-Pradeep Pariyar Thapa, Wallkill, New York
Exclusive: अमेरिकाको न्यू योर्क राज्यको अपस्टेट वालकिलमा नेपाली समुदायको शेर्पाहरूद्वारा विश्वकै बृहद भूमि पूजन सम्पन्न भएकोछ। युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग) न्यू योर्कले साढे ४ लाख डलरमा खरिद गरेको ६१ एकड (२ लाख ६५ हजार ७१० स्क्वायरफिट) जग्गाको आज सेप्टेम्बर २० तारिख आईतवार बौद्ध लामाहरूद्वारा ‘सालुंग-भूमि पूजा र लुंगता ध्वजापताका सम्पन्न भएको हो। यति धेरै जग्गामा नेपालीहरूद्वारा सामुदायिक, साँस्कृतिक र धार्मिक भवन, स्तूपा र गुम्बा बन्न लागेको यो विश्वमै पहिलो पटक हो। शेर्पा किदूगले यस अघि सन् २०१३ मा १२ लाख अमेरिकी डलरमा न्यू योर्क सहरको ज्याक्सन हाईट्समा शेर्पा गुम्बा र सामुदायिक भवन निर्माण गरेर संचालनमा ल्याईसकेकोछ।
सविस्तार समाचार पढ्न यो समाचार लिंकमा जानुहोस्:
शेर्पा किदूगका प्रेसिडेंट उर्गेन शेर्पाका अनुसार यो जग्गामा सामुदायिक, साँस्कृतिक र धार्मिक गतिविधि संचालन गरिनेछ। विशेष गरी वार्षिक ल्हाप्सो कार्यक्रम आगामी वर्षदेखि आयोजना गर्ने योजना छ। बोर्ड अफ ट्रस्टी अध्यक्ष पेम्बा शेर्पाकाअनुसार यो जग्गामा स्तूपा, गुम्बा र सामुदायिक भवन निर्माण गरिनेछ।
न्यू योर्क सहरमा सहरकै कम्यूनिटी सर्भेअनुसार झण्डै १० हजार शेर्पाहरू रहेको अनुमान गरिन्छ भने नेपाली समुदायको जनसंख्या ३० हजारभन्दा बढ़ी रहेकोछ। किदूग प्रेसिडेंट उर्गेन शेर्पाले नेपालिजम डट कमसंग कुराकानी गर्दै न्यू योर्क सहरमा शेर्पाहरूको संस्थागत बिकासबारे बताए, ‘हाम्रो संस्था शेर्पा किदूग स्थापना गर्नेबारे सन् १९९४ मा पहिलो मिटिंग भएको हो। सन् १९९५ को जुलाई ४ को भेलाबाट किदूगको नामाकरण र पहिलो तदर्थ समिति गठन भएको हो भने युनाईटेड शेर्पा एशोसियसनको विधिवत दर्ता सन् १९९६ मा भएको हो।
शेर्पा किदूगको हाल $५ हजारदेखि $२० हजार दिने ट्रस्टीहरू २५० जना र $१५ सयदेखि $४ हजार ९ सयसम्म दिने आजीवन सदस्यहरू ३५० जना रहेको बोर्ड अफ ट्रस्टी अध्यक्ष पेम्बा शेर्पाले जानकारी गराए।
शेर्पा किदूगले सन् २०१७ देखि नेपाली र शेर्पा भाषामा भाषा कक्षा संचालन गर्दै आएकोछ भने ७ सयभन्दा बढी नेपाली खेलाडीहरू सम्मिलित वार्षिक खेलकूद ‘मिनी नेपाली ओलम्पिक’ को आयोजना गर्दै आएकोछ। किदूगले आफ्नो गुम्बामा महिनामा तीनवटा पूजापाठ र बुद्ध आराधना, नियमित मेडिटेशन, बुद्ध फिलोसोफी कक्षा, नेपाली र शेर्पा म्यूज़िक कक्षा संचालन गर्दै आएकोछ।यसका अलावा किदूगले न्यू योर्क सहरसंग मिलेर अफोर्डेबल हाउसिंग, आईडी एनवाई, सेन्सस र अन्य सामुदायिक कार्यहरूमा सहकार्य गर्दै आएकोछ।
Comments