग्रेजी शब्दमा 'ism' प्रत्यय लगाउँदा त्यसले सम्बद्ध शब्दको अर्थसँगै वाद भन्ने अर्थ दिन्छ, जस्तै— Classicism (परिष्कारवाद/शास्त्रीयतावाद) Romanticism (स्वच्छन्दतावाद), Marxism (माक्र्सवाद) आदि । यसरी 'ism' प्रत्यय लागेका अङ्ग्रेजी शब्दलाई नेपाली रूपान्तरण गरी वाद बनाइएका प्रशस्तै शब्दहरू छन् तर सबै अङ्ग्रेजी शब्दमा 'ism' जोडिँदैन र 'ism' जोडिने शब्दमा पनि त्यो जोड्नेबित्तिकै वाद बन्दैन अर्थात् 'ism' प्रत्यय लागेका सबै अङ्ग्रेजी शब्दले वाद भन्ने अर्थ दिँदैन, जस्तै— Mechanism (यन्त्ररचना), Plagiarism (साहित्यिक चोरी), Recidivism (अपराधवृत्ति) आदि । यसरी जुनसुकै शब्दमा 'ism' जोड्दै वाद बनाउने हो भने बर्बाद हुन्छ । वादको तात्पर्य विशिष्ट विद्वान्हरूले निश्चित गरेको कुनै कुराको मत वा सिद्धान्त, सार कुरो पत्ता लगाउनाका लागि गरिने तर्क, विचार आदि भन्ने हुन्छ ।


हालसालै अमेरिकाको न्यू जर्सी निवासी सुपरिचित पत्रकार प्रदीप परियार थापाले आफ्नै प्रधान सम्पादकत्वमा Nepalism.com नामक अनलाइनको सञ्चालन गर्न थालेका छन् । झट्ट हेर्दा Nepal (नेपाल) शब्दमा 'ism' थपेर बनाइएको यस शब्दको अर्थ 'नेपालवाद' भन्ने हुन्छ तर Nepal शब्दमा थपिएको 'ism' ले वादको अर्थबोध नगराई यसले नेपालीत्व वा नेपालीपन भन्ने अर्थबोध गराउँछ । यस दृष्टिबाट Nepalism शब्दको अर्थ वादसँग नभई नेपाली जातिसँग सम्बद्ध रहेको देखिन्छ ।


संसारमा अनगिन्ती जातजातिहरू रहेका छन् । ती सबैमा 'ism' थप्दै वाद बनाउँदै जाने हो भने त्यो त झनै बर्बाद हुन्छ । जाति विशेषको सम्बन्ध प्रथमतः सम्बद्ध देशको राजनैतिक भूगोल र द्वितीयतः भाषासँग हुन्छ । जातिको पहिचान देशको राजनैतिक भूगोल र भाषा दुवैबाट हुन्छ । नेपाली जाति भन्नाले नेपाल देशको चार किल्लाभित्र बसोबास गर्ने सम्पूर्ण जनसमुदायलाई बुझाउँछ तर नेपाली जातिको पहिचान राजनैतिक भूगोलमा मात्र सीमित नरही भाषिक भूगोलमा पनि विस्तारित हुन्छ । नेपालबाहिर भारतका विभिन्न भूभाग, भुटान, बर्मा (म्यानमार) आदि मुलुकमा पहिलेदेखि नै र पछिल्लो समयमा युरोपका विभिन्न मुलुक, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत संसारका विभिन्न मुलुकमा नेपालीहरू बसोबास गर्दै आएका छन् । भारतका विभिन्न भूभागमा बसोबास गर्ने कतिपय नेपाली भूमिसहित गएका हुन् भने अन्य ठाउँमा गएका नेपाली भूमिरहित गएका हुन् । भूमिसहित वा भूमिरहित जुन रूपमा गएका भए पनि तिनीहरू आफ्नो राजनैतिक प्रभुत्व जमाएर बसेका भए मात्र तत्स्थानमा पूरै नेपालीको पहिचान कायम रहन्छ नत्रभने तिनीहरू भाषाका माध्यमबाट नेपाली जातिको पहिचान कायम गर्ने अवस्थामा रहन्छन् ।


