top of page

नायक पल शाह जेल छुटे पछि।जनताबाट माया, मिडियाबाट छाँया।(उच्च अदालतको पूर्ण पाठ सहित)

Writer's picture: Nepalism.comNepalism.com

Updated: Mar 1, 2023


-प्रदीप परियार थापा

Updated: Exclusive: सत्र वर्षीय नावालिका गायिकाको झूठो आरोपमा अदालतको न्यायिक प्रक्रियाकोक्रममा एक वर्षसम्म जेलको कष्टकर वन्दी जीवन बिताएर सफाई पाई निर्दोष साबित भै रिहाई भएका नेपाली चलचित्र र साँगितिक क्षेत्रका लोकप्रिय अभिनेता पल शाह, उनको भावविह्वल परिवार र उनका लाखौं करोडौं प्रसंशकहरूको खुशीको पल तथाकथित मूलधारका भनिने नेपाली मिडियाको लागि हर्ष न विष्मात जस्तै भो। तर अभियोग लाग्दा दोषी र अपराधी करार जस्तै गरी सयौं सनसनीपूर्ण समाचार संप्रेषण गर्दै नायक शाहको निर्मम् चरित्र हत्या गरेर नथाक्ने नेपाली मिडियाहरूले सम्मानित उच्च अदालत पोखराको संयुक्त इजलासले नायक शाहलाई आरोपित सबै अभियोगहरूबाट निर्दोष ठान्दै सफाई दिएपछि चैं नायक शाहको अनाहकमा भएको चरित्र हत्या, मानहानिबाट भएको अपूरणीय क्षतिको पुनर्थापना र जनताको सुसूचित हुने हकको सुनिश्चितताको निम्ति प्राथमिकताकासाथ समाचार सम्प्रेषण गर्ने दायित्व हुँदैन? तेसै “बाह्र भाइ मिडिया मठ” भनेर नेपाली मिडिया बदनाम भएका हैनरैछ। कठै!


सम्मानित उच्च अदालत पोखराको संयुक्त इजलासले दिएको सफाईको भोली पल्ट सोमवार नायक पल शाह तनहुँ कारागारबाट जेल मुक्त भएका हुन्। तर केही अतिवादीहरू पल शाहलाई अझै पनि अपराधी प्रमाणित गर्न लागि परेकाछन्। मानौं कि पल शाहले अदालतलाई पैसाको खोलो बगाएर र शक्तिको प्रभाव पारेर न्यायिक फैसलालाई आफ्नो पक्षमा फैसला गराएका हुन्। पल शाहले एक वर्षसम्म जेलको कष्टकर जीवन जिएर न्यायलयको पूर्ण अदालती प्रक्रिया पुरा गरेर निर्दोष सावित भएपछि मात्र जेल छुटेका हुन्। नायक पल शाह दांग जिल्लाबाट काठमाण्डूमा आई संघर्ष गर्दै सफलताको सिंढि चढ्दै गरेका एक सामान्य परिवारका छोरा हुन्। यो समाचारको कभर फोटोमा देखिएका व्यक्तिहरू उनका आमा-बाबा र बिहिनी हुन्। यिनीहरूको वर्ष दिनसम्म बगेको आँशुको कुनै मूल्य छैन? अदालतले निर्दोष सावित भएका पल शाह कसैका छोरा हुन्, कसैका दाई हुन् अन्य सरह। न्यायालयबाट निर्दोष सावित पल शाह के अझै पनि अपराधी र दोषी हुन्? किन मान्छेहरू अझै पललाई नै दोषी देख्न खोज्दैछन्? के एक पटक आरोपित व्यक्तिले अदालतबाट सफाई पाउनै हुन्न? हाम्रा पक्षपाती, कुरूप, संकिर्ण र अतिवादी सोंचको कारण मानवता भन्ने जिनिस हामी विचबाट हराएकै हो?


