top of page

विश्वकै शक्तिशाली नेपाली छोरो रूप कार्कीको असामयिक निधन

Writer's picture: Nepalism.comNepalism.com

Updated: Jan 24, 2021


Updated: Exclusive: विश्व भारोत्तोलन (पावरलिफ्टिंग) प्रतियोगितामा स्वर्ण पदक जितेका ५१ वर्षीय नेपाली अमेरिकन खेलाडी रूप कार्कीको मातृभूमि नेपाल भ्रमणकै दौरान विहिवार (जनवरी २१ तारिख) बुटवलमा हृदयघात (हर्टअट्याक) भएपछि थप उपचारको लागि काठमाण्डौं ल्याउँदै गर्दा बाटामै असामयिक निधन हुन गएकोछ।उनले आयरल्याण्डमा सन् २०१९ को नोवेम्बर २४ मा आयोजित International Powerlifting League (IPL) को IPL Drug Tested World Championships 2019 Master Men 50-54 उमेरको प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।

उक्त प्रतियोगिताको विश्व वरियताक्रममा १७३ जनामा रूप कार्की ६१ औं नम्बर कायम गर्न सफल भएका थिए। हेर्नुहोस>> उनले भाग लिएको ड्रग फ्री प्रतियोगिता भनेको कुनै पनि शक्तिवर्धक औषधी नखाई भाग लिईने प्रतियोगिता हो। उनले यस अघि अमेरिकाको एटलान्टा जर्जियामा सम्पन्न IPL World Championships 2017 मा पनि स्वर्ण पदक (gold medal) जितेका थिए भने अमेरिकाको विविध पावरलिफ्टिंग प्रतियोगिताहरूमा विजयी बन्दै सफलताको सिंढी चढ्दै आएका थिए। हेर्नुहोस्>>

अमेरिकाको भर्जिनिया निवासी र रूपन्देही घर भएका स्वर्गीय रूप कार्कीको जन्म सन् १९६९ मा बाग्लुंगमा भएको हो। स्व. कार्कीकि श्रीमति शोभा सुवेदी कार्की हुन् भने उनका छोरा रूपेश कार्की पनि भारोत्तोलन (पावरलिफ्टिंग) खेलमा उदीयमान खेलाडी हुन्।


खेलाडी रूप कार्कीले तीन दिन अघिको उनको जीवनकै अन्तिम फेसबुक स्टाटस् पोष्टमा आफ्नो राशीको गणेश भगवानको मूर्ति जडित सुनको औंठी हराएको र पाउनुहुने महानुभावले खबर गर्न अनुरोध गर्दै यस्तो कुरा लेखेका थिए:


“Hello friends 💪💪💪💪💪💪💪💪💪

Mero name ko rashi finger ring missing bhayeko cha! Kasayee le bheteko bhaye pls pls khaber pau! 🙏

Ring gold ma ganesh ko stone cha!

I provided special gifts 🎁”


उनको राशीग्रह पूजित औंठी हराउनु र हराएकै तीन दिन भित्र जीवन लीला त्याग गर्नु अनौंठो दु:खद संयोग बन्न पुगेको छ।

यसैबिच, खेलाडी रूप कार्कीको निधनपछि हरी मानन्धरले हृदयविदारक फेसबुक स्टाटस् लेखेकाछन्:


“पत्याउनै गाह्रो भैरहेको छ, एकाएक अस्ताए भारत्तोलनका विश्व च्याम्पियन भन्ने खबर सुने, मन पीडाले भरिएको मात्रै होइन, आँखा नरसाउन भनेर थाप्नै गाह्रो भैरहेको छ । दैवले पनि सहन सक्नेसम्म पो पीडा दिनु, यस्तो पीडा दिएर कति निष्ठुर बनिस दैव? केहि महिना नेपाल आउनुभएका दाजु Rup Karki को यस्तो अपत्यारिलो खबरले स्तब्ध बनाएको छ । यसै त करिव महिना दिन अगाडि ममतामयी आमा बितेर नेपाल आउनुभएकि दिदी Shova Subedi Karki माथि यो कस्तो बज्रपात हो दैव? अलिकति दैवत्व पनि रहनेछ भन्ने लाग्दैछ आज । एकातिर आमा गुमाउनुको पीडा विर्सने बेलै नभएको बेला फेरि हृदयका प्यारा श्रीमान नै गुमाइदिने यो कस्तो नियती हो दैव? कहाँ हुनुहुन्छ भगवान? यहि हो न्याय??


दाजु Rup Karki नेपाल आएपछि भेटौंला भनेर बुटवलबाट काठमाण्डौं हिड्नु अगाडि म काठमाण्डौं आएपछि भेटौंला भन्नुभएको थियो, खै कसरी समय मिलेन वहाँ जस्तो नेपालको हिरो, विश्व च्याम्पियन भन्दा पनि दाजु भाइको आत्मियतामा खेलवाड गर्यो भगवानले । वहाँलाइ चिनेकै एक बर्ष भएको छैन । मेरो नानी अमेरिका गएपछि उहाँहरूसँग एउटै परिवार भएर बसेकै दिनदेखि चिनजान भएको हो । तर यति थोरै समयमा पनि वहाँहरू बर्षौंको परिचित वा भनौं परिवारकै सदस्य जस्तै हुनुहुन्थ्यो ।


साँच्चै दैव मलाइ पत्याउनै मुश्किल भैरहेको छ । यस्तो अवस्थामा दिदी वा बाबुनानीहरू प्रति कस्तो वितिरहेको होला? उफ् सम्झदै आङ सिरिङ हुन्छ । दैबले यस्ता मान्छेलाइ त चुडेर लैजान्छ भने हामी जस्ता मान्छे अब यो धर्तीमा बाँचिरहनु भनेको भौतिक उपस्थिति मात्रै हो ।


नेपालकै नाम विश्वमा चिनाएर मात्रै होइन, समाजसेवामा पनि उत्तिकै मनकारी हुनुहुन्थ्यो । नेपाल आएका बेला नेपालकै चर्चित इन्द्रेणी कार्यक्रममा (https://youtu.be/zfqKfhyvPR4) समेत उपस्थित भएर सहयोग गर्नुभएको भिडियो छ र यहि भिडियो सदाका लागि समझनामा जिवितै रहिरहनेछ ।


अन्ततः नपत्याएर पनि के गर्नु? जे भयो यो अनुचित भयो दैव! फेरि पनि यो परिस्थितिमा दैवले चुडेर लानुभएका दाजुको मृत आत्माको चीर शान्तिको कामना गर्दै वहाँको स्वर्गमा बास होस् । परिवारमा परेको यो अपुरणीय क्षतिमा दिदि Shova Subedi Karki प्रति वितेको यो पीडा चाहेर पनि शेयर गर्न सकिन, माफी पाउँ भन्दै सपरिवारमा हार्दिक समवेदना ब्यक्त गर्दछु ।


-हरि मानन्धर तथा परिवार, काठमाण्डौं ।”


नेपालिजम परिवार स्व. खेलाडी रूप कार्कीप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दछौं।



Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page