top of page

आफ्नै पासपोर्ट मुद्दामा निर्दोष बने रवि लामिछाने। अब दोहोरो नागरिकता प्रवासी एनआरएनहरूको माग किन?

Writer's picture: Nepalism.comNepalism.com

-प्रदीप परियार थापा

Exclusive: अन्ततः रवि लामिछानेले आफ्नै पासपोर्ट दुरूपयोग गरेको तथाकथित आरोपित मुद्दामा नेपालको प्रहरी प्रशासन, अदालत र महान्याधिवक्ताले दुरूपयोग नगरेको ठहर गरेपछि निर्दोष सावित भएकाछन्। यो रवि राहदानी प्रकरणपछि विगतमा ४ जना साँसदहरूले आफ्नो रातो कुटनीतिक पासपोर्ट दुरूपयोग गर्दै लाखौं रूपैंयाँमा अर्कैलाई बेचेर पैसा झ्वाम पारेकै जसरी रविले आफ्नो सही विवरण पेश गरी आफ्नै पासपोर्ट नविकरण गरेको अवस्थालाई राहदानी दुरूपयोग भनी अपराधीकरण गर्न खोजिएको प्रष्ट भएकोछ। र, अब प्रवासी एनआरएनहरूले यसरी अबान्छित कानूनको फन्दाबाट जोगिन समाधानकोरूपमा नेपाली नागरिकताको निरन्तरताको माग गर्दै दोहोरो नागरिकताको विश्वव्यापी प्रचलित व्यवस्थाको निम्ति जोडदार आवाज उठाउनु पर्ने भएकोछ।


किन रवि लामिछानेको राहदानी प्रकरण र नेपालका अन्य मन्त्री, साँसदहरूले दुरूपयोग गरेको रातो कुटनीतिक पासपोर्ट काण्डमा आकाशजमिनको भिन्नता छ?


रवि लामिछाने अमेरिकाबाट नेपाल फर्केका पूर्व एनआरएन या प्रवासी नेपाली हुन्। उनी नेपालमै जन्मेका नेपाली छोरो हुन् भन्ने कुरामा एक रति शंका छैन। नेपाल फर्केपछि उनले आफ्नै नाममा जारी नेपाली पासपोर्ट नविकरण गरेका थिए आफैका लागि। रविको एउटै त्रुटी के थियो भने उनले अमेरिकाको नागरिकता र पासपोर्ट छँदै नेपाल फर्केपछि आफूले कहिल्यै नत्यागेको आफ्नो पुरानो नेपाली पासपोर्ट नविकरण गरेका थिए । रवि राहदानी प्रकरण घटना घट्नु अघि अर्को देशको पासपोर्ट हुँदैगर्दा आफ्नो नेपाली पासपोर्ट नविकरण गर्न नहुने/नपाईने कानूनी व्यवस्था, अभ्यास र निर्देशन कहीं कतै थिएन।


हस्तलिखित पासपोर्टको दुरूपयोग

एमआरपी र ई-पासपोर्टको नयाँ प्रचलन


नेपालले सन् २०२१ को नोवेम्बर १७ देखि ईलेक्ट्रोनिक पासपोर्ट जारी गरेकोछ। सन् २०१५ सालको नोवेम्बर २४ पछि मेसिन रिडेबल (एमआरपि) पासपोर्ट अनिवार्य गरेको हो। त्यस अघि अन्तर्राष्ट्रिय सिभिल एभिएसन अर्गनाईजेसन (ICAO) को निर्देशन अनुसार सन् २०१० पछि एमआरपि पासपोर्ट बाध्यात्मक स्थिति भएपछि सन् २०१० को मार्च ३१ पछि नेपालले हस्तलिखित पासपोर्ट जारी गर्न बन्द गरेको थियो। यस्तो व्यवस्था गरिएको कारण राहदानी बेचबिखन दुरूपयोग रोकी विश्वमा बिकराल बन्दै गएको मानव तस्करहरूको मानवबेचबिखन रोक्नु थियो।


