-प्रदीप परियार थापा
भ्रष्टतन्त्र नेपालको नानीदेखिको बानी रहेछ भन्ने कुरा नेपाल एकिकरण अभियन्ता राजा पृथ्बीनारायण शाहले सवा दुई सय वर्ष अघी उद्घोष गरेको दिव्यवाणी ‘घुस दिन्या र लिन्या दुबै देशका शत्रु हुन्' ले पुष्टि गर्दछ तर हालसालै दोश्रो पटक नेपालको सभासद बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले साविकको प्रतिनिधिसभा सदस्यको शपथमा “थप शपथ” लेखी हस्ताक्षर गरी लिएको शपथ “भ्रष्टाचार गरेर खानु आमाको रगत खाएको सरह मानेर काम गर्नेछु” भन्ने प्रतिवद्दताले दूरगामी असर पार्ने देखिन्छ। उता राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेहरूले गरेको भ्रष्टाचारको जरो उखेल्ने प्रतिवद्धतालाई जनताले दिएको अनुमोदनले पनि जनता भ्रष्ट नेताहरूदेखि वाक्कदिक्क भएको प्रष्ट संकेत गर्दछ।
राणा र पंचायतिकालमा मात्र हैन तेत्तिस वर्ष अघि पुनर्स्थापित बहुदलीय व्यवस्थापछिका हरेक नेपाली शासक र नेताहरुले पृथ्बीनारायाण शाहको दिब्यवाणीलाई लोप्पा खुँवाउँदै उल्टो भ्रष्टाचारमा चुर्लुम्म डुबेर खिल्ली उडाएको प्रतीत हुन्छ । भ्रष्टाचार (घुस) कै कारण नेपालको विकास निर्माणको बजेट चौपट हुने गरेको छ ।
विश्व मन्चमा भ्रष्टाचारमा नेपालको अवस्थिति सर्बनाक छ। ट्रान्सपारेन्सी ईन्टरनेसनलको सन् २०२० र २०२१ को CORRUPTION PERCEPTIONS INDEX रिपोर्टअनुसार १८० मुलुकहरू मध्ये नेपाल अझै खस्केर ११७ औं भ्रष्ट मुलुकको रूपमा दर्ज छ। सन् २०१९ को रिपोर्टअनुसार नेपाल ११३ औं भ्रष्टमुलुकको रूपमा रहेको छ।
सन् २००४ मा ९० औं नम्बरमा रहेको नेपाल सन् २००५ मा बदनामीतिर उक्लिदै ११७ औं नम्बरमा दर्ज भएको थियो भने सन् २००६ मा १२१ औं नम्बरमा, सन् २००७ र २००८ मा १३१ औं नम्बरमा, सन् २००९ मा १४३ औं नम्बरमा, सन् २०१० मा १४६ औं नम्बरमा, सन् २०११ मा १५४ औं नम्बरमा, सन् २०१२ मा १३९ औं नम्बरमा, सन् २०१३ मा ११६ औं नम्बरमा र सन् २०१४ मा १२६ औं नम्बरमा, सन् २०१५ मा १३० औं नम्बरमा, सन् २०१६ मा १३१ औं नम्बरमा, सन् २०१७ मा १२२ औं नम्बरमा र सन् २०१८ मा १२४ औं नम्बरमा रहेको ट्रान्सपारेन्सी इन्टर्नेसनलको उपलब्ध सुचाङ्कले देखाएकोछ।
नेपालको यो हालत नहोस पनि किन- नेपालका नेताहरुले नेपाललाई सिंगापुर र स्विईजर्ल्याण्ड बनाईदिन्छु भनेर जनतासंग भोट माग्ने तर सत्तासिन भएपछि आफू र आफ्ना आसेपासेहरुले भ्रस्टाचार गरी अकूत सम्पत्ती आर्जन गर्ने क्रम सन् १९९० मा बहुदलीय ब्यबस्थाको पुनर्स्थापना पछि झनै संस्थागत बन्न पुगेको तथ्य जगजाहेर छ । नेपालका बहुदल र समाजबादका हिमायती नेता र मन्त्रीहरु भ्रष्टाचारकै कारण जेल सजाय भोगि सकेकाछन् । अहिले पनि नेताहरुको सुख सुबिधाको आयस्रोत निदिखुदी गर्ने हो भने कुनै बैधानिक आयस्रोत नखुल्ने पक्का छ । राणा काल र पन्चायती निर्दलिय ब्यबस्थाको बेला राष्ट्रिय सम्पत्तिमा जुन ब्रम्हलूट हुन्थ्यो त्यो बहुदलको आगमन पछि बिभिन्न रुप र रंगमा यथावत कायम र बढोत्तरी रहेको छ । यस्तो बेला राजेन्द्र र रविहरूले शंखघोष गरेको भ्रष्टाचार विरूद्धको अभियानलाई होस्टेमा हैसे गर्ने बेला आएकोछ। कोई छ साथ दिन तयार?
Comments