नेपाल, भारत, भुटान, बर्मा (म्यानमार) आदि मुलुकमा बसोबास गर्ने नेपाली भाषीहरू अर्कै कुनै मुलुकमा गएर बसोबास गर्न थालेपछि तिनीहरूले नेपाली भाषा प्रयोग गरुन्जेलसम्म नेपालीका रूपमा परिचित हुन्छन् भने क्रमशः पुस्तान्तरमा सम्बद्ध देशको नागरिकता लिई नेपाली भाषा प्रयोग नगरी सम्बद्ध देशको भाषा प्रयोग गर्ने अवस्थामा तिनीहरू नेपालीका नामले नभएर सम्बद्ध देशकै नामको जातिले परिचित हुने स्थिति आउँछ । भारत, भुटान, बर्मामा नेपाली भाषीको सङ्ख्या अलि बढी नै भएकाले अहिलेसम्म तिनीहरु भारतीय नेपाली, भुटानी नेपाली, बर्मेली नेपाली नामबाट चिनिए पनि कालन्तरमा तिनीहरूको सङ्ख्या घट्दै गएपछि तिनको नेपाली पहिचान पनि हराउँदै जान्छ ।


पहिले अमेरिकाले भर्जिनिया, डेलावर, पेन्सिलभेनिया, मेरील्यान्ड, न्यू जर्सी, न्यू योर्क, म्यासाच्युटेस बे, न्यू ह्याम्सायर, कनेक्टिकट, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, जर्जिया, रोड आइल्यान्ड गरी १३ वटा राज्यलाई मात्र बुझाउँथ्यो । पछि अमेरिकाले मेक्सिकोसँग युद्ध गरेर क्यालिफोर्निया गोल्ड रस जितेर तथा रुससँग अलास्का र स्पेनको अधीनमा रहेका दक्षिण अमेरिका र अन्य केही स्थानका केही राज्य किनेर देश विस्तार गरेको देखिन्छ । त्यस बेला अमेरिकाले कतिपय राज्य युद्धबाट जितेर आफ्नो कब्जामा पारेको, कतिपयलाई बेच्ने कि युद्ध गर्ने भनी धम्क्याएर किनेको तथा कतिपय उपहारस्वरूप प्राप्त गरेको देखिन्छ । यसरी हालको ५० राज्यमा विस्तारित विशाल देश अमेरिका बन्न पुगेको हो । यसैकारण अमेरिकालाई गाली गर्नेहरूले विस्तारवादी–साम्राज्यवादी मुलुक भन्ने गरेका हुन् । अहिले अमेरिका भन्नाले पुराना १३ वटा राज्य मात्र नभई समग्र ५० वटा राज्यलाई बुझाउँछ । यहाँको मुख्य भाषा अङ्ग्रेजी भए पनि स्पेनबाट धेरैवटा राज्य लिएको हुनाले त्यो भाषा पनि यथावत् रूपमा प्रयोग हुँदा त्यो पनि एउटा वैकल्पिक मुख्य भाषा नै हुनपुगेको हो तर भाषा स्पेनिस भए पनि राजनैतिक भूगोलका हिसाबले त्यहाँ बसोबास गर्ने सबै पूर्वस्पेनिसहरू अहिले अमेरिकालीका रूपमा परिचित छन् । यस्तो स्थिति विश्वका अन्य मुलुकमा पनि पाइन्छ ।


यसरी पहिले छुट्टै अस्तित्व भएका मुलुक पनि समयक्रममा अर्कै मुलुकसँग गाभिएपछि तिनको पूर्वमुलुकसँगको अस्तित्व समाप्त हुन्छ र नयाँ मुलुकसँगको अस्तित्व कायम हुन्छ । यस्तो स्थिति अमेरिकामा मात्र नभएर संसारका विभिन्न मुलुकमा रहेको छ । सुगौली सन्धिबाट गुमेको नेपालको पूर्ण स्वामित्वमा रहेको नेपाली भूभाग र छुट्टै देशका रूपमा रहेको सिक्किमलाई भारतमा गाभेपछि त्यो भूभाग अहिले नेपाल र सिक्किमको नामबाट अस्तित्वमा नरही भारतका नामबाट चिनिन्छ । अहिले डायस्पोरा भन्ने गरिएको सन्दर्भमा विभिन्न मुलुकबाट अमेरिकादि मुलुकमा पुगेका व्यक्तिहरूले आफ्नो भाषा, संस्कृति आदि पहिचान गुमाइसकेपछि तिनीहरू नेपाली वा अन्य डायस्पोरा नभई तत्देशका नागरिक हुन्छन् भन्ने कुरा बुझ्नु जरुरी छ ।


अमेरिकाजस्तो सम्पन्न मुलुकमा संसारका विभिन्न मुलुकका व्यक्तिहरू आप्रवासीका रूपमा बसोबास गर्दै आएका छन् र कालान्तरमा ती अमेरिकाली हुनपुगेका छन् । त्यसरी बसोबास गर्नेमध्ये कतिपय अमेरिकाको राजनीतिमा सर्वोच्च पदमा पनि पुगेका छन्, जस्तै— केन्याबाट अमेरिका पढ्न आएका बाराक हुसेन ओबामा सिनियर (१९३६–१९८२) ले त्यहीँ बिहे गरी जन्मिएका छोरा बाराक हुसेन ओबामा अमेरिकी राजनीतिमा प्रवेश गरी अत्यन्तै छोटो समयमा राष्ट्रपतिजस्तो सर्वोच्च पदमा दुईपटकसम्म निर्वाचित भएर केन्यालीका रूपमा नभई अमेरिकालीका रूपमा संसार हल्लाएको कुरा सर्वविदितै छ ।