सन् २०१५ अघिको नेपालको पुरानो हस्तलिखित पासपोर्टमा फोटो टाँसेर हातले राहदानी वाहकको विवरण लेखिएको हुन्थ्यो। सो को फाईदा उठाउँदै मानवबेचबिखनका गिरोहहरूले नेपाली राहदानीधारी मन्त्री, साँसद र सेलिब्रिटीहरूसंग साँठगाँठ गरी लाखौं रूपैंयाँको मोटो रकममा अर्कै व्यक्तिलाई बिक्रीवितरण गर्दथे। रातो कुटनीतिक पासपोर्ट र विदेशको भिसा लागेको साधारण हरियो पासपोर्ट लाखौंमा बिक्री हुन्थे । पढ्नुहोस् समाचार अर्काईभः RED PASSPORT SCAM


त्यसैगरी, जिल्लाका सिडियो र कर्मचारीको मिलिभगतमा विदेशी नागरिक (विशेष गरी नेपालीको अनुहार मिल्ने भारतीय, बंगलादेशी, पाकिस्तानी, तिव्वती) लाई रू. १० हजारमै पनि सक्कली राहदानीनै बिक्री गरिन्थ्यो। पढ्नुहोस् दि काठमाण्डू पोष्टको समाचार अर्काईभः Misuse of Nepali passports by foreigners rampant: Police


अर्को समाचार पनि पढ्नुहोस् झण्डै यसवटा नक्कली पासपोर्ट बिक्रीवितरण काण्डबारेः 95 fake Nepali passports seized in 2011


यसरी राहदानी दुरूपयोगको ज्वलन्त उदाहरणहरू पढ्न सकिन्छ। तेति मात्र होर, सन् २०११ मा रातो कुटनीतिक पासपोर्ट दुरूपयोग आरोप लागेका तत्कालिन नेकपा एमाले साँसद नारदमणी राना (कैलाली) जसलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बन मन्त्री बनाएका थिए। त्यसैगरी, संविधान सभाका सभासदहरू नेपाल जनता दलकी गायत्री शाह, मधेसी जनअधिकार फोरूम-रिपब्लिकनका विश्वनाथ प्रशाद यादव र मधेसी जनअधिकार फोरूम-नेपालका शिव पुजन राय यादवले पनि आ-आफ्नो रातो कुटनीतिक पासपोर्ट अर्कैलाई बेचेर दुरूपयोग गरेका थिए।


उक्त घटनाको समाचार अनुसार, मन्त्री बनेका साँसद नारदमणी रानाको रातो कुटनीतिक पासपोर्टमा म्याग्दीका निर्मल बानियाँ, सभासद गायत्री शाहको रातो कुटनीतिक पासपोर्टमा सीता शाह र सभासद विश्वनाथ प्रशाद यादवको रातो कुटनीतिक पासपोर्टमा पृथ्वी छन्त्याल आआफ्नो फोटो टाँसेर अष्ट्रेलियाको लागि उडेका थिए भने उनीहरूलाई आबुधावी अध्यागमनले पक्रेर नेपाल फर्काएपछि राहदानी दुरूपयोग काण्ड मिडियामा छताछुल्ल भएको थियो। पढ्नुहोस् दुई समाचार अर्काईभहरू दि हिमालयन टाईम्सको Former MP tainted over passport misuse lands ministerial seat र रजनीस भण्डारीको खोजमूलक समाचार RED PASSPORT SCAM


लामिछानेलाई कसरी फँसाउन खोजियो?


