Special: अमेरिकाको न्यू योर्क राज्यस्थित न्यू योर्क सहरका मेयर एरिक आडम्सले नगर घोषणा (city proclamation) जारी गर्दै अप्रिल १५ लाई मिथिला संस्कृति तथा पर्व दिवसको घोषणा गरेकाछन्। त्यसैगरी, मिथिला सेन्टर र अपन फाउन्डेसन युएसएको संयुक्त आयोजनामा अप्रिल १४ देखि १६ सम्म ‘दिगो विकास लक्ष्यको लागि कला: मिथिला सम्पदा’ मुल नारा सहित तीन दिने मिथिला महोत्सव अमेरिका २०२३ भव्यताकासाथ सम्पन भएकोछ।
न्यू योर्कको कुईन्स ज्याक्सन हाईट्सथित डायभर्सिटी प्लाजामा आयोजित मिथिला महोत्सवमा ४० जना नेपाली बालबालिकाहरु बाल चित्रकला कार्यशाला, प्रदर्शनी र प्रतियोगितामा भाग लिएका थिए भने नेपाल, भारत र अमेरिकाका ९ जना चित्रकारहरुको चित्रकला प्रदर्शनी गरिएको थियो।
उता न्यू योर्क सहरका मेयर एरिक आडम्सले विक्रम संवतको हिन्दू नयाँ वर्ष, प्राचीन हिमालयन राजाको सम्झनामा मनाईने सलहेश जयन्ती र जुड़ सीतल पर्वको अवसर पारेर न्यू योर्क सहरमा हरेक वर्ष अप्रिल १५ का दिनलाई मिथिला सँस्कृति तथा पर्व दिवस (Mithila Culture and Festival Day) घोषणा गरेको ऐतिहासिक अवसरलाई विविध साँस्कृतिक कार्यक्रमहरुको प्रस्तुतिकासाथ भव्यतापूर्वक मनाइएकोछ।
मेयर आडम्सले घोषणामा विश्वभरका आप्रवासीहरूको पुस्ताले न्यू योर्कमा अमूल्य योगदान पुर्याएको जनाउँदै दक्षिण एसियाली अमेरिकीहरूको उल्लेख्य जनसंख्या भएको सहरको नेतृत्व गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गरेका छन् । सामाजिक अभियन्ता अमित प्रताप शाहले २०२१ मा स्थापना गरेको मिथिला सेन्टर दक्षिणी नेपालका मिथिला क्षेत्र र उत्तरी भारतीय मैथिली समुदायको संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित भएको घोषणामा उल्लेख छ । हिमालयको यस क्षेत्रले प्राचीन नेपाली र भारतीय परम्परालाई महाकाव्य रामायण र अन्य हिन्दू साहित्यको ज्ञान र कथाहरूसँग जोडेको तथा विशेष गरी कला र चित्रकलाको शताब्दी पुरानो परम्पराको लागि परिचित रहेको घोषणामा जनाइएको छ । ज्याक्सन हाइट्सको डाइभर्सिटी प्लाजामा आयोजित मिथिला महोत्सवमा नेपाली र भारतीय न्यू योर्कवासीहरूसँग सामेल हुन पाउँदा खुसी लागेको मेयर आडम्सले बताए ।
मिथिला सेन्टरले प्रथम मिथिला महोत्सव सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्र संघको मुख्यालय न्यू योर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्न भएको थियो ।
यसैविच, नेपाल सरकारको हुलाक विभागले सन् २०२१ को डिसेम्बर २९ मा १७ वटा मिथिला चित्रकलाहरू रहेको हुलाक टिकट जारी गरेको थियो। ति १७ वटा मिथिला चित्रकलाहरू सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्र संघको मुख्यालय न्यू योर्कमा आयोजित प्रथम मिथिला महोत्सव चित्रकला प्रदर्शनीमा प्रदर्शित १७ जना मैथिली महिला कलाकारहरूको संकलनबाट प्रकाशित गरिएको थियो ।
मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले अमेरिका तथा अन्य राष्ट्रहरूमाझ साँस्कृतिक पर्वको रूपमा मनाउनेमात्र नभई संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हाँसिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।
दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीताको विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो । मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो साँस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् । यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्यमान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामाको न्यू योर्क र न्यू जर्सीमा लगायत बिभिन्न राज्यहरूमा समेत हजारौंको संख्यामा मिथिला समुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास बसोबास गर्दै आएका छन् ।
मिथिला कला संसारभर प्रख्यात छ । महिला कलाकारहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ । घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला कालाकारहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँ पिढीहरुमा हस्तान्तरण हुँदै आएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवं सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ। महिला वा पुरुष कलाकारका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।
Comments