top of page

नयाँ प्रधानमन्त्री को बन्ला? बरियताक्रममा पाँचौं स्थानमा रहेका गगन थापाहरूमा पुस्तान्तरण होला?

Writer's picture: Nepalism.comNepalism.com

Updated: Dec 6, 2022


-प्रदीप परियार थापा

Exclusive: Opinion: नेपालको नयाँ प्रधानमन्त्री को बन्ला? नयाँ पुस्ताको तर पार्टी बरियताक्रममा पाँचौं स्थानमा रहेका गगन थापा जस्ता युवाहरूमा देश हाँक्ने कार्यकारी प्रधानमन्त्री पदको बाग्डोर पुस्तान्तरण होला? यसपालीको आम निर्वाचनबाट कुनै दललाई पनि सरकार बनाउने बहुमत प्राप्त नभएको अवस्थाले देशको राजनैतिक अस्थिरता झन बढ्ने संदेह जागेको छ। सबै दलहरूले देश र जनताको भलाई चाहने हो भने मिलीजुली सरकार बनाएर आगामी पाँच वर्षको लागि स्थीर र विकासमुखी सरकार बनाउन जनताले म्यानडेट दिएकाछन्। यसो गर्न नेताहरूको असलियत हिम्मत छ?


नेपाली काँग्रेसको पहिलो दावी


भर्खरै सम्पन्न नेपालको आमनिर्वाचनबाट नेपालको संघीय संसदमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दलको रूपमा खडा भएकोछ। तर संसदमा कुनै एकल दलको बहुमत पुग्ने साँसद निर्वाचित भएकाछैनन्। यस परिदृश्यसंगै ठूलो दलको हैसियतले नेका दलबाटै नेपालको भावी प्रधानमन्त्री को बन्ला भन्ने बहस शुरू भएकोछ। अहिले नेका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्।


गगन थापाको गहन चुनौति


यता प्रखर युवा नेता, नेपाली काँग्रेस पार्टीको महामन्त्री एवं भर्खरै निर्वाचन क्षेत्र काठमांडू-४ बाट दोश्रो पटक निर्वाचित ४६ वर्षीय साँसद गगन थापाले आफूलाई देशको भावी प्रधानमन्त्रीको रूपमा भोट मागेका थिए। तर उनी नेका पार्टीको रेयांक एण्ड फाईलमा पाँचौं स्थानमा छन्। नेका पार्टीको अफिसियल वेबसाईटमा सो दलका कार्यकारी पदाधिकारी नेताहरूको क्रम यस्तो छः (१) सभापतिः शेरबहादुर देउवा, (२) नेताः रामचन्द्र पौडेल, (३) उपसभापतिः पूर्णबहादुर खड्का, (४) उपसभापतिः धनराज गुरूंग, (५) महामन्त्रीः गगन थापा, र (६) महामन्त्रीः विश्वप्रकाश शर्मा।


नेपालमा पार्टी पदलाई सिनियर (वरिष्ठ) मानिने र सोही वरिष्ठताक्रमअनुसार देशका कार्यकारी पदहरू त्यो पदमा रहेको नेताले ओगट्ने चलन छ। अमेरिका र नेपालको छिमेकी मुलुक भारतमा जस्तो दलको कार्यसमितिमा रहेकाहरू देशको सरकार चलाउने कार्यकारी पदहरूमा नजाने परम्परा छैन।यस्तो अवस्थामा नेपाली काँग्रेसका महामन्त्री गगन थापाभन्दा दलीय पदको वरिष्ठताको तहमा माथि रहेका र साँसद विजयी पनि रहेका देउवा, पौडेल, खड्का र गुरूंगले सजिलै “लौ, देश चलाउ, हामी पार्टी हाँक्छौं” भनेर महामन्त्री थापालाई प्रम पद दिने सम्भावना कम छ। यो कुरा राम्ररी बुझेका साँसद थापाले आफू संसदीय दलको नेताको पदमा लड्ने र प्रम बनेरै छाड्ने बताउँदै आएका हुन्।


उता महामन्त्री थापालाई अर्का महामन्त्री एवं बरियताक्रममा छैंठौं स्थानमा रहेका विश्वप्रकाश शर्माले प्रम बन्ने साँसद थापाको घोषणालाई समर्थन गरेकाछन्। तर नेका पार्टी सभापति एवं हाल पाँचौं पटक प्रधानमन्त्री पद सम्हाली रहेका ७६ वर्षीय शेरबहादुर देउवाले पार्टी र संसदमा आफ्नो पकड हुँदासम्म सरक्क प्रम पद साँसद थापाले घोषणा गरेकै आधारमा दिने सम्भावना निक्कै कम छ। यस्तो अवस्थामा पार्टी संसदीय दलको निर्वाचनमा जो कोहीको विरूद्धमा लड्नु र संसदीय दलको नेताकोरूपमा विजयी बन्नु साँसद गगन थापाको पहिलो र एक मात्र बिकल्प रहेको छ। आशा गरौं, नेका पार्टी सभापति देउवाको अनुकम्पाबाट साँसद टिकट पाएर चुनाव लडेर संसद छिरेका युवा काँग्रेसी साँसदहरूले अब देउवाको ईशारामा हैन स्वविवेग प्रयोग गरी देश हाँक्ने नयाँ पुस्ताका गगन थापालाई संसदीय दल प्रमुख र प्रम पदका लागि समर्थन गरी नेपाली राजनीतिमा पुस्तान्तरणको शुरूवात गर्नेछन्।