यस्तै, भारतबाट अमेरिका गएका दलिपसिंह सन्ड (१८९९–१९७३) क्यालिफोर्नियाबाट प्रतिनिधिसभा सदस्य (१९५७–१९६३) र पियुष बबी जिन्दाल (१९७१) लुजियानाको गभर्नर (२००८–२०१६) भई तिनले छोटो समयमै अमेरिकी राजनीतिमा पहिचान बनाएको देखिन्छ ।


यसैगरी, नेपालबाट अमेरिका पुगेका केही नेपालीहरूसमेत अहिले त्यहाँको राजनीतिमा संलग्न हुने क्रम जारी छ, जस्तै— ह्यारी भण्डारी मेरील्यान्ड राज्यको राज्यसभा सदस्य, प्रदीप ढकाल भर्जिनिया हन्र्डनको नगरपरिषद् सदस्य, मधु पन्थी मनाससको नगरपरिषद् सदस्य, किरण सिटौला मेरील्यान्डको उपमेयर भएका छन् । यिनीहरू अहिले अमेरिकी नागरिक भए पनि पहिलो पुस्तामै भएका हुनाले नेपाली भाषीकै रूपमा परिचित छन् । तिनका सन्ततिले नेपाली भाषासंस्कृतिको प्रयोग गर्न छाडी क्रमशः त्यहीँको भाषासंस्कृतिको अनुसरण गर्न थालेपछि ती नेपालीका रूपमा नरहेर अमेरिकी नै बन्न पुग्छन् । विभिन्न मुलुकबाट गएका नेपालीहरू नेपाली भाषामा (जो सुकै नेपाली मातृभाषामा पनि) सपना देखुन्जेल तिनको पहिचान नेपाली भन्ने हुन्छ भने जब तिनीहरू नेपाली भाषामा सपना देख्न छाडी त्यही देशको भाषामा सपना देख्न थाल्छन् तिनीहरूको पहिचान पनि त्यही देशकै नाममा गाँसिन्छ । नेपालबाट अमेरिका गएका राई, लिम्बू, तामाङ, नेवार आदिको त्यहाँ सानो समूह भएको हुँदा आफ्नो जातीय भाषाको प्रयोग नगरी आपसी विचार विनिमय गर्दा नेपाली भाषाको प्रयोग गर्छन् र तिनीहरू नेपाली जातिकै रूपमा परिचित छन् र रहन्छन् । समयक्रममा तिनीहरूका सन्तानले नेपाली भाषा प्रयोग गर्न छोडी त्यहीँको भाषा प्रयोग गर्न थालेपछि तिनीहरू अमेरिकाली कहलाउँछन् ।


जुनसुकै देशबाट जहाँसुकै गएका वा आएका व्यक्तिले आफ्नो पुर्ख्यौली देशकै नामबाट आफूलाई परिचित गराउने स्थिति लामो समयसम्म रहन्न । यदि त्यस्तो हुने हो भने अहिले नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मानिस र समग्रमा नेपाली जाति पनि कुनै समयमा अन्यत्रैबाट यहाँ आई बसोबास गरेका हुन् । ती कहाँबाट आए र कहिले आए भन्ने कुराको पनि यथार्थ जानकारी हुँदैन । ती यहाँ आएर नेपालको भूभागमा पुस्तौँपुस्तादेखि बसोबास गरिरहेकाले तिनको पहिचान आफ्नो पुर्खाको बसोबास रहेको पूर्वभूमिसँग नभई नेपालको पहिचानमा नेपाली जातिका नामले परिचित छन् । यस्तो अवस्था संसारका सबै मुलुकका सबै जातिमा रहन्छ । यसर्थ अहिले जानकारीका लागि पुर्ख्यौली भूमि खोज्नु एउटा कुरा हो तर आफ्नो पहिचान त्यही भूमिबाट दिनसक्ने अवस्था रहन्न । यसै क्रममा कतिपय जाति र भाषा त लोप भएर जाने अवस्था पनि रहन्छ ।


