Exclusive: प्रवासमा रहेका एनआरएन भनेर चिनिने हामी झण्डै करोड गैरआवासीय प्रवासी नेपालीहरूको प्रतिनिधिपात्रको रूपमा अमेरिकाबाट आठ वर्ष अघि मातृभूमि नेपाल फर्केका रवि लामिछाने र उनको नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई वर्ष अघि शुरू गरेको निलो क्रान्तिको उदयसंगै चम्किएको एनआरएनहरूको नेपाल फर्किने सपनामा यतिखेर कुठाराघात भएकोछ। निरंकुश पंचायती व्यवस्था फालेर विगत चौंतिस वर्षदेखि बहुदलीयता, संघीयता र प्रजातन्त्रको नाममा मातृभूमि नेपाल आमाको दोहन गरेर नेपाली जनतालाई वेथिति, भ्रष्टाचार, गरिवी र अनिश्चित भविष्यमा धकेलेका पुराना दल र यसका डेट एक्सपायर्ड नेताहरू सरकारी सन्यन्त्रको चरम दुरूपयोग गर्दै रवि लामिछानेलाई कथित सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँध्दै प्रहरी हिरासतमा लिएकाछन्। तर नेपाली शासकहरूले यो बुझि राखून्- अब हजारौं लाखौं रविहरू जन्मिसकेका छन्। रवि र रास्वपा एउटा व्यक्ति र पार्टी मात्र हैन, निलो क्रान्तिबाट देशलाई सुशासन र समृद्धिको बाटोमा डोर्याउने ननिदाईकन देखिएको युवाहरूको सपना हो।
रवि लामिछानेले डेढ वर्ष अघि जब आफू जन्मेको मातृभूमि नेपालमा अनागरिक बनाईए, भनेका थिए “हो, म आमाको काखमा फर्किएको मान्छे हूँ। के यो देशमा मान्छे बाकसमा मात्र फर्केर आउनु पर्ने हो? म बाकसमा फर्किएको हैन। सास लिएर फर्किएको हूँ। आँट लिएर फर्किएको हूँ यो देशमा केही गर्छु भनेर।”
रवि लामिछाने अमेरिकाबाट मातृभूमि नेपाल फर्किएका पूर्व गैरआवासीय (एनआरएन) र पूर्व संचारकर्मी हुन्। उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन् २०२२ मा सम्पन्न आमनिर्वाचनमा देशको चौंथो ठूलो राजनीतिक दल बनेपछि पुराना दल र पुराना नेताहरूको मुटुमा ढ्यांग्रो ठोकेको थियो। यसै कारण हो रवि र रविहरूलाई निस्तेज पार्न सरकारी संयन्त्र दुरूपयोग गरेर सहकारी काण्डको अनुसन्धानको वाहनामा रविलाई जेलमै सडाउने प्रपन्च। आफ्नै देशमा अनागरिक बनाईएका रवि र आफ्नै देशबाट दैनिक पचीस सय युवाहरू विदेशिन वाध्य पारिएका रविहरूलाई साईडलाईनमा राखेर देशमा एक छत्र कुशासन चलाउने नियत हो यो रवि पक्राउ प्रकरण।
रविले अदालतबाटै अनागरिक बनाईएपछि तत्कालिन प्रचण्ड सरकारबाट हट्दै गर्दा डाकिएको पत्रकार सम्मेलनमा भनेको कुरा यहाँ स्मरणीय छ- “मुलुकको लागि केही गर्न चाहेका हामी जस्ता मान्छेहरू जो बाकसमा आउन चाहेनन्” ।
उनले अगाडि भनेकाथिए-
“मलाई एउटा सिद्धिएर यो देश बन्छ भने तपाईले सिध्याउनु पर्दैन।म कहाँ गईदिन पर्ने हो, म जंगल जान पर्ने हो कि, विदेशै जान पर्ने हो कि, कहाँ जान पर्ने हो म गईदिन्छु। तर यो देश जोगाउँ। पत्रकारिताको मर्यादालाई जोगाउनु होला। त्यो चिज तपाईको कलम भुत्ते भयो त्यसलाई जोगाउनु होला।क्यामेराको मर्यादा राख्नोस् ताकि नेपाली जनताले सुकुनको सास फेर्न पाउन्। सेटिंग गरेर, भित्रभित्रै मिडियाको डर देखाएर बिजिनेस लिने। मिडियाको डर देखाएर व्यापार लिने। मिडियाको डर देखाएर राजनितिमा स्थापित हुने। मिडियाको डर देखाएर सत्ता समिकरण बदलिने। मिडियाको डर देखाएर मन्त्री हुने, मन्त्री पद खुस्किने त्यो दिनको नियति कसैले खोज्न नपरोस्। म यहाँबाट बाहिर निस्किएकोछु। म अभिमन्यु हैन।”
