top of page

म किन अमेरिका छाडेर मातृभूमि नेपाल फर्कें?

Writer's picture: Nepalism.comNepalism.com

Updated: Nov 15, 2020



by Tekraj Paudel

Exclusive: अमेरिकालाई हामीले स्वप्नको देश र सबै सुविधाले सम्पन्न ठाउँको रुपमा बुझ्छौं र पाउँछौं पनि । यस्तो देशमा आउनकोलागि चाहना नहुने को पो होला र! अमेरिका ‘ल्यान्ड अफ अपर्चुनिटी’ (अवसरको भूमि) भएको ठाउँ पनि हो । यहाँ आएर आफ्नो वैयक्तिक जीवनलाइ सुखी, सम्पन्न र बैभवशाली बनाउन सकिन्छ। तर एघार वर्षको अमेरिकी वसाईपछि मैले मातृभूमि नेपाल फर्किने निधो गरें र फर्किएँ। तर धेरै शुभचिन्तकहरूले मलाई उहीं एउटा प्रश्न सोधी रहे- ‘किन अमेरिका छाडेर नेपाल फर्किनु भएको?’ यो प्रश्नको जवाफ यो आलेखमा दिने प्रयास गरेकोछु।

त्यति बेला नेपाल राजनैतिक अस्थिरताले ग्रस्त थियो । लामा लामा द्वन्द, हटताल र हप्तौं बन्द हुन्थे।देश भित्रै केही गरौं भन्नेलाई पनि यस्ता क्रियाकलापले निराशा बनाउँथ्यो। दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाहिरिने संख्या दैनिक १५०० भन्दामाथि थियो । अलिअली पढे लेखेका हामी आममान्छे पनि बिदेश जान बाध्य थियौं। अलि राम्रो देशमा जान पाए हुन्थ्यो भनेर चाहाना राख्थ्यौं। यहीं सिलसिलामा अमेरिकाले हरेक वर्ष खोल्ने डाइभर्सिटी लटरी ग्रिनकार्ड प्रोग्राम (डिभी) अन्तरगत मैले पनि डिभी आवेदन दिएँ। मैले सन् २००९ को डिभी भरेर अमेरिका आउने प्रकृया थालेको थिएँ। सम्योगले मैले यो अवसर प्राप्त गरें। हुन त, देश भित्र म एक सरकारी शिक्षक थिएँ। राजनैतिक जागरणका आन्दोलन २०३६/४६ र २०६२/६३ मा मलाई निकै सकृय भूमिका निभाउने अवसर प्राप्त गरेको थिएँ। सामाजिक कार्य मेरो रुचिको बिषय थियो । त्यसैले म अमेरिका आएर पनि मैले राजनैतिक चेत र सामाजिक दायित्वलाई कहिल्यै बिर्सिन । मैले करिब ११ वर्ष अमेरिकामा बसेर कर्म गर्ने अवसर प्राप्त गरें। अमेरिकाबाट मैले प्राप्त गरेका अनुभवहरु मेरा बाँकी जीवनका लागि प्रेरणाका श्रोतको रुपमा ग्रहण गर्ने भएको छु। प्रतिकुल परिस्थिति निर्माण नभएसम्म आजको दिनदेखि नेपालको माटो मै रमाउने निधो गरेकोले आगामी दिनमा बर्तमान स्टाटस मै अमेरिका नफर्कने गरि बाईबाई अमेरिका भनेको छु । मातृभूमिमा पौरख गरेर कति र कसरी टिक्न सक्छु त्यो समय र परिस्थितिलाई जिम्मा दिउँ।