एमालेको बिकल्प


वर्तमान आमनिर्वाचनबाट नेपालको संसदमा दोश्रो ठूलो दल बन्न पुगेको नेकपा एमालेले वर्तमान नेकाको गठबंधन सरकारका अन्य घटकहरूलाई आफ्नो पोल्टामा ल्याउन सफल भयो भने एमालेको सरकार बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। तर यो अवस्थामा एमाले पार्टीबाट ७० वर्षीय पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपालको नयाँ प्रम बन्ने कुरा निश्चित हुन्छ। यो दलको रेयांक एण्ड फाईलका चुनाव जितेका युवा नेताहरू मध्ये कसैले प्रधानमन्त्री बन्ने दावी गरेकाछैनन्।


एमाले पार्टीको अफिसियल वेबसाईटमा सो दलका कार्यकारी पदाधिकारी नेताहरूको क्रम यस्तो छः (१) अध्यक्षः केपी शर्मा ओली, (२) वरिष्ठ उपाध्यक्षः ईश्वर पोख्रेल, (३) उपाध्यक्षः युवराज ज्ञवाली, (४) उपाध्यक्षः अष्टलक्ष्मी शाक्य, (५) उपाध्यक्षः रामबहादुर थापा, (६) उपाध्यक्षः विष्णुप्रशाद पौडेल, (७) उपाध्यक्षः सुवासचन्द्र नेम्बांग, (८) उपाध्यक्षः सुरेन्द्रप्रशाद पाण्डे, (९) महासचिवः शंकर पोख्रेल, (१०) उपमहासचिवः प्रदीप ज्ञवाली, (११) उपमहासचिवः पृथ्वीसुब्बा गुरूंग, (१२) उपमहासचिवः विष्णुप्रशाद रिमाल, (१३) सचिवः टोपबहादुर रायमाझी, (१४) सचिवः लेखराज भट्ट, (१५) सचिवः गोकर्ण विष्ट, (१६) सचिवः योगेश भट्टराई, (१७) सचिवः छविलाल विश्वकर्मा, (१८) सचिवः रघुवीर महासेठ, र (१९) सचिवः पद्माकुमारी अर्याल।


एमालेको माथिको बरियताक्रमका नेताहरू मध्ये अध्यक्षः केपी शर्मा ओली, उपाध्यक्षः विष्णुप्रशाद पौडेल, उपमहासचिवः पृथ्वीसुब्बा गुरूंग, सचिवः गोकर्ण विष्ट, सचिवः योगेश भट्टराई, सचिवः छविलाल विश्वकर्मा र सचिवः रघुवीर महासेठले संसदीय निर्वाचनमा विजयी भएकाछन्। सिनियारिटीको मामिलामा नेकपा एमाले झनै अनुदार र कट्टर देखिन्छ। यस्तो अवस्थामा पार्टी सभापति ओलीलाई चुनौती दिने हिम्मत एमाले युवा नेताहरूमा हुन नसक्नुलाई विडम्बनाको रूपमा लिनु शिवाय अर्को बिकल्प छैन जुन पुस्तान्तरण अभियानको लागि घातक सिद्ध हुनेछ।


किंग मेकरहरूः प्रचण्ड र रवि


यसपालीको आम निर्वाचनबाट कुनै दललाई पनि सरकार बनाउने बहुमत प्राप्त नभएको अवस्थाले देशको राजनैतिक अस्थिरता झन बढ्ने संदेहलाई नजरअन्दाज गर्न मिल्दैन। जनमतबाट तेश्रो र चौंथो ठूलो दल बन्न पुगेका पुष्पकमल दाहाल उर्फ प्रचण्डको नेतृत्व रहेको नेकपा माओवादी केन्द्र र रवि लामिछानेको नेतृत्वमा ५/६ महिना मात्र अघि गठित राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन बिना अन्य साना दलहरूको झुण्ड मिलाएर बन्ने सरकार लामो समय टिक्न नसक्ने लख पनि काटिदैछ।


सबै दलहरूले देश र जनताको भलाई चाहने हो भने मिलीजुली सरकार बनाएर आगामी पाँच वर्षकोलागि स्थीर र विकासमुखी सरकार बनाउन जनताले म्यानडेट दिएकाछन्। यसो गर्न नेताहरूको असलियत हिम्मत छ?

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page