नायक पल शाहले यसरी सफाई पाए


नेपाली लोकप्रिय अभिनेता पल शाहलाई उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको छ । नायक पल शाहलाई “अभियोग दावी वमोजिम जबरजस्ती करणीको कसूरमा कसूरदार ठहर गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन” भन्दै उच्च अदालत पोखराको फैसलामा भनिएको छः “अतः सुरू नवलपुर जिल्ला अदालतको उक्त फैसला उल्टी भई, पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले अभियोग दावीबाट सफाई पाउने ठहर्छ।” दोषी प्रमाणित नहुँदासम्म जोकोही निर्दोष (innocent until proven guilty) हुन्छ भन्ने अमेरिकी लिगल सिस्टमले स्थापित गरेको न्यायिक मान्यताको पछिल्लो उदाहरण बनेकाछन्-पल शाह। तर विडम्बना! नेपाली मिडियाबाजीले उनलाई अपराधी र दोषी सावित गर्ने गरी यति बदनाम गर्योकि यो विश्वव्यापी कानूनी मान्यताको धज्जी उडाईदिएको छ। पढ्नुहोस् उच्च अदालत पोखराले सफाई दिंदै “कारागार मुक्त गरिदिनु” भनी जारी गरेको फैसलाको पूर्ण पाठः


“श्री

उच्च अदालत पोखरा

संयुक्त ईजलास

माननीय कायम मुकायम मुख्य न्यायाधीश श्री डिल्लीराज आचार्य

माननीय न्यायाधीश श्री श्रीधरा कुमारी पुडासैनी

फैसला (राय किताब उतार)

इजलास नं. १

मुद्दाः जबरजस्ती करणी ।

०७९-cs-०३१२


पल शाह भन्ने पूर्णविक्रम शाह ……………… पुनरावेदक/प्रतिवादी


विरूद्ध


परिवर्तित नाम २०७८ गैंडाकोट ५(ख) को जाहेरीले नेपाल सरकार ……………… प्रत्यर्थी/वादी


०७९-cs-०४००

परिवर्तित नाम २०७८ गैंडाकोट ५(ख) को जाहेरीले नेपाल सरकार ……………… पुनरावेदक/वादी

पल शाह भन्ने पूर्णविक्रम शाह ……………… प्रत्यर्थी/प्रतिवादी


यसमा पुनरावेदनपत्र सहितको सुरू मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उच्च सरकारी वकील कार्यालय, पोखराका विद्वान् उपमहानायाधिवक्ता श्री कृष्ण बहादुर थापा र श्री कमलमोहन वाग्ले एवं विद्वान् अधिवक्तात्रय श्री जनकराज ढुंगाना, श्री गणेशप्रशाद अधिकारी र श्री माधव घिमिरेले गर्नुभएको बहस समेत सुनियो।


यसमा, प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाह र पीडित भनिएकी नावालिक परिवर्तित नाउँ २०७८ गैंडाकोट ५ (क) बाग्लुंग-तनहूँ हुँदै गैंडाकोट सौराहा समेतका स्थानहरूमा पुगी “सुर्ति माड्दै माड्दै” भन्ने समेतका बोलका गीतहरूमा सुटिंग गरी वारदात मिति २०७७।१२।७ गते राती गैंडाकोट रिसोर्टमा होटल संचालिका सुलोचना कुवँर जिसीकी १२ वर्षीया छोरी, सामीया जिसीसँगै परिवर्तित नाउँ गैंडाकोट ५(क) राती सुतेकी र प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाह सोही होटलको कोठा नं. १०१ मा बसेको सम्मको आंशिक तथ्यलाई प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले स्वीकार गरेपनि अभियोग दावी बमोजिमको जबरजस्ती करणी सहितको यौन दुर्व्यवहार परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) उपर आफूले नगरेको भनी मौकामा कागज गर्दा र सुरू नवलपुर जिल्ला अदालतमा बयान गर्दा समेत अभियोग दावी बमोजिमको कसूरमा ईन्कार रहेको, परिवर्तित नाउँ २०७८ गैंडाकोट ५(क) ले सुरू अदालतमा प्रतिवादीबाट जबरजस्ती करणी सहितको यौन दुर्व्यवहार नभएको भनी बकपत्र गरेकी, जाहेरवाला परिवर्तित नाम २०७८ ५(ख) ले समेत जाहेरी बेहोरालाई अस्वीकार गरी प्रतिवादी कसूरदार होईनन् भन्ने समेत बेहोराबाट बकपत्र गरेका, मौकामा बुझिएका घटना विवरण समेतमा वादी नेपाल सरकारको तर्फबाट रहेका सबै साक्षीहरूले अभियोग दावी बमोजिम प्रतिवादीले जबर्जस्ती करणी गरेका होईनन् भनी बकपत्र गरेका, वारदातको मितिको ५ महिना पछि अर्थात मिति २०७८।११।१५ गतेका दिन परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) ले प्रतिवादीलाई “हामीलाई थाहा छ, हामी विच त्यस्तो केही भएन, यस विच तिमीलाई परेको दुःखका लागि माफी माग्न चाहन्छु……..” भन्ने समेत बेहोराबाट प्रतिवादीको मोवाईलमा म्यासेज गरेको देखिएको, पोलिग्राफ परीक्षण गर्दा प्रतिवादीको प्रस्तुती अवस्था ठीक (confidence level more than 99%) रहेको भन्ने उक्त प्रतिवेदनबाट देखिएको र अनुसन्धानको क्रममा संकलन भएको परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) र प्रतिवादीका विचको सम्वाद (अडियो) को विश्वसनीयता शंकारहीत प्रमाण एवम् अन्य वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन नसकेको समेतका आधार र प्रमाणहरूबाट प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी बमोजिमको जबरजस्ती करणीको कसूर (वारदात) परिवर्तन गरी निजको कसूरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(१) को कसूर ठहर गरी, सोही ऐनको दफा २२५ (२) बमोजिम २ वर्ष ६ महिनाको कैद सजाय तथा रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने र परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) ले प्रतिवादीबाट रू.१०,००,०००।- (दश लाख रूपैयाँ) क्षतिपूर्ति वापद भराई पाउने ठहर्याएको सुरू नवलपुर जिल्ला अदालतको मिति २०७९।५।२१ को फैसला उल्लिखित आधार र कारणबाट मिलेको देखिएन।