अस्ट्रेलिया, क्यानडा, बर्मुडाजस्ता विभिन्न मुलुकमा सुरुमा ब्रिटिसहरू आएर बसोबास गरी शासन गर्न थाले पनि समयक्रममा तिनको पहिचान आफ्नो मूलभूमिका नामबाट बेलायती नभई अस्ट्रेलियाली, क्यानडेली, बर्मुडेली बन्न पुगेको तथ्यले पनि लामो समय बसोबास गरिसकेपछि त्यो जाति पुर्ख्यौली भूमिको नामबाट नभई बसोबास गरेको देशकै नामबाट चिनिने कुरा स्पष्ट हुन्छ । यसरी सम्बद्ध जाति भूगोलका हिसाबले छिटै अर्कै भूगोलका नामबाट परिचित हुन पुगे पनि आफ्नो भाषा र संस्कृतिको उपयोग गरुन्जेलसम्म चाहिँ तिनीहरू भाषिक दृष्टिले नेपाली, चिनियाँ, जापानी, बर्मेली, भियतनामी आदि रूपमा परिचित हुनसक्छन् । संसारका कतिपय भाषा देशकै नामबाट छन् भने कतिपय भिन्न छन् ।


अमेरिकालगायतका कतिपय देशका ठूलाठूला सहरहरूमा अलि ठूलै सङ्ख्यामा बसोबास गरेका व्यक्तिहरूले चाइन टाउन, भारतीय बजार आदि नाम राखेर केही पुस्तासम्म आफ्नो जाति र भाषाको पहिचान दिए पनि अन्ततः ती चिनियाँ वा भारती नभई अमेरिकाली नै बन्न पुग्छन् । तिनीहरू बसोबास गरेको ठाउँ मात्र चाइन टाउन, भारतीय बजारजस्ता नामबाट चिनिन सक्छ । यी सबै दृष्टिबाट हेर्दा जुनसुकै जातिको पहिचानका लागि राजनैतिक भूगोल त्यो देश रहुन्जेलसम्म स्थायी प्रकृतिको हुन्छ भने भाषिक भूगोल पुस्तान्तरमा भाषा लोप नहुन्जेलसम्म कायम रहन्छ र भाषा लोप भएसँगै सम्बद्ध देशमै विलयन हुन्छ ।


यसरी हेर्दा नेपालको राजनैतिक भूगोलभित्र बसोबास गर्ने सबै जाति कालान्तरसम्म नेपाली जातिकै रूपमा परिचित रहन्छन् र तिनको नेपालीत्व एवं नेपालीपन पनि कायम रहन्छ । जसरी नेपाल राज्यको स्थापना भएदेखि अहिलेसम्म कायम छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा अगाडि लमजुङे, गोर्खाली, कीर्तिपुरे, भक्तपुरे आदि नामबाट परिचित भए पनि नेपाल एकीकरणपश्चात् ती सबै नेपाली जातिका नाममा परिचित छन् । कारणवश नेपाल देश रहेन भने नेपाली जातिको पनि अस्तित्व रहँदैन तर यस्ता दुर्भाग्यको कल्पना नगरौँ । ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे....’ भन्ने सन्दर्भको अभिप्राय पनि यही हो ।


यी सबै सन्दर्भबाट हेर्दा प्रदीप परियार थापाले अमेरिकामा बसेर पनि नेपालीत्व र नेपाली जातिको पहिचान कायम रहोस् भन्ने अभिप्रायबाट Nepalism (नेपालीजम) शब्द प्रयोग गरी Nepalism.com नामक अनलाइनको सञ्चालन गरेर आफ्नो जातीयपन र पहिचान कायम गर्न सक्रियता देखाउनु सराहनीय कार्य हो । ऊर्जाशील युवाले आफ्नो तन विदेशमा भएर पनि मनमा नेपालीत्व र नेपालीपन कायम राख्नु र कायम राख्नाका लागि सञ्चारको उपयोग गर्नु महत्वपूर्ण कार्य हो । उनको यस पुण्य कार्यमा संसारभर छरिएर रहेका तमाम नेपाली जाति र नेपाली भाषीहरूले आआफ्नो क्षेत्रबाट गच्छेअनुसारको सहयोग गर्नुपर्छ । आत्तिने, पात्तिने, मात्तिने र तात्तिने नगरी आफ्नो जातीय पहिचान कायम गर्ने यस कार्यलाई प्रदीप परियार थापाले निरन्तरता दिए भने यसले नेपाली जातिलाई निकै फाइदा पुर्याउने कुरामा कुनै सन्देह छैन ।


Editor's Note: सुपरिचित नेपाली भाषाविद, साहित्यकार, समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र ‘मानक नेपाली भाषा अभियान अन्तरराष्ट्रीय सन्जाल’ को अध्यक्ष हुन्।

 
 

Comentários


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page