माथि उल्लेखित घटनामा जसरी राहदानी दुरूपयोग गरिएको रोक्न जारी गरिएको कानूनी फन्दाको पासोमा रवि लामिछानेलाई पार्न खोजिएको थियो। अर्को महत्वपूर्ण कुरा, प्रवासी एनआरएनहरूले माग गर्दै आएको वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता कायम गरिने गरी नागरिकता ऐन र दोहोरो नागरिकताको व्यवस्था नेपाल सरकारले अहिले नगरेको अवस्थामा रवि लामिछानेलाई आफ्नै मातृभूमि नेपालमै अनागरिक बनाउने चलखेल शुरू भएको थियो र उनी सो चक्रव्यूहमा फँसाईएका थिए। रविले न पूर्व साँसदहरू नारदमुनी राना, गायत्री शाह, विश्वनाथ प्रशाद यादव र शिव पुजन राय यादवहरू जसरी आफ्नो रातो कुटनीतिक पासपोर्ट अर्कैलाई बेचेर पैसा झ्वाम पारेका थिए, न अर्काको नक्कली फोटो, नक्कली जन्मतिथि राखेर नक्कली पासपोर्ट बनाएका थिए।


स्मरण रहोस्, विगतमा सयौं (हजारौं?) रातो कुटनीतिक पासपोर्ट, विदेशको भिसा लागेको नेपालीको हरियो पासपोर्ट अर्कै व्यक्तिलाई साठी सत्तरी लाख रूपैंयाँसम्ममा बिक्री भएको र जिल्ला जिल्लाबाट सिडियो र कर्मचारीले फर्जी सिफारिस गरी रू. १० हजारमै बिक्रीवितरण गरिएको समाचार अझै पनि ईन्टरनेटमा पढ्न उपलब्ध छ।


एनआरएन भनिने प्रवासी नेपालीले रवि लामिछानेको राहदानी र नागरिकता प्रकरणबाट के पाठ सिक्ने?


रवि लामिछानेको राहदानी र नागरिकता प्रकरणपछि नेपालको संविधान र नागरिकता ऐन आफ्नै राहदानीमा फँसाउन मिल्ने गरी दुरूपयोग गरिन सक्ने राष्ट्रघाती-सन्ततीघाती रहेको कुरा रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी सर्वोच्च अदालतको पूर्व पाठ सहितको संवैधानिक इजलासको फैसलाले उजागर गरेकोछ। अब नेपाली वंशजको आधारमा प्रवासमा रहेका एनआरएन भनिने प्रवासी नेपालीहरूले नागरिकताको निरन्तरता अनुरूप विश्वव्यापी प्रचलनमा रहेको दोहोरो नागरिकता (dual citizenship) को व्यवस्थाको माग पुरा गर्न लाग्नु पर्ने अपरिहार्यता आएकोछ। पचास लाखदेखि एक करोडको संख्यामा विदेशीभूमिमा रहेका नेपालीहरूलाई पाखा लगाई नेपाललाई फिजीकरण गर्ने राष्ट्रघाती संविधान, ऐन कानूनको संशोधन गरी छातीमा मातृभूमि नेपाल आमालाई राखेर जिईरहेका प्रवासी नेपालीहरूलाई उनीहरूको नेपाली भएर बाँच्न पाउने अक्षुण्य हक सुनिश्चित गर्नु आजको आवश्यकता भएकोछ। पढ्नुहोस् सर्वोच्च अदालतद्वारा जारी रवि लामिछाने नागरिकता प्रकरणबारे फैसलाको पूर्ण पाठ


यसैविच, रवि लामिछानेले जनवरी २९, आईतवार आफूले बि.सं. २०५० सालमा लिएको पुरानै ना.प्र.नं. १८२२२ नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गै सर्वोच्च अदालतको फैसलाबाट निष्कृय भएको पुरानो नागरिकताको प्रमाणपत्र बुझाएर पुनःप्राप्तिको निवेदन दिएर पुरानै ना.प्र. नंवर कायम गरी नेपाली नागरिकता प्राप्त गरेका हुन् ।


यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि पार्टीको सभापतिमा पुनः नियुक्त भैसकेका छन्।


सर्वोच्च अदालतले जनवरी २७, शुक्रबार रवि लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको तर नेपाल फर्केपछि अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्ति नगरेको ठहर गर्दै लामिछानेको सांसद पद खारेज गरेको थियो । जसको फलस्वरूप लामिछाने आफूले सम्हालेको नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदबाट मुक्त भएका थिए।

0 comments

Kommentare


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page