उक्त पत्रकार सम्मेलनमा रविले भनेका थुप्रै मनन् योग्य भनाईहरू मध्ये केही चुनिएका भनाईहरू यस्ता छन्ः
“म जेल परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ। म मरे परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ, म बौलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ। यो मिसन हो। एउटा व्यक्ति माथि जाने कि नजाने भनेर लागेका हैनौं। यो बेथितिबाट वाक्कदिक्क भएर हामी यस पटक सरकारमा गएका हौं एउटा जिम्मेवारी लिएर।”
“हामी जनतालाई राजा बनाउन हिंडेका हौं।… तर यदि लोकतन्त्र थिएन भने म जस्तो मान्छेले निर्वाचित भएर, सत्ताको विरूद्धमा आगो ओकलेर राजनीतिमा आएर, मिडियामा गएर आम जनताको ईस्यूमा कुरा उठाएको र राजनितिक गलले गरेको, शासकहरूले गरेका बदमासीको भण्डाफोर गरेर, चुनाव उठेर, जितेर उपप्रधान र गृह मन्त्री बन्न सक्ने ल्याकत भएकाले हामीले यो व्यवस्थालाई मानेर व्यवस्था भित्र अवस्था फेर्न आएका हौं।”
“(म) नेपाली जनतासंग डराउँछु। गलत काम गर्छु कि भनेर डराउँछु। कसैसंग डराउँदिन।अरू त्योभन्दा बाहेक कसैसंग डराउँदिन। म मर्न पनि डर छैन, लोभ पनि राखेको छैन।”
“मलाई यति लेखेटे, यति लखेटो, मलाई उपप्रधान र गृह मन्त्री बनाए। अब बाटोमा हिड्छु, त्रिशुलीमा खसाली दिने एउटा उपाय छ। म खसेछु भने पनि यो बिचार जन्मि सकेकोछ, यो मर्दैन। अन्य धेरै उपाय छन्, को सुरक्षित छ र! म जाबो बबुरो के सुरक्षित होला, सरकारले दिएको सुरक्षा त लिन्न। म केही सुरक्षित छैन। नेपाली जनताले जोगाएसम्म यि बाह्र भाईको डर छैन, कुनै भाईको डर पनि छैन।”
“नचलाउनुस् मलाई। Please leave me alone. Let me work. छोड्दिनुस् मलाई, सक्नु हुन्न यार।सक्नु हुन्न, सक्दै त सक्नु हुन्न। कहिलेसम्म सक्नु हुन्न भने जबसम्म मैले ईमान गुमाउन्न। ईमान गुमाएको दिन मलाई तपाई चाहिन्न एउटा भुसुनाले ढाल्दिन्छ मलाई। मसंग केही छ भने त्यो ईमान हो तपाईले नदेखे पनि त्यो ईमानको बलमा म अगाडि बढेकोछु।”
रवि लामिछाने प्रवासबाट मातृभूमि नेपाल फर्केका एक प्रतिनिधि पात्र हुन्। रविलाई खान खोज्ने बाघले हामी प्रवासी नेपालीलाई पनि एक दिन नखाला भन्न सकिन्न। काल आउनुको कुरा हैन काल पल्केको कुरा मनन् गरौं। एक पटकको नेपाली संधैको नेपाली भन्ने हामी प्रवासी नेपालीको नारा, माग र आकाँक्षामा कुठाराघात कसैबाट नहोस्। नागरिकताको निरन्तरता र दोहोरो नागरिकताको हाम्रो माग अब न्यूनतम र आधारभूत माग बनोस् र नेपालको संविधान र नागरिकता ऐन कानूनमा सुनिश्चित गरियोस्।
रवि र निलो क्रान्तिको ज्वाला दन्किसक्यो। अब रविहरू र निलो क्रान्तिबाट मातृभूमि नेपाल आमाको मुहार फेर्ने महाअभियानलाई कसैले रोक्न सक्दैन। सक्दै सक्दैन त।
-प्रदीप परियार थापा
Komentáře