सन्तानको सुखको निम्ति अमेरिका प्रवेश


मैले जीवनका महत्वपूर्ण आयामहरुमा देश भित्रै शैक्षिक, सामाजिक, राजनैतिक क्षेत्रमा लामो संघर्ष गरेको छु । परिस्थितिले सन्तानको खुशिको लागि समय दिन पर्ने माग गर्यो। त्यहीं शिलशिलामा विगत ११ वर्ष बिदेशी भूमिमा बसेर आफ्नो व्यक्तिगत जीवन व्यतित गर्ने उद्धेश्यकासाथ अमेरिका आएको थिएँ। र, सामाजिक गतिबिधिमा पनि निरन्तर सम्लग्न भएँ। सौभाग्यवस, अमेरिकाको सिकागो सहरका नेपालीहरुको साझा सामाजिक संस्था ‘सिकागोल्यान्ड नेपाली मैत्री समाज (सिएनएफएस)‘ को कार्यकारी अध्यक्ष भएर दुई कार्यकाल काम गरें ।


कोरोनाको विश्वव्यापी कहरको बेला सिकागो क्षेत्रमा नेपाली समुदायका परिवारहरुलाई राहत दिन यो क्षेत्रका करिब एक दर्जन नेपाली संघ संस्थाले गठन गरेको ‘संयुक्त कोरोना भाइरस बिरुद्ध सचेतना तथा सहयोग समिति’ को संयोजकको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरें।


मलाई जीवन र जगतका गहिरो अनुभव र अनुभूति प्रदान गर्ने अमेरिका, मेरा सन्ततिको लागि मौलिने उर्वरभूमि र अवसर प्रदान गर्ने अमेरिकालाई पनि अन्तस्करणमा राखिरहने छु ।बाँकी विभिन्न अवसरमा अमेरिका र यहाँका साथीहरूसंग जम्काभेट होला नै । बाँच्दै रहे नाँच्दै रहौंला।


अब जीवनपर्यन्त अमेरिकामा प्राप्त ज्ञान, अनुभव र सिपलाई आफ्नो मातृभूमिमा सेचन गर्ने लक्ष बनाएको छु । कति सफल हुन्छु त्यो त समयले बताउला तर म के कुरामा ढुक्क छु भने मेरा जीवनका बाँकी वर्षहरू मातृभूमिको माटो सङ्गै खेल्ने, रमाउने र नाँच्ने मेरो रहर अब पूरा हुँदै छ ।


मैले अमेरिका छोडदै गर्दा विभिन्न संघ संस्था, व्यावसायी मित्रहरु र विभिन्न स्नेही मित्रहरुले व्यक्तिगत तवरले औपचारिक कार्यक्रम गरेर बिदाई गर्नु भएको छ, तपाईं सम्पूर्ण मित्रहरु प्रति आजीवन अनुग्रहित रहने छु ।मेरो बिदाइमा बिमानस्थलसम्म आएर बिदा गर्ने स्नेही मित्रहरुलाई त कहाँ पो भुल्न सक्दछु र! विभिन्न सामाजिक सन्जाल मार्फत मेरो आफ्नो जन्मभूमि फर्काई प्रति गहिरो माया, सद्भाव र शुभकामना प्रदान गर्ने मित्रहरुलाई मन मुटुमा राखिरहने छु ।


म किन अमेरिका छाडेर मातृभूमि नेपाल फर्केँ?


अन्तत: एघार वर्षे अमेरिका बसाईलाई स्थायी रुपमा बिट मार्दै मैले नेपाल फर्कने निर्णय गरेँ। मेरो माटो, मेरो मातृभूमि नेपालमा जसरी पनि बिदेश जा जा भन्ने रहर र विवसता भएको बेला म भने केही गर्ने र कमाउने उमेर हुँदाहुँदै मातृभूमि फर्किने निर्णय सुनाउँदा साथीहरुले विश्वाश नै गरिरहन सकेका थिएनन्।