अतः सुरू नवलपुर जिल्ला अदालतको उक्त फैसला उल्टी भई, पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले अभियोग दावीबाट सफाई पाउने ठहर्छ।


प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी वमोजिम जबरजस्ती करणीको कसूरमा कसूरदार ठहर गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।


पुनरावेदक पल शाह भन्ने पूर्णबिक्रम शाह अन्य मुद्दाको रोहबाट थुना वा कैदमा राख्न नपर्ने भए प्रस्तुत मुद्दाको रोहबाट कारागार मुक्त गरिदिनु भनी निज कैद (थुना) मा रहेको जिल्ला कारागार कार्यालय तनहूँमा अविलम्ब लेखी पठाउनु।


(श्रीधरा कुमारी पुडासैनी)

न्यायाधीश

उक्त रायमा म सहमत छु।


(डिल्लीराज आचार्य)

कायम मुकायम मुख्य न्यायाधीश


इति सम्वत् २०७९ साल फागुण महिना १४ गते रोज १ शुभम् ……………………।”


पल शाह घटना


उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले “प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी वमोजिम जबरजस्ती करणीको कसूरमा कसूरदार ठहर गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन” भन्दै सफाइ दिएको हो ।


नवलपुर जिल्ला अदालतको मिति २०७९।५।२१ को फैसलाले “प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहलाई अभियोग दावी बमोजिमको जबरजस्ती करणीको कसूर (वारदात) परिवर्तन गरी निजको कसूरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(१) को कसूर ठहर गरी, सोही ऐनको दफा २२५ (२) बमोजिम २ वर्ष ६ महिनाको कैद सजाय तथा रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने र परिवर्तित नाम २०७८ गैंडाकोट ५(क) ले प्रतिवादीबाट रू.१०,००,०००।- (दश लाख रूपैयाँ) क्षतिपूर्ति वापद भराई पाउने ठहर्याएको सुरू नवलपुर जिल्ला अदालतको मिति २०७९।५।२१ को फैसला” लाई “उल्लिखित आधार र कारणबाट मिलेको देखिएन” भन्दै नायक पल शाह निर्दोष भएको फैसला भएको हो।


नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल र नायक पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । नावालिका भनिएकी, उच्च अदालत पोखराका अनुसार परिवर्तित नाम “२०७८ गैंडाकोट ५(क)” ले दिएको मुद्दामा जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएको थियो ।


ति नावालिका भनिएकी, १७ वर्षीया, उच्च अदालत पोखराका अनुसार परिवर्तित नाम “२०७८ गैंडाकोट ५(क)” ले पल शाहले म्यूजिक भिडियो सुटिङका क्रममा दुई पटक दुई फरक स्थानमा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते (फेब्रुवरी २३) तनहुँ जिल्ला अदालतमा र फागुन १५ गते (फेब्रुवरी २३) नवलपुर जिल्ला अदालतमा उजुरी दिएकी थिइन्। तर पछि अप्रिल १७ तारिख बकपत्रको क्रममा निज नाबालिकाले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेर “जबरजस्ती करणी सहितको यौन दुर्व्यवहार नभएको भनी बकपत्र” गरेकी थिईन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page