गुल्मीको बिकट गाउँ मर्भुंङदेखि कपिलवस्तु हुँदै अमेरिकासम्मको मेरो यात्रा केवल यात्रा थिएन बल्की जीवनका भोगाईहरुको तितो मीठो सग्लो कथा पनि थियो। विद्यार्थी राजनीतिदेखि शिक्षण, पत्रकारिता र राजनीति अनि समाजसेवामा रमाईरहेको बेला अकस्मात आएको अमेरिका आउने अवसरले सपनाको देशको समृद्धिलाई फराकिलो गरी देख्ने र केही सिक्ने अवसरलाई मेरो मातृभूमिमै जिउने मर्ने ज़िद्दीले जित्न सकेन। त्यसैको फल थियो मोरो अमेरिका यात्रा र वसाई।


नेपालमा बीस वर्षसम्मको शिक्षण पेशालाई निरन्तरता दिने क्रममै बिसं. २०४६ सालको ऐतिहाँसिक जनआन्दोलनमा एक सकृय अगुवा थिएँ । प्रजातन्त्र प्राप्ति पश्चात शिक्षक संगठनमा सकृय रही पेशागत हक़ हितका लागि र हेपिएका, पछाडी पारिएका शोसित पिडितका पक्षमा काम गर्न मेरो अध्यापन पछिको समय निकै महत्वपूर्ण रह्यो । जनताको पक्षमा आफूलाई समाहित गर्दै जाँदा दोश्रो जनआन्दोलन बिसं. २०६२-६३ मा पनि सकृय सहभागी हुन पाएँ। अझ मेरो सकृय पत्रकारिताले अन्याय सहनुहुन्न भन्ने कुरामा मलाई अडिग भै लागिरहने मार्गनिर्देशन दिईरह्यो। त्यसैले जहाँ पुगे पनि म नेपाली समुदायको सेवामा सदा समर्पित रहीरहें।


जीवन र जगत बुझेर चालीस कटेपछि अमेरिका पसेकोले होला मलाई मेरो मातृभूमिको सम्झना र सामिप्यताले कहिल्यै छोडेन। मलाई अमेरिकाको गगनचुम्बी महल कहिल्यै आकर्षक लागेनन्। हरेक रातका सपनाहरुमा देखिने मेरो देश र हरेक उज्यालोमा अमेरिकामा देखिने समृद्धिलाई आफ्नै मातृभूमिको माटोमा रूपान्तरण र हस्तान्तरण गर्न पाए कति राम्रो हुन्थ्यो भन्ने लागिरह्यो।


नेपालमा रहँदाको समाजसेवी भावना अमेरिकामा मर्ने कुरै थिएन। सिकागोमा पाईला टेकेको केही दिनमै मैले सिकागोमा नेपालीहरुको साझा संस्था ‘सिकागोल्यान्ड नेपाली मैत्री समाज (सिएनएफएस)‘ को आजीवन सदस्यता लिएको थिएँ। यो संस्थाले सिकागोमा नेपालीभाषीहरुलाई एउटै मालामा गाँस्ने प्रयास गरिरहेको छ। मैले दुई कार्यकाल सो संस्थाको नेतृत्व गरिरहँदा मलाई अझ ठूलो तहमा रहेर सामाजिक कार्य गर्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। अमेरिकाको सकृय राजनीतिमा लाग्दा पनि बिकल्प खुला थियो तर मैले मेरो मातृभूमिको माटोलाई पहिलो बिकल्पका रुपमा रोजेँ। मैले मेरो माटोप्रति गरेको योगदान अझै पूरा भएकोजस्तो मलाई लागेन। त्यसैले त म नेपाल फर्किएँ।


म अमेरिका आउनुपूर्व नै आएको गणतन्त्रले नेपालमा अपेक्षाकृत उपलब्धि हाँसिल गर्न नसके पनि स्थिर सरकार र सचेत नागरिकबीचको समन्वयले ढिलो चाँडो गन्तब्य तय गर्छ भन्ने कुरामा अझै पनि आशावादी थिएँ। अमेरिकाको सिस्टम, द्रूत र चरम बिकास देखेर हुनुपर्छ, अचेल नेपालमा बिकसित राजनीतिक घटनाक्रम देखेर भने म चिन्तित बनेकोछु। सरकारले सजिलै गर्न सकिने साना काम पनि सम्पन्न नहुँदा मन दुख्छ, अझ गुट उपगुट र खुट्टा तानातानको अवस्था देख्दा पीडा हुन्छ र देश र जनताको भविष्यप्रति थप परेसानी हुन्छ। तर समयले कसैलाई पर्खिदैन। यो बेला केही गर्न नसके देशले कहिल्यै नयाँ काँचुला फेर्न सक्ने छैन।


म न त रहरले अमेरिका भाँसिएँ, न त रहरले नै नेपाल फर्किएँ। मेरो मातृभूमिको माटोप्रतिको दायित्वलाई मैले केही त पूरा गर्नैपर्छ भन्ने लाग्यो। खराब राजनीतिलाई पूरै बदल्ने त मेरो ल्याकत छैन तर स्थानीयरुपमै जहाँ जति गर्न सक्छु बिग्रेको राजनीतिलाई सपार्न प्रण गर्नेछु। म निरन्तर समाज रूपान्तरणमा लागिरहनेछु।


म नेपाल छोड़्दा मलिन् भएका मेरा धेरै शुभचिन्तकको आँखामा अब खुशी देख्न पाईने छ, आफ्नो गाउँठाउँको धुलोमा लुडिबुडी गर्दै उद्यम गर्न पाईने छ। मलाई थाहा छ- मैले सजिलो बाटो रोजेको हैन, तर यो पथप्रदर्शक बाटो बनाउन जरुरी छ। गाउँमा मलामी पाईन छाडेको बेला सक्ने युरोप, अमेरिका, जापान, कोरिया र बाँकी खाडी तथा भारतमा श्रम गर्न जाने लहर नै चलेको बेला म सानो भए पनि आफैमा बाटो बन्न मातृभूमि नेपाल फर्केको हूँ। मलाई यहाँहरू सबैको साथ चाहिएको छ।


उता मैले अमेरिका छोड्ने बेला धेरै साथी भाइले आँशु बगाउनु भयो, आँशुसंगै मलाई शुभकामना पनि दिनुभयो। कोही मलाई मन नपराउने खुशी भए होला नेपाल गै के गर्छ यसले भनेर। तर मैले मेरो व्यक्तिगत लाभका लागि कहिल्यै केही गरेको छैन। जीवनको अढाई बीस उकालो लागेको मान्छेले अब त झन् गर्ने प्रश्नै उठ्दैन। अब सामुदायिक हीतको लागि म सामूहिक समृद्धीको निम्ति जीवन समर्पित गर्नेछु।

मैले सामाजिक संजालमा नेपाल फर्कन्छु भनेर लेख्दा कोहीले के उद्येश्यले फर्किन लागिस् भनेर धेरै सोधे तर मेरो उत्तर एकै वाक्यमा थियो- ‘आफ्नो घर, मातृभूमि फर्किन पनि कुनै उद्देश्य चाहिन्छ र?’


मैले अझ थप भनेको थिएँ- ‘मलाई झुप्प दाह्री पालेको, हिलो, मैलो र थकित जस्देतो खेर दु:ख पाएछस्ननि नभन्नुहोला किनकी मेरो देशमा औसत मान्छेहरुको जस्तै मैले पनि जीवन जिउने प्रण गरी मातृभूमि फर्केको हूँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित चर्चित खण्डकाव्य मुनामदनका यी पंक्ति हरेक घरतीपुत्र/पुत्रीको जीवनको धेय बनोस्-

‘हातका मैला सुनका थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले…’


हाल: कपिलबस्तु, नेपाल


Note: लेखक टेकराज पोडेल अमेरिकाको सिकागोल्यान्ड नेपाली मैत्री समाज (सिएनएफएस) को पूर्व अध्यक्ष र नेपालका पूर्व शिक्षक हुन्। उनले नेपाल फर्किएपछि यो संस्मरण लेखेका हुन्।

0 comments

Bình luận


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page